
काठमाडौं, असार १९ । सरकारले सशस्त्र द्वन्द्व तथा विभिन्न आन्दोलनमा घाइते भई अपांग जीवन बिताइरहेकाहरुलाई पुनःस्थापना र हेरचाहसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।
यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् ।
वाग्मती नदी तटीय क्षेत्र सुधार आयोजना दोस्रो चरणका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण सहयोग लिने निर्णय भएको जानकारी पनि उनले दिए ।
यस्तै, सरकारी, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को म्याद आउँदो साउन २८ गतेसम्म थप्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यसैगरी, प्राविधिक महासेनानी सूर्यराज शर्मालाई प्राविधिक सहायक रथी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्को सो बैठकले केन्द्रीय बालकल्याण समिति र जिल्ला बालकल्याण समितिको चल–अचल सम्पत्ति, दायित्व र कर्मचारी राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय बालअधिकार समितिमा हस्तान्तरण गर्नेलगायतका विभिन्न १५ ओटा निर्णय गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्