टर्कीको अदालतले मानवअधिकार रक्षकहरुलाई कैदको फैसला गरेकामा आपत्ति • Image Khabar Image Khabar


टर्कीको अदालतले मानवअधिकार रक्षकहरुलाई कैदको फैसला गरेकामा आपत्ति


Imagekhabar
२४ असार २०७७, बुधबार २०:१६

amnesty international nepal

काठमाडौं, असार २४ । एम्नेस्टी इन्टरनेसनल टर्कीका पूर्व अध्यक्ष, निर्देशकसहित चार जनालाई आतंकवादी आरोपमा दोषी ठहर गरिएकामा एम्नेष्टी नेपालका वर्तमान र पूर्वपदाधिकारीहरुले आपत्ति जनाएका छन् ।

टर्कीको एक अदालतले आतंकवादी क्रियाकलापमा जोडिएको अभियोगमा दोषी ठहर गर्ने निर्णयले दुःखित बनाएको भन्दै उनीहरुले अधिकारकर्मी र स्वतन्त्र अभियन्ताहरूको मुख थुन्ने उद्देश्यका साथ उक्त मुद्दा राजनीतिक रूपले प्रेरित रहेको जनाएका छन् ।

गत शुक्रबार इस्तानबुल अदालतले ‘बुयुकादा ट्रायल’ भनेर चिनिएको मुद्दामा एम्नेस्टी टर्कीका पूर्व अध्यक्ष टानर किलिकलाई ‘आतंकवादी संस्थाको सदस्यता लिएको’ आरोपमा, एम्नेस्टी टर्कीका पूर्व निर्देशक इडिल एसर र सदस्यहरू ओज्लेम दलकिरण र गुनाल कुर्सुनलाई ‘फेथुल्लाह गुलेन नामको आतंकवादी संस्थालाई सहयोग गरेको’ आरोपमा दोषी ठहराएको थियो ।

किलिकलाई ६ वर्ष ३ महिना र अरु तीन जनालाई २५ महिनाको जेल सजायँ तोकिएको छ । सन् २०१७ मा मुद्दा दायर भएदेखि अभियोजनकर्ताहरूले मानवअधिकार रक्षकहरूविरुद्ध लगाइएको आरोप पुष्टि गर्ने एउटा पनि विश्वसनीय प्रमाण जुटाउन नसक्दा पन अदालतले दोषी करार गरेकोमा उनीहरुले आपत्ति जनाएका हुन् ।

एम्नेष्टी नेपालका पदाधिकारहरु भन्छन्, ‘यी बहादुर मानवअधिकार रक्षकहरूले यदि कुनै अपराध गरेका छन् भने त्यो भनेको अरुको न्याय र अधिकारका लागि उभिनु नै हो ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘हामी अदालतको་ यो निर्णयबाट गम्भीर रूपमा चिन्तित भएका छौँ र यस फैसलाविरुद्ध पुनरावेदनको तयारी गरिरहेका हाम्रा सहकर्मी साथीहरूका साथमा रहनेछौं । उनीहरू निर्दोष छन् र उनीहरूलाई दोषमुक्त गरिनुपर्दछ ।’

पुनरावेदन अदालतले गल्ती सच्याई दोषी करार गरेको निर्णय उल्टाउने विश्वास एम्नेष्टी इन्टरनेशनल नेपालका संस्थापक नूतन थपलियासहित वर्तमान र पूर्वअध्यक्ष/निर्देशकसहितका १३ पदाधिकारीले लिएका छन् ।

विज्ञप्तिको पूर्ण अंश,

असार २४, २०७७

काठमाडौं, नेपाल

मानवअधिकार रक्षकहरूलाई कैद गर्न गरेको टर्कीको अदालतको फैसलाप्रति आपत्ति

एम्नेस्टी इन्टरनेसनल टर्कीका दुई जना पूर्व नेताहरूलगायत चारजना मानवअधिकारकर्मीहरूलाई इस्तानबुलको एउटा अदालतले आतङ्कवादी क्रियाकलापमा जोडिएको अभियोगमा दोषी ठहर गर्ने निर्णयले हामीलाई दुःखित बनाएको छ ।

गएको शुक्रबार इस्तानबुल अदालतले अहिले “बुयुकादा ट्रायल” भनेर चिनिएको मुद्दामा एम्नेस्टी टर्कीका पूर्व अध्यक्ष टानर किलिकलाई “आतंकवादी संस्थाको सदस्यता लिएको” आरोपमा र त्यस्तै एम्नेस्टी टर्कीका पूर्व निर्देशक इडिल एसर र एम्नेस्टी इन्टरनेसनलका सदस्यहरू ओज्लेम दलकिरण र गुनाल कुर्सुनलाई “फेथुल्लाह गुलेन नामको आतंकवादी संस्थालाई सहयोग गरेको” आरोपमा दोषी ठहराएको थियो ।

किलिकलाई ६ वर्ष ३ महिनार अन्य तीन जनालाई २५ महिनाको जेल सजाय सुनाएको छ । ।अन्य सात प्रतिवादीहरूलाई भने अदालतले निर्दोष रहेको ठहर गरेको छ ।

अधिकारकर्मी र स्वतन्त्र अभियन्ताहरूलाई चुप गराउने उद्देश्यका साथ यो मुद्दा राजनीतिक रूपले प्रेरित रहेको सुरुदेखि नै प्रस्ट थियो । सन् २०१७ मा मुद्दा दायर भएदेखि अभियोजनकर्ताहरूले यी मानवअधिकार रक्षकहरूका विरुद्ध उनीहरूलाई आरोप लगाइएको गलत कामकारबाहीसम्बन्धी विश्वसनीय प्रमाणको एउटा पनि अंश प्रस्तुत गर्न सकेका छैनन् । अदालतमा भएका थुप्रै सुनुवाइका क्रममा उनीहरूविरुद्ध लगाइएका हरेक आरोपहरू आधारहीन आक्षेपको रूपमा उजागर भएका छन् ।

हिरासतमा लिने समय यी अधिकार रक्षकहरू एउटा मानवअधिकारसम्बन्धी कार्यशालामा सहभागी भइरहेका थिए जसलाई टर्कीका अधिकारीहरूले “गोप्य बैठक”का रूपमा लिएका थिए । एउटा कार्यशालामा भाग लिएकै आधारमा मानवअधिकार रक्षकहरूलाई आतङ्कवादको आरोप लगाई पछि चार जनालाई अभियुक्त सावित सम्म गर्ने कार्य दुःखद र अस्वीकार्य छ ।

यी बहादुर मानवअधिकार रक्षकहरूले यदि कुनै अपराध गरेका छन् भने त्यो भनेको अरुको न्याय र अधिकारका लागि उभिनु नै हो ।

हामी अदालतको་ यो निर्णयबाट गम्भीर रूपमा चिन्तित भएका छौँ र यस फैसलाविरुद्ध पुनरावेदनको तयारी गरिरहेका हाम्रा सहकर्मी साथीहरूका साथमा रहनेछौं ।

उनीहरू निर्दोष छन् र उनीहरूलाई दोषमुक्त गरिनुपर्दछ ।

पुनरावेदन अदालतले यो गल्तिलाई सच्याई दोषी करार गरेको निर्णयलाई उल्टाउने छ भन्ने हामीले विश्वास लिएका छौँ ।

पृष्ठभूमि

टर्कीका ११ जना मानवअधिकार रक्षकहरूसम्बन्धी यो मुद्दा उनीहरूलाई आतंकवादको आरोपमा पक्राउ गरी सन् २०१७ को ग्रीष्मकालमा सुरू गरिएको थियो । । टर्की सरकारका अनुसार सन् २०१६ मा टर्कीमा भएको राज्यविप्लपको योजना बनाएको फेथुल्लाह गुलेन नामक आतंकवादी संस्थाको सदस्य भएको आरोपमा एम्नेस्टी टर्कीका तात्कालीन अध्यक्ष टानर किलिकलाई इज्मिर स्थित उनको आफ्नै घरबाट पक्राउ गरिएको थियो । ।अधिकारीहरूका अनुसार टानरले सुरक्षित रूपमा सन्देश पठाउन मिल्ने बाइलक (BYLock) नामको एउटा एप डाउनलोड गरेका थिए जसलाई उक्त समूहले राज्यविप्लपको समन्वय गर्नका लागि प्रयोग गरेको थियो । अरु १० जनालाई भने इस्तानबुलको बुयुकादा टापुस्थित एउटा होटेलमा डिजिटल सुरक्षा र वेलबिइङ्ग सम्बन्धी एउटा कार्यशाला भइरहेका बेला उक्त होटेलबाटै पक्राउ गरिएको थियो । अधिकारीहरूले उनीहरूलाई गोप्य बैठकमा सहभागी भएको आरोप लगाएका थिए । सन् २०१८ को अगस्ट महिनामा जमानतमा छुट्नु अगाडि किलिकले १४ महिनासम्म जेलको हिरासतमा बस्नु परको थियो ।

हस्ताक्षरकर्ताहरू

बिक्रम ढुकुछु, अध्यक्ष, एम्नेस्टी नेपाल
नूतन थपलिया, संस्थापक, एम्नेस्टी नेपाल
चित्र निरौला, पूर्व संयोजक, एम्नेस्टी नेपालको समन्वयात्मक संरचना
चरण प्रसाईं, पूर्व अध्यक्ष, एम्नेस्टी नेपाल
प्रदिप पोख्रेल, पूर्व अध्यक्ष, एम्नेस्टी नेपाल
राजु सरकार, पूर्व कार्यबाहक अध्यक्ष, एम्नेस्टी नेपाल
ध्रुव कार्की, पूर्व कार्यबाहक अध्यक्ष, एम्नेस्टी नेपाल
हेमकुमार खड्का, पूर्व अध्यक्ष, एम्नेस्टी नेपाल
शम्भु ठाकुर, पूर्व अध्यक्ष, एम्नेस्टी नेपाल
सुर्यबहादुर अधिकारी, पूर्व अध्यक्ष, एम्नेस्टी नेपाल
राजनप्रसाद कुईंकेल, पूर्व अध्यक्ष, एम्नेस्टी नेपाल
रामेश्वर नेपाल, पूर्व निर्देशक, एम्नेस्टी नेपाल
निराजन थपलिया, निर्देशक, एम्नेस्टी नेपाल 
प्रतिक्रिया दिनुहोस्