लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

भरतपुर मतगणनासम्बन्धी सुनुवाइ सरेको सर्‍यै, अब आइतबार

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 2468 पटक हेरिएको

काठमाडौं, साउन २ । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ यही साउन ८ गतेका लागि सरेको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएपनि समय अभावका कारण ‘हेर्दाहेर्दै’मा यही साउन ८ गतेका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ सरेको यो चौथोपटक हो ।

यसअघि, गत असार २६ गते सुनुवाइका लागि इजलास तोकिएपनि सुनुवाइ हुन सकेको थिएन । सुनुवाइ आजका लागि तोकिएको थियो ।

त्यसअघि, गत असार २३ गते सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएपनि नभ्याएर असार २६ गते पेसी तोकिएको थियो ।

त्योभन्दा पहिला कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाकाक्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो ।

सोहीअनुसार अदालतमा च्यातिएका मतपत्रसहित अरू कागजपत्र गत असार १३ गते अदालतमा पेस गरिएको थियो ।

मतगणना अन्तिममा पुगेकाबेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर–१९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

सो निर्णयकाविरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नम्बर–१९ का नेकपा एमालेका सदस्यका उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

मतगणनामा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा थियो ।

रिट निवेदनमाथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework