ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन • Image Khabar Image Khabar


ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन


Imagekhabar
२४ असार २०७७, बुधबार १७:१६

taxi

काठमाडौं, असार २४ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले तय गरेको मापदण्डअनुसार ट्याक्सी सेवा सञ्चालन गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुको छलफलपछि समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारले ‘लकडाउन’को अवधिमा केही पेसा–व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकोले सोही मापदण्ड पूरा गरी अर्थतन्त्र चलायमान बनाउन पनि ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताउनुभयो ।

समितिमा भएको छलफलमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्या गर्ने अवस्थासमेत सिर्जना भएको गुनासो गरेका थिए ।

अहिलेको अवस्थामा बैंकहरुको ऋण तिर्नसमेत समस्या भएकोतर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले निजी सवारी–साधन सञ्चालन भइरहेपनि सार्वजनिक सवारी सञ्चालन नहुँदा समस्या भएको बताउनुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले यातायात क्षेत्रमा निजी क्षेत्रको १० खर्ब लगानी रहेको भन्दै यस क्षेत्रमा ११ लाख मजदुर कार्यरत रहेको बताउनुभयो ।

यता, यातायत व्यवसायी महासंघले लकडाउन अवधिभरको ब्याजदर शतप्रतिशत छुट गरिनुपर्ने, किस्ता तथा ब्याज तिर्ने समय कम्तीमा एक वर्षपछि सार्नुपर्नेलगायतका माग अघि सारी आन्दोलन गर्ने घोषणा गरेको छ ।

लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातका साधनहरु बन्द छन् ।

प्रतिक्रिया दिनुहोस्