
काठमाडौं, असार १९ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई ‘रक्त पिपासु समूह’को संज्ञा दिएको छ ।
बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चन्द नेतृत्वको समूहले ‘दक्षिणपन्थीहरुको सेवा गरिरहेको’ आरोप लगाउँदै ‘रक्त पिपासुहरुलाई जनताले बहिस्कार गरेको’ दाबी गरे ।
चन्द नेतृत्वको समूह ‘धनकमाउ लुटेरा, संगठित आतंकवादी, सामाजिक फाँसीवादी र स्कुल बन्द गराउने वितन्डावादी’ भएको सन्चारमन्त्री बाँस्कोटाको आरोप थियो ।
वर्तमान सरकार ‘सिमलको भुवा होइन’ भन्दै उनले ‘दुईतिहाइ बहुमतप्राप्त सरकारले निर्णय गर्न पाउँदैन भन्ने कहीँ छ ?’ भन्ने प्रश्न गरे ।
‘आइफा अवार्ड’का सम्बन्धमा उनले सरकारले सैद्धान्तिक सहमतिमात्र दिएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अनावश्यक हो–हल्लामा लागेर रोक्न निर्देशन दिएको जिकिर गरे ।
भारतबाट आयात हुने कृषिजन्य पदार्थको विषादी जाँच गरेरमात्र नेपाल भित्र्याउने अडानमा ‘भारतीय दूतावासले आपत्ति जनाएको हो ?’ भन्ने जिज्ञासामा उनले थाहा नभएको बताए ।
तर, सोही पत्रकार सम्मेलनमा उपस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिले काठमाडौंस्थित भारतीय दूतावासबाट पत्र आएको पुष्टि गर्दै पत्र भने खोल्न नभ्याएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्