लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
TVS

महाभारतकी कुन्ती -११

सोमबार, ३० फागुन, २०७३ मा प्रकाशित,

हरिविनोद अधिकारी द्रौपदीको जन्म एकप्रकारले अयोनिजा नै हो रहेछ । मलाई त यो कुरा धेरै पछिमात्र थाहा भयो जब, व्यासले उनको जन्मको वास्तविकता बताउनु भयो । अहिले मलाई लाग्छ, यदि त्यसदिन मेरा छोराहरु त्यो स्वयंवरमा नगएका भए हाम्रो राज्य सकुशल फिर्ता हुन्थ्यो कि हुँदैनथ्यो होला ?

किनभने युवराज घोषित युधिष्ठिरलाई मारेर सदाका लागि राज्य आफ्नै गराउने सुरमा नै हामीलाई वारणावत पठाइएको कुरा घाम जत्तिकै छर्लङ्ग थियो र पनि हामीले त्यो भन्न पनि सक्दैनथ्यौँ र भन्न पनि मिल्दैनथ्यो ।

द्रौपदीको यसपटकको जन्मका बारेमा वास्तवमा के रहेछ भने महाराज द्रुपदलाई छोरीको भन्दा पनि गुरु द्रोणाचार्यलाई जित्ने वा हत्या गर्ने एउटा बहादुर छोरोको आवश्यकता परेको रहेछ । त्यस्तो छोरो पाउनका लागि गरिएको यज्ञबाट जन्मिएको छोरोले मात्र द्रोणलाई जित्ने वा मार्ने भनी भएको आकाशवाणीलाई ऋषिहरुले साकार तुल्याउन यज्ञ गराएछन् । कसैले भन्छन् द्रुपद महाराजले सपनामा त्यस्तो छनक पाएका हुन्, कसैले भन्छन् उनलाई आकाशवाणी भएको थियो । अनि आफ्नो तीब्र दमित इच्छा पूरा गराउन ऋषिहरुको साथ माग्दै महाराज द्रुपद वन–वन चहार्न थाल्नुभएछ । अनि सिद्धिप्राप्त गरेका तपस्वी साख्खै दाजुभाइ याज, उपयाज ऋषिहरुको सेवा गरेपछि उपयाजले याजले यस्ता काम गर्न सक्छन् भनेर सुझाव दिए अनि याजको प्रयासले भएको पुत्रेष्टि यज्ञबाट महावीर धृष्टद्युम्न उत्पन्न भएका रहेछन् र एउटा साह्रै राम्री पुत्रीसमेत लाभ भएछ ।

धपधप बलेकी श्यामवर्णकी पुत्रीको जन्मले राजदरबार मोहित भएछ । राजदरबार भनेको त राजा नै हुन् र रानी नै हुन् । एउटी छोरी शिखण्डीलाई छोरा भनेर युवराजका रुपमा तर बडो गोप्यताका साथ पालन पोषण गरे पनि राजा द्रुपदलाई एउटा बहादुर छोरो चाहिएकै थियो र छोराछोरी सँगै उत्पन्न हुँदा त्यसले दरबारमा नयाँ खुसी उत्पन्न भएको अनुमान गर्न सकिन्छ ।

शिखण्डीको कथा फेरि अर्कै छ । हाम्रै सासुहरुकी ठूली दिदी अम्बाको पुनर्जन्म भएको हो रे र जसरी पनि भीष्मलाई मार्नका लागि उनको प्रतिज्ञासहितको प्रतीक्षा थियो रे । अचम्म त के रे भने पितामहलाई पनि पूर्वजन्मको ज्ञान हुने र शिखण्डीलाई पनि पूर्वजन्मको ज्ञान रहने आशिष थियो रे र त पितामहलाई पनि थाहा थियो मलाई शिखण्डीले जसरी पनि मार्छ र सायद त्रिकालदर्शी द्रोणलाई पनि थाहा थियो, मलाई जसरी पनि धृष्टद्युम्नले मार्छ ।

अचम्म त के पनि रहेछ भने गुरु द्रोणलाई थाहा रहेछ यो धृष्टद्युम्न भन्ने राजकुमार अयोनिज हो र यो मेरो अन्त्यको लागि नै यज्ञबाट उत्पन्न भएको हो । तर उहाँले धृष्टद्युम्नलाई मेरै छोराहरुसँग राखेर शिक्षादान गर्नु भएको रहेछ र विभिन्न शस्त्रास्त्र र शास्त्रको ज्ञान दिनु भएको रहेछ । शिखण्डी पनि पो सँगै शिक्षा प्राप्त गर्न हाम्रै दरबारको गुरुकुलमा आएका रहेछन् शस्त्रास्त्र र शास्त्र सिक्न । यो कुरा भीष्म पितामहलाई पनि थाहा रहेछ । भन्थे रे, शिखण्डी जहिले पनि मलाई एउटा बुढालाई मार्नु छ तर को बुढो भनेरचाहिँ कसैलाई पनि भनेका रहेनछन् । त्यसको कारण हो यदि मेरा छोराहरुले त्यो थाहा पाएका भए धृष्टद्युम्न र शिखण्डी दुबैलाई मार्थे होलान् पहिले त । पछि पनि त्यो सहँदैनन् थिए होलान् तर विधिको नियमलाई कसले पो नकार्न सक्थ्यो र ? सक्छ र ? उनै गुरुले सिकाएको विद्याका भरमा धृष्टद्युम्नले द्रोणलाई ध्यानमा बसेको बेलामा घाँटी छिनाएर मारेको बुझियो । त्यसमा युधिष्ठिरको समेत मिलोमतो देखियो पछि त । कृष्ण तेरो लीला अपरम्पार नै पाएँ मैले । यो बेलामा पनि सबैभन्दा बढी मैले सम्झने भनेको त्यही भदाहा कृष्णलाई नै हो ।

गुरु द्रोणको मृत्यु पनि एकप्रकारले रहस्यमय नै रहेछ । छोरो छ चिरञ्जीवी अश्वत्थामा । अनि गुरुको पाएको आशीर्वाद त खेर नजानु पर्ने हो । अनि त्योे चिरञ्जीवी छोरो अश्वत्थामाको निधन नभई मेरो पनि निधन नहोस् भन्ने आशीर्वाद पाएका द्रोणलाई मार्न पनि मेरो भदाहा, साक्षात नारायणको अवतार कृष्णको सहयोग लिएर युद्धमा एउटा अश्वत्थामा नाम गरेको हात्तीको मृत्युलाई आधार बनाएर गुरुको हत्या गरिएको थियो । भीमले आफ्नै युद्धमा प्रयोग भएको वाहन अश्वत्थामा नाम गरेको हात्तीलाई मार्न लगाएर हल्ला के चलेछ भने अश्वत्थामा मारियो । वास्तवमा त्यो हात्ती मारिएको नै हो जसको नाम अश्वत्थामा नै थियो । अनि गुरुले भन्नु भयो रे यो हल्ला कति साँच्चो हो ? सबैले भनेछन् गुरु खोइ त्यस्तै हल्ला छ पाण्डवको शिविरमा । सबै खुसी छन् । अनि गुरुले एउटा शर्त राख्नु भएछ — यदि युधिष्ठिरले यो कुरा साँचो हो भन्छ भने मात्र म पत्याउँछु । युधिष्ठिरलाई भावी राज्यको लोभले सतायो रे र अन्तिममा गुरुको हत्या गर्ने षडयन्त्रमा जानेरै सहभागी बनेको रहेछ । नत्र कसरी भन्थ्यो कि हात्ती हो कि मान्छे हो, अश्वत्थामा भन्नेचाहिँ मरेकै हो ।

वास्तवमा त्यो राम्रो काम त थिएन तर राज्य प्राप्ति कत्ति अपराधी कामहरुको पुञ्ज रहेछ भन्ने यसले पनि दर्शाउँदैन र ? मेरो द्वैध मानिसकता के रह्यो युद्धभन्दा पहिलेको त्यो बेलामा भने जेठाजुसँग प्रतिशोध लिनुपर्छ, प्रतिशोध लिनु हुँदैन भन्ने । आखिर प्रतिशोध र घृणाले प्रतिशोध र घृणा नै जन्माउँदो रहेछ । हाम्रा परिवारमा त्यस्तै भयो र सर्वनाश नै भयो हाम्रा परिवारको । कताबाट कृष्ण्को बुद्धिले गर्दा र क्षमताले गर्दा एउटा पिउसो बाँचेको छ र राज्य गर्ने होला भोलिका दिनमा । व्यासको भविष्यवाणी त्यस्तै छ । त्यो पिउसो भनेको त्यही अभिमन्युपुत्र परीक्षित त हो नि । अब युधिष्ठिरले उसैलाई त राज्य सुम्पला नि । अरु कोही पनि त बाँकी रहेनन् राजा हुन लायकका ।

हाम्रा राज्यहरुमा छोरो भएन भने त्यो राज्यमा अरुकै आँखा लाग्छ र अर्को राज्यले बिस्तारै हडप्ने गर्छ । त्यसैले एकातिर द्रोणसँगको रिसइबी साध्न पनि र पछिका लागि राज्य सञ्चालनका लागि पनि महाराज द्रुपदलाई एउटा भने पनि छोरो चाहिएको थियो । शिखण्डीलाई राजा नै बनाए पनि ऊबाट त अरु सन्तान नहुने देखेर पनि पुत्रेष्टि यज्ञको आयोजना गर्नु अनिवार्य थियो । ऋषि याजको कृपाले र उनको सम्पादनमा भएको यज्ञादि कर्मबाट जुम्ल्याहा भाइबहिनी जन्मेका थिए, भनौँ उत्पन्न भएका थिए । सँगै उत्पन्न भए पनि समयको गणनामा धृष्टद्युम्न दाजु र कृष्णा बहिनी मानिएछन् । हुन त द्रुपद महाराजलाई जितेर गुरुको पाउमा चढाउने त अर्जुन नै थियो रे तर नियतिको लेखा, त्यही अर्जुनले द्रौपदी जित्यो र महाराजको ज्वाईँ भयो, अरु चार भाइ पनि उनकै ज्वार्इँ हुनपुगे ।

फेरि कृष्णाको जन्मको सम्झना आयो । अरुले भनेर सुनेको । कहिल्यै द्रौपदीसँग त्यसबारेमा कुनै कुरा भएन । दरबारका रानीहरुको नियति के हो भने कसैले भेट्न चाहेमात्र भेट्ने र कसैसँग कुरा गर्न नजाने । बुहारीसँग उनको जन्मवारे के सोध्नु ? बिहेभन्दा पहिले पो सोधखोज गरेर कुलकी छोरी हो कि होइन ? कुन राजाकी छोरी, नातिनी, कताको कुन नाता भनेर खुट्याउने त ? आफ्नै छोरा अर्जुनले पछि वसुदेव दाइकी छोरी सुभद्रालाई ल्यायो, त्यस्तै हो नि । तिनै श्यामा जन्मँदै युवतीको रुपमा र छोरो धृष्टद्युम्न युवाको रुपमा नै पाञ्चाल दरबारमा अवतरण भएका थिए रे । ऋषिहरुले किन धृष्टद्युम्न नाम राखेका रे भने जब कुमार यज्ञबाट उत्पन्न भए, तत्काल उनको ढिटपन, कसैलाई नटेर्ने र असहिष्णुपन थपेर देखिएकोले धृष्ट भनिएछ र आगोको लप्काबाट उत्पन्न भएकाले द्युम्न भनिएछ । यसरी उनको नाम धृष्टद्युम्न राखिएछ र याज्ञसेनी पुत्रीको नाम कृष्णा राखिएछ ।

वास्तवमा श्याम वर्णकी, अग्निको घिउमिश्रित कालो काला ज्वालाबाट उत्पन्न लप्काबाट जन्मेकीले द्रुपद राजाको छोरीको रुपमा उनलाई द्रौपदी भनिएको हो । पाञ्चाल देशकी राजकुमारी भनिएकाले उनलाई पाञ्चाली भनिएको रहेछ । त्यसको पछिल्तिरको कथा लामो रहेछ । मलाई यतिबेर मात्र गुरु द्रोणको दरबार प्रवेशको मात्र सम्झना भएको छ । जब द्रोणाचार्य हाम्रो दरबारमा गुरुको रुपमा प्रवेश गर्नुभयो, त्यो पनि एउटा रोचक र मार्मिक तरिकाले आउनु भएको देखिन्छ ।

गुरुकुल जानु पर्ने हुन्थ्यो राजकुमारहरुले पनि । राजा र अन्य ब्राह्मण पुत्रहरु तथा शिक्षाको भोकले सताइएका किशोरहरुका लागि गुरुकुल स्वागतमा हरदम तयार रहन्थ्यो । गुरुकुलको सबै खर्च या त दीक्षितको परिवारले बेहोथ्र्यो या सबै सरकारले नै बेहोर्नु पथ्र्यो । हाम्रा माइततिर पनि सान्दी पनि गुरुको जिम्मामा किशोरहरुलाई पठाइन्थ्यो गुरुकुलमा नै । तर संख्या र विचार विविधताका कारणले अनि राज्यमा देखिएको उत्तराधिकारीको होडबाजीले होला, हाम्रो दरबारमा नै सबै राजकुमारहरुलाई पढाउनु पर्ने बाध्यता आउन थालेको आभास पितामहलाई भयो ।

गुरुकुलमा जानुभन्दा गुरुहरुलाई नै दरबारमा स्वागत गरेर राख्नुपर्ने अवस्था सायद पितामहलाई भयो । हामी बुहारीहरु पनि देवव्रत ससुरालाई पितामह नै भन्न थालेका थियौँ । हुन त मेरो त ससुरा नै हो तर छोराहरुले पितामह भनेकाले र कुरुवंशको सबैभन्दा ज्येष्ठ व्यक्ति र साँच्चै भनौँ भने अन्तिम कुरुशासक उहाँ नै भएकाले हामी पनि पितामह भन्दा सजिलो मान्थ्यौँ । उहाँको नाम त पहिले नै देवव्रत राखिएको रहेछ । राजा पनि नहुने र राजा हुने बच्चा नै नजन्मियोस् भनेर विवाह नगर्ने भीष्म प्रतिज्ञा लिएकाले भीष्म पनि भन्न थालिएको रहेछ । भीष्म नाम जस्तै भएछ र पितामह पनि भइसकेकाले भीष्म पितामह नै उहाँको नामको पर्याय बन्यो । सायद व्यासले पनि आफ्नो उमेरका दाजुलाई पितामह नै भनेर सम्बोधन गरेको सुनिन्थ्यो । सामान्यतया, व्यास र पितामह सार्वजनिकरुपमा गफ गरेर बसेको नै देख्न पाइँदैनथ्यो । यदि त्यसरी बसेको देखिने भनेको सार्वजनिक सभा वा कुनै पारिवारिक महत्वको छलफलमा मात्र हो ।

भीष्म प्रतिज्ञा पनि एउटा कारण बन्यो तर त्यो कुरा त पूर्व जन्ममा नै निर्णित रहेछ भन्ने कुरा व्यासले भनेपछि हामीलाई पनि थाहा भयो । बरु पितामहलाई नै पूर्व जन्मको कुरा सबै याद हुने गरी मनुष्य चोलामा आउनु भएको रहेछ । त्यसैले हाम्री सासुहरुकी दिदी अम्बाको पुनर्जन्म कहाँ भयो भन्ने पनि जानकारीचाहिँ पितामहलाई रहेछ । छोरीको रुपमा द्रुपद राजाको दरबारमा जन्मेकी शिखण्डी जसले आफ्नो परिचय लुकाएर युवराजको रुपमा सबै शिक्षा दीक्षा र कूटनीतिसमेतको शिक्षा लिएको देखिन्छ । पछि बिहेसम्म भएछ तर एउटी नारीको बिहे अर्की नारीसँग हुँदा एक कान दुई कान मैदान भनेजस्तै भएछ र केटीपट्टिबाट शङ्का व्यक्त हुँदा पहिचानका लागि ससुरालीबाट महिला तथा पुरुषहरुको समूह आउने भएपछि शिखण्डी आत्महत्या गर्न जङ्गल गएछन् । नियतिको खेल, एउटा राक्षसले उनलाई केही समयका लागि पुँस्त्व को रुपमा हाम्रो हस्तिनापुर दरबारमा विद्वान कृपाचार्यमात्र राजगुरुको रुपमा हुनुहुन्थ्यो । नाम पनि किन कृप राखिएको रे भने उहाँलाई र उहाँकी जुम्ल्याहा बहिनी कृपीलाई कृपा गरेर पालिएकोले कृप र कृपी नाम राखिएको भनिन्छ । कृपाचार्यसँगको उठबस र संगतले ऋषि द्रोणको विवाह कृपीसँग भएको रहेछ । अनि गुरु द्रोण र तत्कालीन पाञ्चाल युवराज द्रुपदले सँगै गुरुकुलमा पढेका रहेछन् । अत्यन्त मिल्ने साथी । द्रुपदलाई पढ्नै पर्ने भएर गुरुकुलमा आएका, द्रोणलाई पढेर ख्याति प्राप्त गर्नु र जीवनलाई सहजताका साथ बिताउन पनि शिक्षा अनिवार्य भएको । एउटा भारद्वाज सन्तति द्रोण प्रखर अनुसन्धाता र अर्को युवराज द्रुपदलाई राजा हुनुभन्दा पहिले पढेको जस्तो देखाउनु जरुरी भएको । तिनको मित्रता बेजोडको मानिन्थ्यो । नङ र मासुजस्तै । एकदम मिल्ने साथी । जहिले पनि द्रुपदको एउटै भनाइ हुन्थ्यो कि म राजा भएपछि द्रोण तिमीलाई के–के दिन्छु दिन्छु । दरबारको राजगुरु बनाउँछु । जे मागे पनि त्यही दिन्छु । मेरो मित्रताको जाँच गर्न पनि तिमी आउनू है मेरो दरबारमा ।

जेठाजु धृतराष्ट्र र दिदी गान्धारीका तर्फबाट जन्मेका दुर्योधनादि १०० छोराहरु र एउटी छोरी दुःशला हुन् । वास्तवमा दिदीको पेटबाट निस्केको रगत मासुको पिण्डमा १०० ओटा सन्तान उत्पन्न हुन सक्ने भनेकोमा घिउको घडामा राख्दै जाँदा एउटा मासुको टुक्रा बढी देखियो र दिदीको अनुरोधमा एउटी छोरीको पनि आराधना गर्दै अर्को घिउको घडामा त्यो मासुको टुक्रा राखियो । आखिर नियति नै त हो । दुःशलाको जन्म पनि थियो नि दिदीको भाग्यमा, दुःशलाको भाग्यमा । त्यही पछि गएर सबैकी प्यारी छोरी दुःशला भइन् र राजा जयद्रथ उनको विवाह भयो । सबैभन्दा सानोचाहिँ जेठाजुकी वैश्या पत्नीबाट युयुत्सु जन्मिएको थियो । जेठाजुका १०१ छोराहरु थिए र युयुत्सुचाहिँ अलि बढी नै युधिष्ठिरको पक्षपाती थियो । आफ्ना सयजना दाजुहरुको कुरामा भन्दा सत्य र न्यायको पक्षमा देखिन्थ्यो । दिदीका अरु छोराहरु निरपराध नै थिए अलि बढी नै बलमिच्याइँ गर्नेमा दुःशासन थियो । भन्न त दरबारका मान्छेहरु भन्थे— शकुनि दाइले नै उचाल्नु हुन्थ्यो रे भान्जाहरुलाई पाण्डबका विरुद्ध र राज्य दिनुहुन्न तिनलाई भनेर । मलाई त्यस्तो लाग्थ्यो तर म केही पनि थाहा नपाएजस्तो गरी बस्थेँ र सबैलाई एउटै माया बराबरी दिने कोसिस गर्र्र्थेँ । अरुले जेसुकै सम्झियून् ।

दिदीले एकदिन मलाई सोध्नुभयो —कुन्ती , तिमीलाई हाम्रातर्फका सबै छोराहरुको नाम आउँछ ? मेरा त पाँचओटा मात्र थिए, फररर नाम भन्न त केही गाह्रो भएन र भनेँ युधिष्ठिर भीम, अर्जुन, नकुल र सहदेव । तर मैले पनि दिदीलाई ती १०० भाइको नाम त आउँछ तर सम्झेरमात्र भन्न सक्छु भन्दा दिदी हाँस्नु भयो र व्यंग्यभावमा भन्नुभयो— मलाई त सबैको नाम आउँछ कुन्ती, जसरी तिमीलाई ती पाँचओटाको नाम आउँछ । भन्दिउँ त ? ल सुन । गन नि फेरि फरक पर्ला । मैले पनि भनेँ—पहिले म भनुँ कि तपार्इँले भन्ने ? कताबाट हो, जेठाजु आउनु भयो । भारतका चक्रवर्ती महाराजको रुपमा सिँहासनारुढ धृतराष्ट्र अर्थात् जेठाजु आउँदा सतर्क गराउँदै पहरेदारसँगै पाश्र्ववर्ती पनि थिए । उहाँलाई पाश्र्ववर्तीले सबैकुरा बिस्तारै सविस्तार बताए । अनि हामीलाई जेठाजुले सोध्नुभयो— आज के कुरामा महारानीहरुको छलफल हुँदैछ ? वास्तवमा जेठाजुले मलाई साँच्चै महारानीको रुपमा नै व्यवहार गर्नुहुन्थ्यो किनभने दरबार नै यस्तो औपचारिकताको ठाउँ हो जसले परम्परालाई देखाउन पनि धानेको हुन्छ । जेठाजुभन्दा पहिले भाइ पाण्डु महाराज भएकाले र पछिसम्म पनि पाण्डुको उत्तराधिकार उहाँमा नसरेकाले उहाँको विचारमा म नै महारानी थिएँ र गान्धारी दिदीपछि महारानीको रुपमा स्थापित हुनुभएको जेठाजुको औपचारिक मान्यता थियो । जेठाजु बाहिर र भित्र दुई प्रकारको व्यवहार गर्न पनि सिपालु हुनुुहुन्छ अरु राजा जस्तै । वास्तवमा राजा जे देखिन्छन्, त्यस्ता हुँदैनन् र जे हुन्छन् त्यस्ता देखिँदैनन् । तर पाण्डु महाराज भने जस्ता थिए त्यस्तै देखिनु हुन्थ्यो र पनि कतिकुरा गोप्य नै रहेछन् भन्ने अहिले आएर अनुभूत गर्न थालेकी छु । तर म कसैलाई पनि त्यो कुरामा दोष पनि दिन्न र कुनै गुनासो पनि गर्दिन र केही पनि भन्दिन किनभने आफ्नै छोरा युधिष्ठिरले दाजुको रुपमा कर्णलाई चिनेपछि र कर्णलाई तर्पण दिएपछि मलाई श्राप दियो— हामीले आफ्नै दाजुलाई मा¥यौँ किनभने माताले त्यसको जानकारी पहिले कहिल्यै पनि नदिनु भएकाले । मेरी आमाजस्ती जानिफकार महिलाले त गोप्यता भङ्ग नहोस् भनी नभनेर यस्तो नहुनुपर्ने कुरा भयो भने अबदेखि कुनै पनि महिलाको घाँटीमा कुरा नै नअडियोस् । कुरा नै नअडिएपछि त सबैलाई आज नभए पनि भोलि त थाहा भई हाल्छ । र हाम्रो जस्तो दुर्घटना त्यहाँ नहोस् ।

हुन त धर्मराजको अवतारको रुपमा मेरो कोखमा जन्मिएको छोरा, भारतको चक्रवर्ती महाराज भएको मेरो छोरो युधिष्ठिरले दिएको श्राप पक्कै अबका दिनमा सबै महिलाहरुलाई लाग्ला तर श्राप नै दिए पनि ममा जुन बाध्यता थियो, कुमारी आमाको जुन बाध्यता हुन्छ आफूलाई जोगाएर राख्ने समाजमा । त्यो कटुसत्य तर आफूमात्र नभएर कुलकै बदनाम हुनसक्ने कारणलाई सायद पछिसम्म पनि अरुले पनि व्यक्त गर्न नसक्लान् । बरु अरुलाई त्यस्तो नपर्ला भन्ने सोचौँ । नपरोस् भन्ने सोचौँ ।

मलाई एकदिनको सम्झना आयो जुन दिन केही रमाइलो जस्तो, केही व्यंग्य जस्तो अनि स्मृतिको मापन जस्तो भएको थियो । कुरा खोइ कसरी हो सन्तानका वारेमा चल्यो । मैले कहिले पनि कुनै छोराको वयान गर्ने गरेकी थिइन किनभने सबैले त वयान नै गर्थेँ । हुन पनि मेरा छोराहरु त्यस्तै नै थिए । अनि दिदी आफ्ना छोराहरुको चेतनाको आधारमा जेठो माहिलो र साहिँलो गरी छुट्टयाउँदै भन्न थाल्नु भयो —दुर्योधन वा सुयोधन सबैभन्दा जेठो, अनि दुःशासन, दुस्सह, दुश्शल, जलसन्ध, सम, सह, विन्द, अनुविन्द, दुर्द्धर्ष, सुबाहु, दुष्प्रधर्षण, दुर्मर्षण, दुर्मुख, दुष्कर्ण, कर्ण, विविंशति, विकर्ण, शल, सत्व, सुलोचन, चित्र, उपचित्र, चित्राक्ष, चारुचित्र, शरासन, दुर्मद, दुर्विगाह, विवित्सु, विकटानन, उर्णनाभ, सुनाभ, नन्द, उपनन्द, चित्रबाण, चित्रवर्मा, सुवर्मा, दुर्विमोचन, आयोबाहु, महाबाहु, चित्राङ्ग, चित्रकुण्डल, भीमवेग, भीमबल, बलाकी, बलवद्र्धन, उग्रायुध, सुषेण, कुण्डधार, महोदर, चित्रायुध, निषङ्गी, पाशी, वृन्दारक, दृढवर्मा, दृढक्षत्र, सोमकीर्ति, अनूदर, दृढसन्ध, जरासन्ध, सत्यसन्ध, सदःसुवाक, उग्रश्रवा, उग्रसेन, सेनानी, दुष्पराजय, अपराजित, कुण्डशायी, विशालाक्ष, दुराधर, दृढहस्त, सुहस्त, बातवेग, सुवर्चा, आदित्यकेतु, बह्वाशी, नागदत्त, अग्रयायी, कवची, क्रथन, कुण्डी, उग्र, भीमरथ, वीरबाहु, अलोलुप, अभय, रौद्रकर्मा, दृढरथाश्रय, अनाधृष्य, कुण्डभेदी, विरावी, प्रमथ, प्रमाथी, दीर्घरोमा, दीर्घबाहु, महाबाहु, व्यूढोरस्क, कनकध्वज, कुण्डाशी र वीरजा ।

अनि मैले पनि दिदीलाई भने—युयुत्सुको नाम त भन्नु भएन नि ? अनि दिदीले हाँसो गर्दै भन्नुभयो —तिमीले भन्यौ नि अहिले, भैगयो नि । ऊ मेरै कोखबाट जन्मेको नभए पनि मेरै छोरो हो, राजाको छोरो राजकुमार हो । युधिष्ठिरलाई साह्रै मन पराउँछ । युधिष्ठिरका धेरै बानी व्यवहारको नक्कल गर्छ र झन्डै झन्डै युधिष्ठिरको जस्तै गरी दाजुहरु र महाराजलाई सम्झाउँछ । तर उसको कुरा कसले पो सुन्ने र ? अहिले महाराज र महाराज कुमारहरुका लागि म र युयुत्सु नै बिझाउने कुरा गर्ने जस्ता भएका छौँ । म त युधिष्ठिरको बानीसँग एकदम परिचित छु र कति सभ्य र सुसँस्कृत छ भने नि बहिनी हाम्रो युवराज भनेको ऊ सबैको हो तर कसैको पनि होइन । राजाको विशेषता नै यही हो नि बहिनी । कसले पो मन पराउँदैन र युधिष्ठिरलाई बहिनी, तिम्रो छोरो नै त्यस्तो छ कि आँखामा राखे पनि नबिझाउने । आखिर यो देशको युवराज हो नि त ।

अनि मलाई ती दिनको सम्झना पनि भई रहेको छ जुनबेला महाराज पाण्डु स्वेच्छिक वनवासमा जानुभयो हामी दुवै रानीहरुलाई लिएर । त्यो निर्णय एकदम अपर्झटको थियो र हामीलाई मात्र यत्ति थाहा थियो कि हामी महाराजको आदेश पालना गर्न बाध्य छौँ किनभने हामी उहाँका धर्मपत्नी हौँ । अनि त्यो बेलाको विवाह परम्परा पनि कस्तो थियो भने रानी त स्वतन्त्र हुन्थिन् बच्चा पाउन तर पतिको आदेशमा मात्र । विवाह पनि विभिन्न प्रकारका हुन्थे । फेरि मलाई विवाहको सम्झना आयो अम्बा, अम्विका र अम्बालिकासँगको हाम्रा ससुराको विवाह । (क्रमशः)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework