
काठमाडौं, साउन १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा १६ दलका ३५८ सांसदको समर्थन प्राप्त गर्ने निश्चित भएको छ ।
व्यवस्थापिका–संसद सचिवालयले प्रकाशन गरेको सूचनाअनुसार मंगलबारको निर्धारित् समयमा प्रधानमन्त्रीमा अध्यक्ष दाहालकोमात्र उम्मेदवारी परेको छ ।
सचिवालयकाअनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक रहेका छन् भने संसदका अरु १६ दलका नेताले समर्थन जनाएका छन् ।
सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलकाअनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ, सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले समर्थन जनाएका छन् ।
त्यस्तै, अध्यक्ष दाहाललाई नेकपा संयुक्तका जयदेव जोशी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, जनजागरण पार्टीका लोकमणि ढकाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहटका रुक्मिणी चौधरी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राई, थरुहट तराई पार्टी नेपालका गंगा चौधरी (सत्गौवा), मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, अखन्ड नेपालका कुमार खड्का, दलित जनजाति पार्टी नेपालका यसोदाकुमारी लामा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले समर्थन जनाएका छन् ।
दाहालको पक्षमा ३५८ सांसद
निर्वाचनमा अध्यक्ष दाहाललाई कांग्रेसका २०७, माओवादी केन्द्रका ८१, संघीय समाजवादीका १५, फोरम लोकतान्त्रिकका १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा संयुक्त तीन, थरुहट तराई पार्टी दुई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहटका एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखन्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद एक गरी जम्मा ३५८ सांसदले समर्थन जनाउने भएका छन् ।
यो संख्या बुधबार मतदानको समयसम्ममा अझ बढ्नसक्ने नयाँ गठबन्धनका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्रीको निर्वाचन बुधबार बिहान ११ बजे बस्ने संसद बैठकमा प्रारम्भ हुनेछ ।
संसदमा हाल ५९५ सांसद छन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसदमा तत्काल कायम सदस्य संख्याको बहुमत अर्थात् २९८ मत ल्याउनुपर्छ । रासस
प्रतिक्रिया दिनुहोस्