कोरोना नियन्त्रण र रोकथामका लागि युनिलिभरद्वारा करिब चार करोड रुपैयाँ बराबरको सहयोग • Image Khabar Image Khabar


कोरोना नियन्त्रण र रोकथामका लागि युनिलिभरद्वारा करिब चार करोड रुपैयाँ बराबरको सहयोग


Imagekhabar
२४ असार २०७७, बुधबार १९:४५

unilever nepal corona support covid 19

काठमाडौं, असार २४ । कोरोना भाइरसले विश्व नै सन्त्रासमा रहेका बेला युनिलिभर नेपालले यसको रोकथाम र नियन्त्रणका लागि झण्डै चार करोड बराबरको राहत प्याकेज उपलब्ध गराएको जनाएको छ ।

कम्पनीले विज्ञप्ति जारी गरी कोभिड–१९ महामारीविरुद्धको लडाईंमा प्रेरणादायी काममा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै ३ करोड ७८ लाख बराबरको सहयोग गरिएको जनाएको हो ।

कम्पनीका अनुसार गम्भीरु प्रकृतिका विरामीको उपचारमा प्रयोग गर्नका लागि ५ वटा भेन्टिलेटर स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराइएको छ । २८८० जनाको लागि कोभिड–१९ परीक्षण गर्न आवश्यक पर्ने स्वाब संकलन, नमूना भण्डारण र पिसिआर ट्युबहरुसहितको न्यूक्लेइक एसिड डायग्नोस्टिक पनि उपलब्ध गराएको जनाइएको छ ।

१ करोड ५७ लाख रुपैयाँ बराबरको मेडिकल उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिँदै युनिलिभले यी उपकरण कम्पनीको कार्यक्षेत्रभित्र परेका हेटौडा अस्पताल, मकवानपुर, भरतपुर अस्पताल, चितवन, नारायणी अस्पताल, वीरगञ्ज र वीर अस्पताल काठमाडौं गरी चार अस्पताललाई उपलब्ध गराउने जनाएको छ ।

कम्पनीको कारखाना टिमको तर्फबाट हेटौंडाका विभिन्न निकायलाई एन ९५ मास्क, सर्जिकल मास्क, निर्मलीकरण गरिएको पञ्जा र चिकित्सा चश्माहरु लगायतका पिपिइ सेट हस्तान्तरण गरेको पनि जनाएको छ ।

कम्पनीले स्वास्थ्य मन्त्रालय, उद्योग विभाग, नेपाल प्रहरी, नेपाली सेना, वडा कार्यालय र अन्य कार्यालयहरुलाई डेढ लाख थानभन्दा बढी लक्स, डोभ, लाइफब्वाय साबुन र लाइफब्वाय ह्याण्डवास वितरण गरेको पनि जनाएको छ ।

४२ सय परिवारलाई ६८ लाख रुपैयाँ बराबरको रासनसहितको राहत प्याकेज प्रदान गरेको पनि जनाएको छ ।

यसैगरी युनिलिभरले सरकारले एस्.एस्.एफद्वारा उद्योगहरुलाई २०२० को अप्रिल, मे र जुन महिनाको लागी प्रदान गरिएको वित्तीय सहयोग वापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ । हात धुने विषय, सामाजिक दूरीलाई आमजनस्तरमा जानकारी दिन जनचेतना अभियान संचालन गरेको छ ।

विभिन्न स्थानबाट घरगाउँ फर्किएकाको स्वागतका लागि युनिसेफसँग मिलेर हाम्रो नमस्ते अभियान चलाएको पनि युनिलिभरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्