विश्वविद्यालयहरुको रोकिएको परीक्षा र पढाइ सञ्चालन कसरी ? • Image Khabar Image Khabar


विश्वविद्यालयहरुको रोकिएको परीक्षा र पढाइ सञ्चालन कसरी ?


Imagekhabar
२४ असार २०७७, बुधबार १९:३९

tu college

दीपेन्द्र अधिकारी र विनोद बजगाईं (इमेज)

काठमाडौं, असार २४ । कोरोना महामारीका कारण विश्वविद्यालयहरुको रोकिएको परीक्षा र पढाइ पुनः सञ्चालन गर्न कसरी सम्भव छ भन्ने विषयबारे विभिन्न छलफलहरु चलिरहेका छन् ।

आन्तरिक गृहकार्यमा शैक्षिक संस्थाहरु छन् भने विश्वविद्यालय अनुदान आयोगले एक निर्देशिका जारी गरी घर, केन्द्रदेखि ‘भिडियो कन्फरेन्स’ र मौखिक परीक्षासम्मको विकल्प सुझाएको छ ।

कोरोना महामारीका कारण रोखिएको परीक्षा कहिले सञ्चालन हुन्छ भन्नेमा विश्वविद्यालयका करिब चार लाखभन्दा बढी विद्यार्थी अन्योलमा छन् । सम्बन्धित निकायबाट स्पष्ट कार्ययोजना सार्वजनिक हुनसकेको छैन ।

यस्तो अवस्थामा विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका जारी गरेको छ ।

निर्देशिकामा परीक्षाको ‘मोडालिटी’ सुझाएपनि परीक्षा मिति भने विश्वविद्यालयले तय गर्ने उल्लेख छ ।

यस्तै, विश्वविद्यालयका परीक्षा सञ्चालनका लागि घर, केन्द्रदेखि भिडियो कन्फरेन्स र मौखिक परीक्षासम्मको विकल्प उल्लेख छ ।

प्रयोगात्मक परीक्षा लिनुपर्ने प्राविधिक विषयमा भने विश्वविद्यालयको सम्बन्धित विभागले आवश्यक निर्णय गर्नसक्ने उल्लेख छ ।

विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाले कोरोना महामारीको समयमा सञ्चालन हुने र भएका सबै प्रकारका परीक्षा तथा प्राज्ञिक कार्यका सन्दर्भमा आएका गुनासाहरू सम्बोधन गर्न गुनासो सुनुवाइ इकाइ स्थापना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै कक्षा सञ्चालन गरिरहेको त्रिभुवन विश्वविद्यालयले कक्षा तथा परीक्षा सञ्चालन गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलको प्रतिवेदन प्राप्त भएपछिमात्र परीक्षा कहिले र कसरी हुन्छ भनेर भन्न सकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

शैक्षिक वर्ष खेर नजान सिकाइ निरन्तर जारी राख्न परीक्षा सञ्चालन गर्न सम्भव नभएमा विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पछिल्लो वर्ष वा सेमेष्टरको पठन–पाठन सुचारु गरी परिस्थिति सहज भएपछि अर्को सेमेष्टरमा अघिल्लो सेमेष्टरको परीक्षा लिनसक्ने व्यवस्था गरिएको छ ।

परीक्षा सञ्चालनका लागि अन्तिम वर्ष वा अन्तिम सेमेष्टरका विद्यार्थीहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

अहिलको विषम परिस्थितिमा परीक्षा प्रणालीमा फेरबदल गर्दै विश्वविद्यालयहरुले आफ्नो शैक्षिक क्यालेन्डर सकेसम्म कम प्रभावित हुनेतर्फ ध्यान दिँदै वैकल्पिक व्यवस्थाबाट परीक्षा र पढाइ सञ्चालन गर्नेतर्फ ध्यान दिनु भने आवश्यक छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्