इम्बोस्ड नम्बरप्लेट जडान प्रक्रिया पुनः सुरु, ‘प्लेट रिड’ गर्ने ‘गेट’ पनि राखिने • Image Khabar Image Khabar


इम्बोस्ड नम्बरप्लेट जडान प्रक्रिया पुनः सुरु, ‘प्लेट रिड’ गर्ने ‘गेट’ पनि राखिने


Imagekhabar
२४ असार २०७७, बुधबार १७:४०

nepal

दीपक श्रेष्ठ, लक्ष्मण डंगोल र राजेन्द्र नापित (इमेज)

काठमाडौं, असार २४ । सरकारले सबै सवारी–साधनको नम्बरप्लेटमा एकरुपता ल्याउन प्रविधियुक्त इम्बोस्ड नम्बरप्लेट जडान प्रक्रिया अगाडि बढाएको छ ।

सर्वोच्च अदालतले इम्बोस्ड नम्बरप्लेटविरुद्ध दुई वर्षअघि परेको रिट खारेज गरेसँगै सबै सवारी–साधनमा प्रविधियुक्त नम्बरप्लेट जडान थालिएको हो ।

नेपालमा हाल निजी र भाडाका गरी करिब ३५ लाखको हाराहारीमा सवारी–साधन छन् भने २० लाखको हाराहारीमा दुईपांग्रे सवारी–साधन छन् । ती सबैमा डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बरप्लेट अनिवार्य गरिँदैछ ।

करिब २५ महिना रोकिएको प्रविधियुक्त नम्बरप्लेट जडान पुनः सुरु गरिने जानकारी यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले दिनुभयो ।

यसअघि, इम्बोस्ड नम्बरप्लेट भारतकोजस्तै देखिएको, नेपाली भाषा प्रयोग नगरिएको र आर्थिक चलखेल भएको भन्दै सर्वोच्च अदालतमा रिट परेपछि जडान प्रक्रिया रोकिएको थियो ।

तर, २०७४ फागुन १० गते तत्कालका लागि सो नम्बरप्लेट लागू नगर्न दिइएको अन्तरिम आदेशसम्बन्धी रिट हालै खारेज भएपछि फेरि जडान गर्ने बाटो खुलेको हो ।

विभागले सुरुमा सरकारी सवारी–साधनमा यो नम्बरप्लेटको व्यवस्था गर्नेछ । त्यसपछिमात्र निजी सवारी–साधनका लागि अनिवार्य गरिँदैछ ।

यसअघि नै करिब चार हजार ३८८ सवारी–साधनमा डिजिटल नम्बरप्लेट जडान भइसकेकाले अब बाँकी रहेका सवारी–साधनमा यो प्लेट अनिवार्य गर्न लागिएको हो ।

एकपटक जडान गरेपछि निकाल्न नमिल्ने यो प्लेट १० वर्ष टिक्ने बताइन्छ । यो नम्बरप्लेट जडानसँगै विभिन्न सहरका विभिन्न स्थानमा ‘प्लेट रिड’ गर्ने ‘गेट’हरु राख्ने योजना छ ।

यता, ट्राफिक प्रहरीले प्रविधियुक्त इम्बोस्ड नम्बरप्लेट जडान गर्नु उचित हुने बताएको छ ।

समयक्रमसँगै नयाँ प्रविधियुक्त नम्बरप्लेट जडान हुनु स्वाभाविक हो । तर, इम्बोस्ड नम्बरप्लेटका नाममा अनियमितता भएको भन्ने विगतमा भएका बहसतर्फ गम्भीर बन्नैपर्दछ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्