
प्रकाश लिम्बु
तेह्रथुम, असार २० । तेह्रथुमको म्याङलुङ बजारमा स्थापित तिनजुरे सामुदायिक सिकाइ केन्द्रले निःशुल्क अध्ययनको व्यवस्था मिलाएपछि युवाहरु अध्ययनमा आकर्षित हुन थालेका छन् ।
केन्द्रले पुस्तकका साथै ई–लाइब्रेरीको समेत सुविधा दिएपछि पढ्ने मोह बढ्दै गएको हो ।
क्यारमबोर्ड, लुडो, बुद्धिचाललगायतका खेलमा समय कटाउने उनीहरुले तीनजुरे सिकाइ केन्द्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ज्ञानमूलक पुस्तक अध्ययनमा रुचि देखाएका हुन् । बिहान १० बजेबाट साँझ ५ बजेसम्म खुल्ने यस पुस्तकालयमा धेरैजसो विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु अध्ययन गर्न आउँछन् ।
सिकाई केन्द्रमा दिनमा एक पटक आएर नपढी चित्तै नबुझ्ने विद्यार्थी मेघराज थापा बताउँछन् ।
पुस्तकका साथसाथै ई–लाईब्रेरीको समेत व्यवस्था भएकाले पुस्तक पढ्ने युवायुवती बढी आउने गरेको सिकाइ केन्द्रका आजीवन सदस्य लालबहादुर खत्रीको भनाइ छ ।
ईमेल, ईन्टरनेट र फेसबुकको प्रयोगले पढ्ने संस्कृति कमजोर हुँदै गएको बेला सिकाइ केन्द्रले भने विद्यार्थीलाई पुस्तकप्रति आकर्षित गरेको छ । पढ्ने संस्कृति विकास गर्न प्रौढ शिक्षा, निरन्तर शिक्षादेखि सचेतनामूलक कार्यक्रम समेत गर्दै आएको सिकाइ केन्द्रका अध्यक्ष विपिन निङलेकु बताउँछन् ।
विभिन्न पुस्तक र पत्रपत्रिका कम्प्युटरमार्फत् पढ्न सकिने र अडियोबाट समेत सुन्न सकिने व्यवस्था मिलाएपछि दैनिक एक सयभन्दा बढी पाठक आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्