यी हुन्, निलम्बनमा परेका सांसदहरु • Image Khabar Image Khabar


यी हुन्, निलम्बनमा परेका सांसदहरु


Imagekhabar
२४ असार २०७७, बुधबार १९:१२

bijaya gachhadar krishna bahadur mahara

अक्कल कुँवर (इमेज)

काठमाडौं, असार २४ । संघीय संसदको निर्वाचनपछि २०७४ साल फागुन २१ गते बसेको संघीय संसदको बैठकदेखि हालसम्म विभिन्न अभियोगमा पाँचजना संघीय सांसद निलम्बित भएका छन् ।

निलम्बनमा परेका सांसदहरुमा सभामुखदेखि संसदीय दलका उपनेतासम्म छन् ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ मा कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा, तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भइ पुर्पक्षका लागि थुनामा रहेकालाई उक्त अवधि निजलाई सदस्यको हैसियतले कार्य गर्ने वा अधिकार प्राप्त नहुने व्यवस्था छ ।

त्यो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा पनि स्थगित हुने व्यवस्था छ ।

नियमावलीको सोही व्यवस्थाअनुसार संघीय संसद सुरु भएपछि हालसम्म पाँचजना सांसद निलम्बनमा परेका छन् ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि २०७६ असोज १९ गतेदेखि सभामुखसमेत रहेका कृष्णबहादुर महरा निलम्बनमा परे । तर, अदालतबाट उक्त अभियोगमा सफाइ पाएपछि महरा सांसद पदमा पुनर्बहाली भए ।

निलम्बनमा पर्ने उच्च ओहोदाका सांसदमध्ये दोस्रो नम्बरका सांसद हुन्, नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार ।

बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दर्तासँगै गत माघ २२ गतेदेखि सांसद गच्छदार निलम्बनमा छन् ।

कांग्रेसकै अर्का सांसद मोहम्मद अफताब आलम हत्या आरोपमा २०७५ असोज २७ गतेबाट निलम्बनमा परेका छन् । हत्या आरोपमा जन्मकैद तोकिएका आलम अहिले कैद भुक्तान गरिरहेका छन् ।

राजपाका सांसद रेशमलाल चौधरी व्यक्ति हत्या आरोपमा जेलमा छन् । थरुहट आन्दोलनकाक्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी र बालकसहित नौजनाको हत्या भएको घटनामा संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो ।

तत्कालीन संघीय समाजवादी पार्टीका सांसद हरिनारायण रौनियार भ्रष्टाचारको अभियोग लागेपछि २०७५ असोज १९ गतेदेखि सांसद पदबाट निलम्बनमा परेका छन् ।

यस्तै, जनकपुर विमानस्थलमा तोडफोडपछि निलम्बनमा परेका राजपाबाट निर्वाचित सांसद प्रमोद साहको निलम्बन फुकुवा भइसकेको छ ।

हालसम्म प्रतिनिधिसभाका दुईजना सांसद रवीन्द्र अधिकारी र ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

पार्टीको ‘ह्विप’ उल्लंघन गरेको भन्दै संघीय समाजवादी पार्टीले सांसद सरिता गिरीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रत्यक्ष निर्वाचित सांसदको रिक्त पद उपनिर्वाचनबाट र समानुपातिक सांसदको रिक्त पद समानुपातिक बन्दसूचीमा क्रमसंख्या र सोही कलष्टरबाट पूर्ति गर्ने व्यवस्था छ ।

निलम्बनमा परेका सांसदहरुको हकमा भने अभियोगबाट अदालतले सफाइ दिए स्वतः पुनर्बहाली हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्