गृह सचिवले लगाइदिए आईजीपी क्षेत्रीलाई फूली • Image Khabar Image Khabar


गृह सचिवले लगाइदिए आईजीपी क्षेत्रीलाई फूली


Imagekhabar
२५ असार २०७७, बिहीबार ११:३३

गृह सचिवले लगाइदिए आईजीपी क्षेत्रीलाई फूली

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गर्नुभएको छ ।

गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित कार्यक्रमकाबीच गृहसचिव महेश्वर न्यौपानेले आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । नवनियुक्त आईजीपी क्षेत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउने प्रतिबद्धता व्यक्त गर्दै पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने उल्लेख गर्नुभएको छ ।

३० वर्ष सेवा अवधि पुरा गरी निबर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली हिजोदेखी प्रहरी सेवाबाट अवकाश भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

नवनियुक्त आईजिपी थापा प्रहरी निरीक्षकका रुपमा २०४९ साल बैशाख १९ गते प्रहरी सेवामा प्रवेश गर्नुभएकोे थियो ।

लोक सेवा आयोगले लिने प्रहरी निरिक्षकको परिक्षामा उहाँ पहिलो नम्बरमा हुनुहुन्थ्यो । त्यसपछि हरेक पदमा बढुवा हुँदा उहाँले आफूलाई ब्याजको पहिलो नम्बरमा उभ्याउन सफल रहनुभएको छ ।

उहाँले प्रहरी संगठनभित्र बौद्धिक र इमान्दार अधिकृतको परिचय बनाउनुभएको छ । थापाले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको शिक्षा हासिल गर्नुभएको छ ।

एआईजीका रुपमा साढे तीन महिना काम गरेपछि उहाँ आईजिपीमा बढुवा हुनुभएको हो । नेपाल प्रहरीका २८ औं महानिरिक्षक थापाले अबको २२ महिना अर्थात २०७९ साल बैशाख १९ गतेसम्म नेतृत्व समाल्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्