
काठमाडौं, असार २१ । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा.गोविन्द नेपालले चालु आर्थिक वर्ष करिब ६५ प्रतिशत पुँजीगत खर्च परिचालन हुने बताएका छन् । चालु आर्थिक वर्ष २०७२/०७३ करिब–करिब सकिएको छ ।
यस अवधिमा पुँजीगत खर्च अत्यन्त न्यूनमात्र भएको तथ्यांक छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्म विनियोजित पुँजीगत खर्चको करिब २० प्रतिशतमात्र खर्च भएको राष्ट्र बैंकको तथ्यांक छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिकस्थितिमा वैशाख मसान्तसम्म ४२ अर्ब ९९ करोड रुपैयाँमात्रै पुँजीगत खर्च भएको तथ्यांक छ ।
चालु आर्थिक वर्षका लागि २ खर्ब ८ अर्ब ८८ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरिएकोमा ४२ अर्ब ९९ करोड बराबर अर्थात् २० दशमलव ६ प्रतिशत बराबरमात्र खर्च भएको केन्द्रीय बैंकको तथ्यांक छ ।
अर्थ मन्त्रालयले ४० प्रतिशत हाराहारीमा खर्च भएको जनाएको छ । सरकारले ७० प्रतिशत बढी खर्च हुने लक्ष्य राखेको छ ।
प्रमुख आर्थिक सल्लाहकार डा.नेपाल भने करिब ६५ प्रतिशत खर्च हुनेमा आफू विश्वस्त रहेको बताउँछन् ।
मंगलबार हामीसँगको कुराकानीमा उनले अप्ठेरो परिस्थितिबाट गुज्रिएपनि लक्ष्यको उक्त प्रतिशत बराबर भने हासिल हुने दाबी गरेका हुन् ।
आर्थिक वर्षको अन्तिम तीन महिना सक्रियता बढी हुने परम्परा नै रहेको छ ।
असार महिनामा सबै हिसाब–किताब गरिने हुनाले यो महिना बढी खर्च देखिने गरेको उनले बताए ।
यही महिनामात्र खर्च भएको भनेर भने बुझ्न नहुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्