चट्याङले ५२ भेडा मरे

news

बाजुरा, माघ ९ । चट्याङ लागेर बुधबार बाजुरामा ५२ भेडा मरेका छन् ।

जिल्लाको बडिमालिका नगरपालिका–७, चुथीको जंगलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकैदिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ ।

भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

चुथीको जंगलमा एकैसाथ चरिरहेका १२३ ओटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमा नै मरेको प्रमुख भाटको भनाइ छ ।

चट्याङ मंगलबार साँझपख परेको भएपनि अत्यधिक हिमपात र वर्षाका कारण प्रहरी प्रतिवेदनसहित घटना अध्ययन प्रतिवेदन बुधबारमात्र तयार पारिएको उनले जानकारी दिए ।

साझेदारीमा व्यवसाय सन्चालन गरेका रोकाया र धामीको चट्याङका कारण करिब रु पाँच लाखभन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लेकाली भेगमा चिसो हुने भएपछि उनीहरुले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए ।

ब्याउनेसहितका भेडा भएकाले ठूलो मात्रामा नोक्सानी भएको उनीहरुको भनाइ छ ।

त्यस्तै, चट्याङकै कारण रेडियो बार्जुको स्टेसनमा पनि ठूलो क्षति भएको छ ।

रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुईथान कम्प्युटरसहितका मेसिनरी सामानमा क्षति भएको सन्चालक समिति अध्यक्ष माया शाहले बताइन् । ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण सेवा पनि बन्द भएको छ ।

चट्याङकै कारण त्रिवेणी नगरपालिकामा पनि एक घरमा आगोलागी भएको प्रहरीले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...