संस्थापन पक्ष महाधिवेशन सार्ने चलखेलमा लागेको कांग्रेस असन्तुष्ट जिल्ला सभापतिहरुको आरोप • Image Khabar Image Khabar


संस्थापन पक्ष महाधिवेशन सार्ने चलखेलमा लागेको कांग्रेस असन्तुष्ट जिल्ला सभापतिहरुको आरोप


Imagekhabar
२३ असार २०७७, मंगलवार १९:४३

संस्थापन पक्ष महाधिवेशन सार्ने चलखेलमा लागेको कांग्रेस असन्तुष्ट जिल्ला सभापतिहरुको आरोप

काठमाडौं, असार २३ । पदाधिकारी बैठकले तयार पारेको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई हुबहु पारित गरेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा असन्तुष्ट जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन् ।

२६ जिल्लाको संगठन समायोजनको काम बाँकी रहेको अवस्थामा साउनभित्र सक्नुपर्ने क्रियाशील सदस्यता वितरण र नवीकरणको काम र पुस–माघअघि प्रदेशसम्मको अधिवेशन गर्न नसकिने उनीहरुको तर्क छ ।

संशोधित कार्यतालिकाअनुसार माघ ६ भित्र प्रदेश अधिवेशन सकेमा मात्र कांग्रेसले फागुन ७ गते १४औं महाधिवेशन गर्न सम्भव देखिन्छ ।

विवाद रहेका जिल्लाहरुमा संगठन समायोजन दुई हप्ताभित्र गर्न असम्भवजस्तै छ ।

यस्तै, साउन मसान्तभित्र हिमाली र पहाडी जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण गर्न सम्भव नरहेको असन्तुष्ट जिल्ला सभापतिहरुको तर्क छ ।

केन्द्रीय कार्यसमिति बैठकले संशोधन गरेर बनाएको कार्यतालिकाले महाधिवेशन समयमै सम्पन्न गर्न असम्भव भएको गुनासो गरिरहेका उनीहरुले पार्टीको संस्थापन पक्ष महाधिवेशन सार्ने चलखेलमा लागेको आरोप लगाउँछन् ।

त्यसो त ४० जिल्लामा क्रियाशील सदस्यताको फारम पुगेको पार्टी केन्द्रको दाबी छ ।

तर, असन्तुष्ट जिल्ला सभापतिहरु भने हिमाली र पहाडी जिल्लाहरुमा वर्षा र जाडो मौसममा वडादेखि प्रदेश अधिवेशन गर्न सम्भव नहुने तर्क गर्छन् ।

पार्टीनिकट केही बुद्धिजीवीहरु पनि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पद सुरक्षित नदेखेसम्म महाधिवेशन नै नहुने दाबी गर्छन् ।

विधानमा रहेका केही प्रावधानको फाइदा उठाएर सभापति देउवाले आफ्नो चारवर्षे कार्यकाललाई बढाएर पाँच वर्ष पुर्‍याउनुभएको छ ।

यस्तै, कोरोना महामारीको बहानामा पूर्वनिर्धारित महाधिवेशन कार्यतालिका स्थगित गरिएको छ ।

तर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भने फागुन ७ मा महाधिवेशन गर्नुको विकल्प नभएको बताउनुहुन्छ ।

असन्तुष्ट जिल्ला सभापतिहरुले भनेजस्तै तोकिएको समयमा महाधिवेशन नगर्न संस्थापन पक्ष र पार्टी सभापतिहरुले रणनीति अख्तियार गरेको भए त्यो कांग्रेसका लागि घातक हुनसक्छ । यसतर्फ भने कांग्रेस नेतृत्वले बेलैमा सोच्नुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्