प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको बिदाई • Image Khabar Image Khabar


प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको बिदाई


Imagekhabar
२४ असार २०७७, बुधबार २०:५२

Nepal police IGP

काठमाडौं, असार २४ । तीस वर्ष सेवा अवधि पूरा गरी सेवानिवृत्त हुनुभएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको बिदाई गरिएको छ ।

उहाँसँगै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई पनि बुधबार प्रहरी प्रधान कार्यालय नक्सालले एक समारोह गरी बिदाई गरेको हो ।

तीनै जनालाई नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिदाई गर्नुभएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो कार्यकालमा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीहरुको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरुको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताउनुभयो ।

कोरोना भाइरसको विश्वव्यापी संक्रमणको प्रकोपको समयमा पनि संगठनमा प्रहरी कर्मचारीको वृत्तिविकास लगायतका सुधारका पक्षलाई गति दिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले प्रहरी कर्मचारीहरुमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको पनि औल्याउनुभयो ।

नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त वरिष्ठ प्रहरी अधिकृतहरुलाई दीर्घ सेवा सम्मान प्रदान गर्दै सेवानिवृत्त भएपछि पनि संगठनको संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्