लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

वतन परिवर्तन, थापाको सत्तारोहण र राजनीतिक बैतर्नी

मंगलबार, १ चैत, २०७३ मा प्रकाशित, 1720 पटक हेरिएको

पेशल आचार्य - फागुनको निगल्दो सातादेखि हामी लेखक र तपार्इं पाठक दुबैको वतन फेरियो । वतन फेरिएसँगै हाम्रा नैसर्गिक विकासका हक फेरिनु पर्ने, सेवा र सुविधामा बढोत्तरी हुनु पर्ने हुन् । हामी नयाँ नेपालको पुनर्संरचनामा पाइला टेक्दै छौं । हामी विविध विकास क्षेत्र, अञ्चल, जिल्ला, महा, उप, नगरपालिका र गाउँ विकास समितिमा रहेका नेपालीहरू नयाँ संविधान कार्यान्वयन गर्ने सन्दर्भमा भएको निर्णयसँगै ७ प्रदेश, ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिकाका स्वतः बासिन्दा भएका छौं । वतन फेरिए पनि हाम्रो अवस्था र हविगत जस्ताको तस्तै छ ।

बिर्सेर पनि अब हामीले विकास क्षेत्र, जिल्ला र अञ्चलको नाम लिनु गैह्रकानुनी हुन्छ । ७५ वटै जिविसहरू जिल्ला समन्वय समितिमा परिणत भएका छन् । आउँदो २०७४ साल वैशाखको अन्तिम सातासम्ममा केही राजनीतिक तलबितल भएन भने प्रचण्ड सरकारले स्थानीय तहको चुनाव गराउने छ । चुनावका तीन तुरुपहरू देखिएका छन् । एक, संविधान कार्यान्वयनका सिलसिलामा मधेशीलाई मनाएर वा २ नम्बर प्रदेशमा स्थगित गरेरै भए पनि बाँकी ६ प्रदेशमा चुनाव गर्ने प्रमको दाउ । दुई, स्थानीय तहको चुनावपछि आफू सरकारको ‘प्रधान मोनिटर’ हुन पाउने आसमा काँग्रेस सभापति शेरबहादुर नयाँ दौरा सुरुवालमा इस्त्री लगाउन व्यस्त छन् । भलै चुनावमा आफ्नो दलको स्थिति कस्तो हुने हो त्यसतर्फ उनी खासै चिन्तित देखिँदैनन् । यसबेला समग्र काँग्रेस ‘दन्त्यकथाको पात्रले दुर्से घोडा बेचेर मस्त निदाएको’ अभिनयमा छ । हुन् त देशमा काँग्रेसका साइलेन्ट भोटरहरू छन् । तिनीहरू एमालेकाजस्ता फूर्तिला र रातोदिन खट्ने कुरामा विश्वास राख्दैनन् । भनाइ नै छ –‘काँग्रेसलाई विपक्षीले नभएर काँग्रेसले नै हराउँछ ।’ तिनीहरूलाई कुनै कार्यक्रम, चुनावी र्‍याली, सभासमारोह भए पनि, नभए पनि माने मतलब राख्दैन । चुनावका दिन चर्को घाम लागेन र लामो भीड भएन भने त्यो समूह भोट खसालेर फेरि पाँच वर्षका लागि ‘घोडा बेचेको पात्र’ झैँ सुत्छ । नेपालमा वामपन्थसँग रिसाएको एउटा निम्न र मध्यम वर्गको ठूलो हिस्सा काँग्रेसमा आस्था राख्छ जसलाई बेलाबेलामा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिँह र दानवीर सुवर्ण शमशेरका साहसी आख्यानहरू सुनाइदिए पुग्छ ।

काँग्रेसीहरूले राजनीति गर्न जान्या भए अहिले मात्र होइन भविष्यमा पनि काँग्रेस १ नम्बर राजनीतिक पार्टी रहिरहने थियो । मानिस जतिजति विकसित र व्यक्तिगत स्वतन्त्रताको हिमायती हुन्छ त्यतित्यति ऊ ‘डेमोक्रेट’ हुन्छ र डेमोक्रेसी चाहन्छ । भलै अहिले काँग्रेस आफैँचाहिँ क्रमशः ‘हिप्पोक्रेट’ भैरहेको छ । देशविदेश चहारेका युवाहरूका विचारमा संसारमा जेजति विकास र मानवअधिकारका कुराहरू भएका छन् तीसबै प्रजातन्त्रका उपज हुन् । यस्तो अनुकूलको परिस्थितिलाई काँग्रेसले क्यास गर्न नसकेकै नजानेकै हो ।
अघिल्लो २०७० को चुनावमा उसले बढी सिट पाएको भन्दा पनि एमाले र एमाओवादीको भोट काटाकाटमा अघिल्तिर परेको हो । त्यसबीच काँग्रेसको संगठन विस्तारका खातिर उसले देशव्यापी उल्लेखनीय कार्य केही गरेको देखिएको छैन । ओलीको शासनमा नाकाबन्दी हुँदा पनि उसले नाकाबन्दीका बारेमा न त भारतसँग टेक लिन सक्यो न त सरकारका विरोधमा पउल कार्यक्रम नै ल्यायो । मात्र सहेर र टुलुटुलु हेरेर शक्तिहीन प्रतिपक्षको निकम्मा भूमिका निभायो । एमाले उसका स्थानमा रहेको भए आकासपाताल जोडेर दिउँसै बत्ती बाल्थ्यो ।

काँग्रेसले प्रविधि प्रयोग गरेर, देशविदेशमा रहेका आफ्ना लाखौंलाख समर्थक र शुभेच्छुकका समर्थन पाइरहन सक्ने थियो । त्यसतर्फ खासै चासो देखाएको छैन । पार्टीको महाधिवेशन भएको १ वर्ष बढी भैसक्दा पनि लोकतान्त्रिक भनिने सो पार्टीले केन्द्रीय सदस्यको परिपूर्ति गर्न नसक्नु र विभागहरूमा पदाधिकारी नियुक्ति नगर्नु लाजमर्दो भैसक्यो । स्थानीय तहको चुनावतयारी त चैत निगल्दो वैशाख लाग्दा गर्दा पनि हुन्छ । काँग्रेसले राजनीति गर्न अब राप्रपाका कमल थापा र फोरम लोकतान्त्रिकका विजय गच्छदारसँग सिकेमा आपत्ती हुँदैन । राम भरोसामा अडिएको छ, आजको विचरो काँग्रेस ।

उसको स्पर्धा हुने मध्यधारको वामपन्थी एमाले हो । ऊ संगठनमा, कार्यकर्ता संरक्षणमा, राजनीतिक मुद्दा उछाल्न र फाइदा लिन धेरै बाठो छ । कहिलेकाँही उसले लिएका राष्ट्रिय अडानहरू केही हप्ता र महिनामै फेरबदल हुने गरेका विगत्का उसका व्यवहारले देखाउँछन् । माओवादी मोर्चा खुला राजनीति र खुराफाती रणनीति सिक्दै छ । ऊ नवोन्मेषी छ । अरूहरू वयश्क भैसके ।

मधेशीहरूको ताल आफ्नै छ । भारतले जे कान फुक्छ सोही अभिनयमा रमाउछन् । मधेशतिरको ‘सनपापडी मिठाइ’ जस्तै छ –तिनीहरूको रणनीति । संविधान जारी हुने बेलामा बाहिर बसे । जब सरकार फेरबदलको स्थिति आयो अनि सरक्क संसदमा छिरेर सरकारका समर्थनमा भोट हाले । संविधानलाई विरोध गर्ने ससाना मधेशी नेताहरूका संख्याभन्दा काँग्रेस, एमाले र माओवादी मोर्चाबाट जित्ने मधेशी सांसदको संख्या धेरै छ जो नयाँ संविधान कार्यान्वयन पक्षमा छन् ।

राजनीतिक परिवर्तनका ठूल्ठूला घटना हाम्रो पुस्ताले देखेभोगेको छ । पञ्चायत जाँदा र बहुदल आउँदा २०४६ सालमा पनि हामीले पञ्चायत मात्र आफलेनौ अञ्चल प्रशासनमा क्रियाशील अञ्चलाधीशहरू, ६वटा वर्गीय संगठनहरू र निर्दलीयतालाई समेत जरैदेखि फालेकै हौं । अहिलेको परिघटना नयाँ बनाउने क्रममा भएको परिवर्तन केही समयलाई नौलो भए पनि त्यो पानीले आफ्नो लेभल बिस्तारैबिस्तारै मिलाएझैँ मिल्दै जान्छ । जनतालाई परिवर्तनका एहसास दिलाउने खालका परिवर्तनहरू भएकै छैनन् । जनताले त भोक, रोग, शोक र गरिबीको समूल अन्त्य चाहेको छ । सौविध्यता र चरम भौतिक विकासको आसा गरेको हो –लोकतन्त्रमार्फत् । आधुनिक अधिकारका माग गरेका छन् । सर्वहाराको अधिनायकत्वको नारा दिनेका कित्तामा पनि सत्ता बाहिरका कंगाल सर्वहारा र सत्तासीन कुलीन सर्वहारा गरी वर्गीय भेद्हरू देखिए । आयश्रोत लुकाएरै भए पनि प्रधानमन्त्री मासिक डेढ लाख पर्ने घरमा बस्थे अहिले पनि त्यो घर उनको अ(प्रत्यक्ष) स्वामित्वमा रहेकै छ –भनिन्छ । शान्तिवार्ताको यो एक दसकमा माओवादीमा पाँच चिरा परेका छन् । परिधि जतिजति चर्केर गैरहेको छ उसको संगठन पनि उतिउति भुसको लिउन भैरहेको छ ।

केहीदिन पहिले भएको राप्रपाको राष्ट्रिय महाधिवेशनमा रेखा थापा र कोमल ओलीले अत्यधिक मत पाएर केन्द्रीय सदस्यमा विजय हाँसिल गरे । त्यसको केही दिनपछि बीबीसी नेपाली सेवाका प्रमुख तथा ‘अन्तर्वार्ता किङ्’ का नामले चिनिने विख्यात पत्रकार रवीन्द्र मिश्रले ‘साझा पार्टी’ खोलेको ऐलान गरे ।

एकहप्ता पनि भएको छैन एमालेको वृहत् मेचीकाली ¥यालीका क्रममा राजबिराजमा मधेशी पार्टीका कार्यकर्ताले आमसभालाई विथोल्ने प्रयास गर्दा पुलिसले चलाएको गोली लागेर कूल ६ जनाको मृत्यु (?) भयो । शनिबार भएको शवयात्रामा सबैजसो मधेशी नेताका मलिन अनुहारबीच नेता उपेन्द्र यादव हाँसेको तस्वीर फेसबुकमा भाइरल भयो । सो हाँसोको बहुअर्थी विश्लेषण राजनीतिक परिवृत्तमा भैरहेको छ । कतै, त्यो कुटिल हाँसो कमल थापा र विजय गच्छदार सत्तामा जानेजस्तो भरेङ् नहोस् । शोकमग्न मधेशीहरू यही चाहन्छन् ।

२ दिनअघि राप्रपाका अध्यक्ष तथा नेपाली राजनीतिका ‘मुसा प्रवृत्ति’ भनी चिनिने कमल थापा र उनकै पार्टीबाट दिलनाथ गिरी मन्त्री भए । भनिँदै छ –‘गिरी अमेरिकी ग्रीन कार्ड होल्डर’ हुन् । सो भनेको विदेशी हुलिया हो । उनले नेपालमा बस्दा नेपाल सरकारलाई ट्याक्स तिर्नुपर्ने हुन्छ । हुन त यतिखेरकै सरकारमा माओवादी मोर्चाका नेता राम कार्कीको समेत भारतीय रासन कार्ड रहेको छ । सामान्य कर्मचारीले पिआर र ग्रीन कार्ड लिँदा रोइलो गर्ने एमाले नेता तथा राष्ट्रवादको गीतावाचन गर्ने लालबाबु पण्डित अहिले यी दुईदुई केन्द्रीय नेताका ‘विदेशीवतन’ बारे केही भनिरहेका छैनन् । त्यसै भनिएको होइन ‘नेपालमा सानालाई ऐन र ठूलालाई चैन ।’

कमललाई यसपटक प्रचण्डले आफ्नो पार्टीका मन्त्री हितराज पाण्डेलाई फिर्ता बोलाई राजनीतिको राम्रै जितौरी दिए । उता उनकै पार्टीका पुराना नेता प्रकाशचन्द्र लोहनीले राप्रपा त्यागेको घोषणा होलीकै छेक पारेर गरे । जब दर्शनको दाउन सकिन्छ अनि राजनीतिको वैतर्नी तर्ने दुस्साहस सानाठूला नेताबाट हुन्छ । यस्तो बेलामा नयाँ भनी आएका विवेकशील, बाबुराम र रवीन्द्रहरूले राजनीतिमा नयाँ ट्रिकले जनता तान्नुपर्ने देखिएको छ ।

प्रकारान्तरले फेरि नेपाली राजनीति सत्ता टिकाउने खेलमा आएर अड्कियो । डा.बाबुरामले प्रधानमन्त्री प्रचण्डलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको निर्वाचन प्रक्रिया बारेको मागपत्र बुझाउन जाँदा समय पाएनन् । अशोक राईले संसद्मा भारतीय एसएसबीले गोली नचलाएको मन्तव्य दिएर जग हँसाए । चुनाव हुनेहुनेजस्तो भएका बेला फेरि एकौटा बखेडा झिकेर चुनावलाई टार्ने साजिस रचिँदैछ भन्ने शंका जनतामाझ उठ्न थालेको छ । सबै विवादका समाधान गर्ने अचुक अश्त्र भनेकै चुनाव हो । यसले पार्टीलाई साइजमा ल्याउँछ ।

होलीका अवसरमा तराईमा जुन किसिमको माहोल र जश्न हुने गर्छ । यो पटक त्यस्तो देखिएन । जनकपुरमा होलीको पूर्व सन्ध्यामा मधेशी दलहरूले ‘होलीका दहनका सट्टा प्रतिपक्षी दलका नेता ओलीको पुत्ला दहन गरे ।’ वीरगञ्जमा हरेक वर्ष साहित्यिक मण्डलीले तामझामसाथ गर्ने होली विशेष साहित्य उत्सवमा महामूर्ख सम्मेलन गरेर उपाधी दिएनन् । मानव रगतको होली राज्यले खेलेर जनताको बाँच्न पाउने हक खोसेको नाखुसमा तराई धुम्म परेर बसेको छ । राजबिराजदेखि वीरगञ्जसम्म होलीको जुन रौनक देखिनु पर्ने थियो त्यो देखिएन । राज्य आफ्ना निर्दोष जनता मार्दै १० लाखको चेक उसका शोकसन्तप्त परिवारलाई थमाउनु मै आफ्नो परम् कर्तव्य ठान्छ ।

बुद्धिजीवी सर्कलमा एउटा यस्तो भनाइ सुनियो –‘मधेशी मूलकै व्यक्ति गृहमन्त्री भएका बेला मधेशमा मधेशी निर्दोशहरूले ज्यान गुमाए । मधेशीले मधेशीको रगतको होली खेलेको यो कस्तो राजनीतिक प्रपञ्च हो ?’ भन्नेहरूका मुख कसैले थुन्न सक्दैनन् । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी आक्रोशमय भाव र भाषामा भन्छन् –‘कुलमानको जत्ति अडान प्रचण्डले लिएका भए हामी लोकतन्त्रको संस्थागत विकासक्रममा आधाबाटो हिँडिसकेका हुन्थ्यौं ।’ यो विचारमा समस्त नेपालीको भावना लुकेको छ । नेपालीहरू संविधान जारी भएपछि आर्थिक सम्पन्नताका साथ अघि बढ्ने सपना देख्न थालेका थिए । अझ जो युवावय उमेरमा आफूलाई अघि लगिरहेको छ ऊ त विकसित नेपालको सपना देख्छ । अब नेपाली युवाले सपना देख्न पनि आफू एलाइन्स भएको राजनीतिक पार्टीका नेताहरू काँग्रेस समर्थकले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले समर्थित युवाले केपी ओली, माधवकुमार नेपाल, एमाओवादी मोर्चा समर्थितले पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, मधेशी दल समर्थित युवाले उपेन्द्र यादव, राजेन्द्र महतोमार्फत् सपना सापट लिएर मात्रै देख्न पाउने भएका छन् !

कञ्चनपुरको कारगील वस्तीस्थित पुनर्वास नगरपालिकामा भारतले बनाउँदै गरेको कल्भर्ट निर्माणको विरोध गरेबापत नेपाली होनहार युवा गोविन्द गौतम दिन दहाडै गोलीद्वारा उडाइए । उनको शवयात्रामा हजारौं मानिस स्वतःस्फूर्त रूपमा सहभागी भए । आक्रोशित भीडले पुनर्वास नगरपालिकको नाम फेरेर ‘गोविन्द नगरपालिका’ नामकरण गर्नु पर्ने माग राखेका छन् । देशमा एमालेको लहर उठेको देखेर कथं ‘दादे’ सरकार भित्रभित्रै डराई चुनाव रोक्ने मनस्थितिमा जाने त होइन भन्ने शंकाहरू उठन थालेकाले शंकाको निवारणका लागि पनि सरकारले चुनावप्रति जनतालाई आश्वास्त पार्न सक्नु अहिलेको दह्रो आवश्यकता हो ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.