२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


राजेन्द्र श्रेष्ठलाई १४ संघसंस्थाले गरे सामूहिक सम्मान


0
Shares

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको छ ।

नेवाः राजनीतिक अभियानको संयोजकत्वमा १४ संघसंस्थाले संयुक्त रुपमा श्रेष्ठलाई सम्मान गरेको हो ।

प्रतिनिधि सभामा मातृभाषा शिक्षा संशोधन गराएर विधेयक पारित गराएकोदेखि पहिचान र संघीयताको आन्दोलनमा महत्वपूर्ण योगदान दिएकाले कदर स्वरुप श्रेष्ठलाई जनकवि दुर्गालाल श्रेष्ठको बाहुलीबाट सम्मान दिएको हो ।

श्रेष्ठले २० वर्ष सम्म तत्कालिन नेकपा एमालेको केन्द्रमा बसेर तथा अन्य समयमा पनि पार्टी तहबाटै पहिचानको मुद्दामा अतुलनीय योगदान दिएका छन् ।

केहि समय अगाडि सरकारले प्रतिनिधि सभामा नेपाली र अंग्रेजी भाषा मात्र उल्लेख गरी शिक्षा विधेयक प्रस्ताव गरेको थियो ।

सोही समयमा श्रेष्ठले नेपाली, अंग्रेजी तथा मातृभाषा समेत उल्लेख गरी विधेयक संशोधन गराएका हुन् ।

उनले मातृभाषा शिक्षा विधेयकमा संशोधनसहित पारिक गराएकोले पनि तीन वटै संघीय संरचनामा स्थानिय भाषा अन्तर्गत मातृभाषामा पढ्न पाउने भएका छन् ।

पछिल्लो समय नेपालभाषा लगायत अन्य स्थानिय भाषा लोप हुने स्थितिमा छ ।

नयाँ बनेको शिक्षा विधेयकले यसलाई केहि हद सम्म रोक्ने सरोकारवालाहरुले तर्क गरेका छन् ।

उनले मुआब्जा पश्चात मात्र सडक बिस्तार गर्न पाउने गरी आवास सम्बन्धीको विधेयक २०७५ मा संशोधन गराएका छन् ।

यसले पनि सडक पीडित स्थानिय मूलबासी रैथानहरुको पक्षमा केहि हद सम्म राहत दिलाएको छ ।

बसन्तपुरमा भएको कार्यक्रममा नेवाः राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठ, श्रीकृष्ण मानन्धर, मंगला कारंजित, ऋषिप्रसाद श्रेष्ठ, विष्णु चित्रकार, विद्या चित्रकार लगायतको सहभागिता थियो ।