
सर्लाही, साउन ८ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाढी प्रभावित क्षेत्रमा सरकार आफैंले पुनःनिर्माणको काम गर्ने बताएकी छन् ।
बुधबार सर्लाहीको ईश्वरपुरमा बाढीपीडितलाई राहत वितरण गर्दै मन्त्री थापाले पुनःनिर्माणका लागि क्षतिको विवरण संकलन भइरहेको जानकारी दिइन् ।
उनले सबै स्थानबाट क्षतिको अन्तिम विवरण आएपछि पुनःनिर्माणको काम अघि बढाउने बताइन् ।
मन्त्री थापाले बाढीपीडितका लागि तत्काल आवश्यक पर्ने राहत उपलब्ध गराउन समाजकल्याण परिषद्अन्तर्गत् दर्ता भएका विभिन्न संघ–संस्थासँग आह्वान गरिएको बताइन् ।
हरेक वर्ष आउने बाढी, पहिरो तथा डुबानको समस्या समाधान गर्न तीनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा मन्त्री थापाले जोड दिइन् ।
कार्यक्रममा मन्त्री थापालाई सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला व्यवस्थापन समितिका संयोजक कृष्णबहादुर राउतले बाढी तथा डुबानबाट जिल्लामा भएको क्षतिकाबारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्