खेलकुद संघलाई आफ्नै ‘एन्टी डोपिङ’ नियम बनाउन ‘एनओसी’को निर्देशन • Image Khabar Image Khabar


खेलकुद संघलाई आफ्नै ‘एन्टी डोपिङ’ नियम बनाउन ‘एनओसी’को निर्देशन


Imagekhabar
२४ असार २०७७, बुधबार १९:४८

sports

काठमाडौं, असार २४ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मातहतका खेलकुद संघलाई आफ्नै ‘एन्टी डोपिङ’ नियम बनाउन निर्देशन दिएको छ ।

बुधबार ‘भिडियो कन्फरेन्स’को माध्यमबाट पदाधिकारीसँग एन्टी डोपिङको महत्वबारे छलफल गर्दै एनओसीले आफ्नै नियम बनाउन संघहरुलाई निर्देशन दिएको हो ।

एनओसीले संघहरुलाई एक हप्ताको समय राखेर एन्टी डोपिङ नियम बनाएर नेपाल एन्टी डोपिङमा बुझाउन निर्देशन दिएको छ ।

छलफलमा बोल्दै एनओसीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले यो निर्देशनलाई सकारात्मक र गम्भीररुपमा लिन आग्रह गर्नुभयो ।

एनओसीका मेडिकल कमिसनका प्रमुख डा. सरोजकृष्ण श्रेष्ठले संघका पदाधिकारीलाई सन् २०२१ बाट विश्व एन्टी डोपिङ कोडको धारा १८ अनुसार सबै संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनुपर्ने नियम लागू गरेको जानकारी गराउनुभएको छ ।

उहाँले एन्टी डोपिङ नियम नभएको संघले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने नियम रहेकोसमेत जानकारी गराउनुभयो ।

छलफलमा २७ खेलकुद संघका अध्यक्ष तथा महासचिवहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्