३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


सर्लाही गोलीकान्डः मृतकका आफन्तसित सहमति


0
Shares

सर्लाही, असार १८ । प्रहरीसँगको झडपमा गोली लागेर युवकको मृत्यु भएपछि सर्लाहीको ईश्वरपुरमा जारी विवाद चार दिनपछि समाधान भएको छ ।

मृतकका परिवारसित बुधबार सहमति भएसँगै विवाद समाधान भएको हो ।

गएको शनिशार दिउँसो सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा बालुवा–गिटी निकाल्न बनेको खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता ईश्वरपुर नगरपालिका–११, गौरीशंकरका ११ वर्षीय अमित राय आइतबार बिहान मृत फेलापरेका थिए ।

बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयको आन्दोलनमा भएको भिडन्तमा प्रहरीले चलाएको गोली लागेर गौरीशंकरका २८ वर्षीय देवन भन्ने सरोजनारायण महतोकोसमेत घटनास्थलमै मृत्यु भएको थियो ।

गोली लागेर अर्का स्थानीय २१ वर्षीय राजकुमार महरा गम्भीर घाइते भएका छन् । उनको जनकपुरमा उपचार भइरहेको छ ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाको अध्यक्षतामा नगरभित्रका प्रमुख राजनीतिक दलका प्रतिनिधि र मृतकका आफन्तबीच सहमति भएको हो ।

सहमतिमा गोली लागेर मृत्यु भएका सरोजनारायण महतोलाई सहिद घोषणा गर्न स्थानीय सरकारमार्फत् पहल गर्ने, डुबेर मृत्यु भएका बालकका परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ उपलब्ध गराउन नगरपालिकामार्फत् पहल गर्ने, दुवै मृतकका परिवारलाई क्रिया खर्चबापत २५/२५ हजार रुपैयाँ प्रदान गर्ने, महरालाई औषधोपचार खर्च उपलब्ध गराउन पहल गर्नेलगायतका माग सम्बोधन गरिएको छ ।

यससँगै मृतकका आफन्त चार दिनदेखि जिल्ला अस्पताल मलंगवामा ‘पोस्टमार्टम’ गरी राखिएको शव बुझ्न सहमत भएका छन् ।