सिन्धुपाल्चोकमा मृत्यु हुने दुईको पहिचान खुल्यो, १८ अझै बेपत्ता, एक महिला भाग्दाभाग्दै बाँचिन (अपडेट) • Image Khabar Image Khabar


सिन्धुपाल्चोकमा मृत्यु हुने दुईको पहिचान खुल्यो, १८ अझै बेपत्ता, एक महिला भाग्दाभाग्दै बाँचिन (अपडेट)


Imagekhabar
२५ असार २०७७, बिहीबार १०:५५

सिन्धुपाल्चोकमा मृत्यु हुने दुईको पहिचान खुल्यो, १८ अझै बेपत्ता, एक महिला भाग्दाभाग्दै बाँचिन (अपडेट)

सिन्धुपाल्चोक । विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे पाँच जम्बुको याक्ला ठाडो खोलामा आएको बाढीले बगाउँदा जम्बुका २० वर्षीय निकेश बस्नेत र उनको तीन वर्षीया छोरीको मृत्यु भएको छ ।

निकेशकी श्रीमती भने भाग्दाभाग्दै बांचेकी थिइन् । बेपत्ता हुनेमा जम्बुका १४ जना र भोटेकोशी गाउँपालिकाका ४ जना छन् ।

भोटेकोशीको नयाँपुल नजिकैको झ्याले भन्ने स्थानको ठाडो खोलामा आएको बाढीमा परेर एकै परिवारका ४ जना गरी जम्मा १८ जना अझै बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

भोटेकोशी गाउँपालिकाका बेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मन्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र ९ का पासाङ रहेको छन् ।

यता जम्बुमा वेपत्ता हुनेहरुको भने सनाखत भइसकेको छैन् । उनीहरुको सेना, प्रहरी र स्थानीय मिलेर खोजी कार्य भइरहेको छ ।

प्रजिअ ढकालका अनुसार दुई ठाउँमा भएको घटनामा दुई बालबालिकासहित पाँच जना घाइते भएका छन् । बाढीका कारण १३ घर पूर्ण रुपमा क्षति भएको छ ।

घटनास्थल जाने बाटो पहिरोले अवरुद्ध भएकाले सुरक्षाकर्मी पनि ढिलो पुगेका थिए । स्थानीयका अनुसार बाढी आएको थाहा पाएपछि बजारबासीको रातारात भागाभाग भएको थियो ।

मुख्यतः ठाडो खोलाले लेदो माटो र ढुंगा बगाएर ल्याएपछि बस्ती बगाएको थियो । राती करिव १२ बजे बाढी आएकाले सवै सुतेको अवस्थाका भाग्न कठिन भएको स्थानीयको भनाई छ ।

राजमार्गको बाह्रबिसे तातोपानी खण्डको खागदलदेखि लिपिङसम्मको सडक जताततै बगाएको छ । जुरे पहिरो नजिक पनि करिब सय मिटर सडक बाढीले बगाएको छ ।

यता बाह्रबिसेबाट सुनकोशी जाने बाटोमा सडकमा पनि पहिरो खसेको छ । यसैबीच घाइतेहरुको उद्धार गर्न सभामुख अग्नि सापकोटासहितको टोली धुलिखेल पुगेर फर्केको छ ।

मौसममा आएको खराबीका कारण नेपाली सेनाको हेलिकप्टरमा गएका उनीहरु बीचबाटोबाटै फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्