प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति झापाली निराश (भिडियो) • Image Khabar Image Khabar


प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति झापाली निराश (भिडियो)


Imagekhabar
२४ असार २०७७, बुधबार १५:५०

KP Oli Jhapa Politics

सुरेन्द्र भण्डारी (इमेज)

झापा, असार २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पद छाड्न दबाब बढिरहेका बेला उहाँको गृहजिल्ला झापाका सर्वसाधारणलेसमेत विभिन्न सुझाव दिएका छन् ।

झापा क्षेत्र नम्बर–७ बाट निर्वाचित सांसद, प्रधानमन्त्री ओलीलाई आन्तरिक राजनीतिक खिचातानीमा नलागी कोरोनाको बढ्दो संक्रमण नियन्त्रण र समृद्ध मुलुक निर्माणमा जुट्न सुझाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतको समूहले दुवै पद छाड्न दबाब दिइरहेका बेला ओलीको गृहजिल्लाका सर्वसाधारणलेसमेत जनता महामारी र भोकले ग्रसित हुँदैगर्दाको किचलो उपयुक्त नभएको प्रतिक्रिया दिएका छन् ।

झापाका सर्वसाधारणले राजनीतिक लडाइँभन्दा संघीय सरकार अहिलेको अवस्थामा कोरोनाविरुद्धको लडाइँमा जुट्नुपर्ने भन्दै गुटको रस्साकस्सीले विकास, स्वास्थ्य, शिक्षालगायतका क्षेत्र ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

केहीले भने प्रधानमन्त्री ओलीलाई एकलौटीरुपमा लखेटिएको भन्दै पाँच वर्ष काम गर्न दिनुपर्ने मत राखेका छन् ।

झापा विद्रोहबाट उदाएका नेता ओलीले आफ्नो भूमिकालाई पछिल्लो समय भुल्दै गएको भन्दै केहीले भने उनको आलोचनासमेत गर्ने गरेका छन् ।

केहीले भने पार्टीलाई एकताबद्ध बनाउन र आफ्नो मत खेर नजाओस् भन्नका लागि लचिलो बन्दै ओलीलाई अध्यक्ष पद छाडेर पार्टी बचाउन सुझाव दिएका छन् ।

पछिल्लो समयमा झापाकै अधिकांश सर्वसाधारण भने ओलीको कार्यशैलीप्रति त्यति खुसी छैनन् ।

उनीहरुले ओलीबाट केही हुने आशा गरेपनि सबै निराशामा परिणत भएको भन्दै भाषण र नाराबाजीमा सीमित हुँदा समस्या भएको उनीहरुको बुझाइ छ ।

उनीहरुले झापालीको सपनामा तुषारापात भएको र बोलेको कुरासमेत पूरा नगरेको आरोप लगाएका छन् ।

२०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएको र झापा विद्रोहलाई चलायमान बनाएको बताइन्छ ।

मुलुक संघीयतामा गएपछिको पहिलो प्रधानमन्त्रीको रुपमा शपथ लिएका ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को एजेन्डालाई पूरा गर्न नसकेको झापाबासीको बुझाइ छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनाएर चुनावमा होमिएको नेकपा अन्नत दुई वर्षपछि फुटको संघारमा पुगेको हो ।

तर, झापाका सर्वसाधारणले भने नेकपामा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्रीले तदरुकता देखाउनुपर्ने भन्दै समृद्ध मुलुक, सुखी नेपाली नारामा मात्र नभइ कार्यान्वयनमा ल्याउन पनि सुझाव दिएका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्