साँवा र ब्याजको समयावधि बढाउन महासंघको आग्रह • Image Khabar Image Khabar


साँवा र ब्याजको समयावधि बढाउन महासंघको आग्रह


Imagekhabar
२४ असार २०७७, बुधबार १९:४२

FNCCI

काठमाडौं, असार २४ । नेपाल उद्योग वाणिज्य महासंघले वि.स. २०७६ चैत्रदेखि सबै उद्योग व्यवसायले भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकुल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्मका लागि बढाउन आग्रह गरेको छ ।

महासंघले विज्ञप्ती जारी गरी ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनरसंरचना र पुनर्तालिकिकरण गर्न समेत नेपाल राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गरेको छ ।

कोरोनाको महाव्याधीका कारण विश्वसहित मुलुक झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रह्यो ।

उक्त समयमा मुलकभित्र अत्यावश्यक बाहेक सम्पूर्ण उद्योग व्यवसाय ठप्प रहे । असार १ गते पश्चात लकडाउनको स्वरूपमा केही परिवर्तन गरीएसंगै केही सहज भएपनि अझै सार्वजनिक यातायात संचालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा संचालनमा आउन सकेका छैनन् ।

साथै चलेका पनि क्षमताको ३०/४० प्रतिशतमात्र संचालनमा रहेको महासंघले जनाएको छ ।

उत्पादित मालवस्तु निर्वाध बजारसम्म पुरयाई विक्रीवितरण गरी नगद प्रवाह हुन नसकेको यथार्थ अवस्था महासंघले स्मरण गराएको छ ।

समग्रमा अर्थतन्त्र चलायमान बन्न नसक्दा यससंग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम जनताको दैनिक जीवनयापन समेत अत्यन्त कठिन बन्दै गएको यथार्थता सवैका सामुन्ने छर्लङ्ग रहेको अवस्थाबारे गम्भिर बन्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तो अवस्थामा उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तिय संस्थाहरूको बारम्बारको ताकेताबाट उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको महासंघले जनाएको छ ।

यस्तो रबैयाबाट पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भैरहेको पनि महासंघले उल्लेख गरेको छ ।

साथै आगामी आर्थिक वर्षको मौद्रिक नीति यही असार मसान्तसम्म ल्याएर समयमै समस्याको सहजीकरण गरिदिन पनि महासंघले राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्