खेतबारीमै कुहिँदै मकै, कृषक चिन्तित • Image Khabar Image Khabar


खेतबारीमै कुहिँदै मकै, कृषक चिन्तित


Imagekhabar
२३ असार २०७७, मंगलवार १७:३९

खेतबारीमै कुहिँदै मकै, कृषक चिन्तित

सुरेन्द्र भण्डारी (इमेज)

झापा, असार २३ । ‘लकडाउन’ र निरन्तरको वर्षाको कारण झापाका किसानले उत्पादन गरेको मकै खेतबारीमै कुहिन थालेको छ ।

असारको दोस्रो सातादेखि झापासहित पूर्वी तराईमा पानी परेर मकै भाँच्न नपाउँदा मकै खेतबारीमै कुहिएको हो ।

मकै भित्र्याउन नपाउँदा कृषकहरु लगानी डुब्ने डरले पिरोलिएका छन् ।

अन्नबाली भित्र्याउने समयमा झापाका कृषकहरुलाई भने लगातारको झरीले पिरोलिरहेको छ ।

मकै भित्र्याउने समयमा निरन्तरको वर्षा र भित्र्याएको मकैपनि बेच्न नपाएपछि यस वर्ष मकै उत्पादनमा कमी आउनेमात्र हैन, खेतबारीमा नै मकै कुहिन थालेपछि साहुको ऋणसमेत चुक्ता गर्न नसक्ने अवस्थामा कृषकहरु पुगेका छन् ।

खेतीका लागि उर्भर भूमि मानिएको झापामा धानपछि धेरै क्षेत्रफलमा यहाँका कृषकले मकैखेती गर्दै आएका छन् ।

झापाका कृषकले यो समयमा प्रशस्त मकै उत्पादन गरेपनि मुलुकमा देखिएको कोरोनाभाइसरको बढ्दो संक्रमणका कारण लामो समयदेखि मुलुक बन्दाबन्दी हुँदा कृषकले उत्पादन गरेको मकै कृषकलले बेच्न पाएका छैनन् ।

झापाको कुल खेतीयोग्य जमिन ९८ हजार हेक्टर क्षेत्रफलमध्ये ३१ हजार हेक्टर क्षेत्रफलमा बसन्ते, आठ हजार हेक्टरमा हिँउदे र ९०० हेक्टर क्षेत्रफलमा बर्खे मकैखेती हँँुदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

झापामा प्रत्येक वर्ष दुई लाख आठ हजार मेट्रिकटन मकै उत्पादन हुँदै आएको छ ।

कृषकलले उत्पादन गरेको मकै बिक्री गर्ने मुख्य समयमा बजार भाउ नहुँदा कृषक एकातर्फ पीडामा छन् भने अर्काेतर्फ वर्षाका कारण उत्पादन गरेको मकै भित्र्याउन नपाउँदा चिन्तित बनेका छन् ।

कृषि उत्पादनलाई बढाउँदै युवालाई कृषि पेसामा आत्मनिर्भर बनाउन झापा गाउँपालिका र कनकाई नगरपालिकाका केही वडालाई मकै ‘जोन’ क्षेत्र घोषणा गरिएको छ ।

मकै जोन सञ्चालनका लागि चालु आर्थिक वर्ष संघीय सरकारबाट एक करोड २४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।

विनियोजित रकमले कृषकलाई मकै उत्पादनमा जोड दिँदै उन्नत जातको मकैखेती गर्न प्रोत्साहित गरेसँगै जिल्लाका अधिकांश किसानले मकैखेती गर्दै आएका छन् ।

तर, कृषकले उत्पादन गरेको मकैले बजार भाउ नपाउँदा कृषकलले उत्पादन गरेको मकै खेतबारीमै कुहिएर गएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्