ओली–देउवाबीचको सम्बन्ध कस्तो छ ? - Image Khabar
Everest Bank

ओली–देउवाबीचको सम्बन्ध कस्तो छ ?

अक्कल कुँवर र विनोद बजगाईं (इमेज)

काठमाडौं, असार २३ । पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सम्बन्ध निकट बनाउने प्रयत्नमा देखिनुभएको छ ।

२०७४ सालमा सम्पन्न तीनै तहको निर्वाचनपछि दुई नेताहरुबीचको सम्बन्धमा उतार–चढाव देखिएको छ ।

एउटा नेताले सत्ताको र अर्कोले प्रतिपक्षको नेतृत्व गरेपनि यी दुई नेताहरुबीच लेनदेनको सम्बन्ध रहँदै आएको छ ।

तीनै तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएपछि प्रधानमन्त्री बन्न हतारिएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली शेरबहादुुर देउवाले प्रधानमन्त्रीबाट तत्कालै राजीनामाको चाहना राख्नुभएको थियो ।

तर, अन्तिम परिणाम नआएसम्म राजीनामा नदिने देउवाको अडानले यी दुई नेताबीचको सम्बन्धमा तिक्तता आयो । पछिल्लो निर्वाचनपछिको सम्बन्ध कहिले सौहार्द त कहिले तिक्ततापूर्ण रह्यो ।

अन्य कम्युनिस्ट नेताहरुसँगभन्दा ओलीसँग देउवाको घनिष्ट मित्रता भएपनि पछिल्लो समय उहाँहरुबीच त्यस्तो सम्बन्ध नरहेको देउवानिकट कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको जिकिर छ ।

देउवा र ओली दुवै शक्तिकै विलासी रहेकाले सत्तापक्ष र प्रतिपक्ष भएपनि एक–अर्कालाई चिढ्याएर अघि बढ्ने पक्षमा दुवै नेता छैनन् ।

बालुवाटारकान्ड, ‘वाइडबडी’कान्ड, ३३ किलो सुनकान्डलगायत सरकारका कैयौं गलत कामविरुद्ध देउवा चुप लाग्नु सम्बन्धकै कारण भएको कतिपयको जिकिर छ ।

त्यसो त कतिपय कान्डहरुमा स्वयं देउवाकै नाम जोडिएपछि सम्बन्धका कारण ‘इस्यु’ नै मौनतामा बदलिएको छ ।

ओलीसँग देउवाको सम्बन्धकै कारण संसदमा प्रतिपक्ष दलको भूमिका कमजोर भएको आरोप लाग्ने गरेको छ । तर, केन्द्रीय सदस्य पाण्डे यो कुरा मान्न तयार हुनुहुन्न ।

पछिल्लो समय दुई नेताबीच निकटता बढेको भनिएपछि भर्खरै सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीले आफूलाई ठगेको देउवाको टिप्पणी थियो ।

सत्तारुढ दल नेकपाभित्रको विवादका कारण आफू संकटबाट बच्न प्रधानमन्त्री ओलीले देउवासँगको सम्बन्धलाई अझ सुमधुर बनाउन थालेको चर्चा छ ।

तर, दुवैपक्षले भेटघाटलाई संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयसँग पनि जोडेका छन् ।

यसरी विभिन्न घटनाक्रमलाई हेर्दा ओली र देउवाको सम्बन्धमा तिक्तताभन्दा पनि सौहार्दता बढी देखिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्