
गृष्मा राजभण्डारी र उत्तम मानन्धर(ईमेज)
काठमाडौं, असार १९ । काठमाडौंको दक्षिण ढोका निवासी गोविन्द कँडेल (वर्ष ७०) केन्द्रीय कारागारमा कार्यालय सहयोगीको रुपमा २०३१ सालमा प्रवेश गरेका हुन् । उनको पारिश्रमिक त्यो बेला जम्मा एक सय रुपैयाँमात्र थियो ।
गोविन्द कँडेल ४५ वर्षअघि २५ वर्षको उमेरमा टेकुुको राजघाटमा घुम्दै जाँदा राजघाटको दर्शन गर्न आएका खप्तड बाबासँग भेट हुन पुग्छ एक दिन । त्यही दिन उनका लागि भविष्य उज्यालोतर्फ प्रवेश गरेको दिन सावित भयो ।
खप्तड बाबाले कँडेललाई जगनाथ देवल अर्थात केन्द्रीय कारगारमा कार्यालय सहयोगीमा रुपमा जागिर दिलाएका हुन् । पहिलो जागिर, त्यो पनि कारागारमा । मनमा चिसो पसे पनि जीवनको पहिलो खुड्किलोको रुपमा कारागारको जागिर अँगालेको कँडेलले बताए । आफू कार्यालय सहयोगीका रुपमा कार्यरत रहँदा सुन्धारामा तीनवटा कारगार रहेको स्मरण गर्दै कँडेलले हाल तीन वटामध्ये एउटा कारागार भत्काइएको, महिला र पुरुष कारागारका रुपमा भद्र र केन्द्रीय कारागार रहेको बताए ।
२०४२ सालमा योगी नरहरिनाथलाई पक्राउ गरी ल्याएको दिन आफ्नो मनमष्तिस्कमा ताजा रहेको बताउँदै कँडेलले भने, ‘न अनुहारमा कुनै पीडा, न कुनै चिन्ता ।’ त्यतिबेला योगी नरहरिनाथ मधुर मुस्कानमा कारागार प्रवेश गरेको उनको भनाइ छ ।
त्यतिमात्र होइन, लौह पुरुष गणेशमान सिंह र मंगलादेवीलाई राजनेताका रुपमा पक्राउ गरेर ल्याएको दिन पनि उनको मनमा अझै ताजा छ । मंगालादेवीलाई महिला कारागारमा र गणेशमान सिंहलाई केन्द्रीय कारागारमा राखिएको दिन अझै बेला बेलामा याद आउने गरेको उनले बताए ।
कारागारमा रहँदा गणेशमान सिंहले सधैँ हाफ पाइन्ट लाउने गरेको उनको भनाइ छ । आफूले खाना खाएको वा नखाएकोबारे गणेशमानले चासो राख्ने गरेकोमा आफूलाई गौरव महसुस हुने गरेको उनले बताए ।
उनी कारागार सहायकका रुपमा प्रवेश गरेको ६ वर्षपछि अर्थात् २०३७ सालमा तलव बृद्धि भई २ सय रुपैयाँ पुग्यो । आफ्नो तलव बृद्धि भएकोमा गणेशमानले ‘बधाइ छ’ भनेको सम्झेर उनले मधुर मुस्कार छोडे ।
अर्का राजनेताका रुपमा सूर्यबहादुर थापालाई पनि नजिकबाट नियालेको उनी बताउँछन् । सूर्यबहादुर थापा सधैँ सफा र चिटिक्क परेर दिनमा दुईपटक नुहाउने गरेको उनी सम्झन्छन् ।
आफूले काम गरेको सालदेखि कारागारमा कार्यरत जेलरमध्ये गणेशप्रसाद भट्टराईको निधन आफ्नो लागि निकै दुःखद् क्षण रहेको उनी सम्झन्छन् । सडक दुर्घटनामा उनको मृत्यु भएको खबरले आफू निकै स्तब्ध भएको उनले बताए ।
कैदी बन्दीलाई आफ्नै सन्तान ठान्ने भट्टराईले जो सुकै कैदी बन्दीलाई नरम भावले बोल्ने गरेको कँडेल बताउँछन् । त्यस्ता स्वभाव भएका जेलर भविष्यमा आउने सम्भावना कम भएको महसुस पनि उनले गरेका छन् ।
त्यसो त, कैदी बन्दीबीच झै झगडा हुने गरेको पनि उनको आँखाले प्रत्यक्ष देखेका छन् । त्यस्ता घटना र दृष्यले मनमा केही त्रास महसुस हुने गरेकोमा हालका दिनमा त्यो सामान्य लाग्न थालेको उनी बताउँछन् । करारमा कार्यरत कँडेलको हालको पारिश्रमिक १६ हजार रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्