२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


पत्रकार दियाली आक्रमणमा संलग्नलाई पक्राउको माग गर्दै र्‍याली


0
Shares

सर्लाही, चैत ३ । पत्रकार सोम दियालीमाथि सांघातिक आक्रमण गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै र्‍याली निकालिएको छ ।

आइतबार सर्लाही सदरमुकाम मलंगवामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा दोषीलाई पक्राउको माग गर्दै दबाब र्‍याली निकालिएको हो ।

सामुदायिक रेडियो सर्लाही हरिवनमा कार्यरत् पत्रकार दियालीमाथि आक्रमण भएको एक महिनाभन्दा बढी समय भइसकेको छ ।

र्‍यालीपश्चात् जिल्ला प्रशासन कार्यालय मलंगवाको मुलद्वारमा पुगेका सन्चारकर्मीले त्यहाँ केहीबेर धर्नासमेत दिएका थिए ।

पत्रकार दियालीमाथि गत माघ २९ गते हरिवनस्थित सुखेपोखरी मन्दिरनजिकको एक चिया पसलमा आक्रमण भएको थियो ।

उनलाई चिया पिउन बोलाउने हरिवन नगरपालिका–११ का २० वर्षीय इरफान देवानलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो ।

उनलाई घटनामा संलग्न कसुरदार ठहर्‍याइएपनि थुनामै राखेर कारबाही गर्नुपर्ने कसुर नदेखिएको भन्दै सर्लाही जिल्ला अदालतले फागुन २९ गते धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि तीन लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी फागुन ३० गते छुटिसकेका छन् ।

देवानले पटक–पटक फोन गरेर बोलाएको ठाउँ सुखेपोखरी जाँदा पत्रकार दियालीमाथि आक्रमण भएको हो ।

आक्रमणमा संलग्न वाग्मती नगरपालिका–१ का समिर गुरुङ र हरिवन नगरपालिका–९ का भीमप्रसाद रेग्मी भने अझै फरार छन् ।

उनीहरुविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

आक्रमणबाट अनुहारमा गहिरो चोट लागेका दियालीका तीनओटा दाँत फेर्नुपरेको छ ।

घटनामा संलग्न भीमप्रसाद रेग्मीले केही दिनअघि फेसबुकमार्फत् फेरि आक्रमणको धम्की दिएको पत्रकार दियालीले बताए ।

उनले समाचार लेखेकै कारण आफूमाथि आक्रमण भएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै आएका छन् ।