लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
TVS

नेपाल र नेपालीमाथि भारतीय अत्याचारको यो हद !

सोमबार, ३० फागुन, २०७३ मा प्रकाशित,

नरेन्द्रराज पौडेल - गत बिहीबार सुदुरपश्चिम कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा नेपाल र नेपालीका लागि हदैसम्मको शर्मनाक र दुःखद घटना भयो । घटना विवरण अनुसार सीमावर्ती नेपाली भूभागमा रहेको कार्गिल डाँडामा भारतीय सीमासुरक्षा बलको गोली लागी एक नेपाली युवक दिवंगत भए । दशगजादेखि झण्डै एक किलोमिटर नेपाली भूभागभित्र पसेर भारतीय सीमासुरक्षा बलले गोली चलाएको थियो ।

सो क्षेत्रमा बसोबास गर्दै आएका नेपाली बासिन्दाले आफ्नै भू–भागभित्रको खोलामा कल्भर्ट निर्माण गरेको विषयमा भारतीय सुरक्षकर्मीले निहुँ खोजेर जाइ लागेको व्यहोरा खुल्न आएको छ । दशगजादेखि झण्डै एक किलोमिटर नेपाली भूभागभित्र पसेर भारतीय प्रहरीले गोली नै चलाउनु पर्ने कुनै कारण देखिँदैन । किनभने नेपाली भू–भागभित्र बसोबास गरी आएका नेपाली जनतनाले आफ्नो सुविधा र बालबृद्धको संरक्षणकालागि खोला खोल्साहरुमा पुलपुलेसा जस्ता संरचना बनाउनु भारतीय पक्षकालागि टाउको दुखाइ हुन सक्दैन । त्यति सानो कुरालाई निहुँ बनाएर सार्वभौम सत्ता सम्पन्न छिमेकी मुलुकको सीमाक्षेत्रभित्र पसेर गोली चलाउने र एक होनहार युवकको हत्या गर्ने कायरतापूर्ण कार्यले भारतीय सुरक्षाकर्मी र भारत सरकारको चरम हेपाइ उजागर भएको छ ।

एक त, अर्काको देशभित्र जनताले बनाएका सानातिना संरचनाहरुलाई त्यति सारो वास्ता गर्नु पर्ने कारण पनि देखिँदैन । त्यसमा पनि अन्तर्राष्ट्रिय मान्यता पाएको दुई देशबीचको सीमाक्षेत्रभित्र पसेर सामान्य विरोध गर्दै गरेको निहत्था नेपाली नागरिकमाथि सामरिक प्रयोजनको शक्तिशाली घातक हतियार प्रयोग गर्नु हदैसम्मको निर्मम र हत्यारा प्रवृत्तिको द्योतक हो ।

एक्काइसौं शताब्दीमा आइपुग्दासम्म पनि ब्रिटिश साम्राज्यकालीन दासत्वको मनोवृत्तिले ग्रस्त रहेको भारतीय सुरक्षा प्रशासन आफूभन्दा कमजोरमाथि सदासर्वदा हेप्ने, दबोट्ने र ठाउँ कुठाउँ थिचोमिचो गरिरहने कुत्सित प्रवृत्तिको शिकार बन्दै आएको छ । दिनदहाडै आफ्नो देशका सिपाहीले बोर्डर पारी गएर नागरिकमाथि गोली चलाएर मान्छे मरेको घटना ताजै देख्दा पनि भारत सरकारका स्थानीय प्रशासकहरुले आप्mनो गल्ती स्वीकार नगरी ‘गोली कसले चलायो भन्ने छानविन हुँदैछ’ भनेर पन्छिनु अनुत्तरदायी र हेपाहा प्रवृतिको परकाष्ठा हो ।

कोशी, गण्डक नहर, खुर्दलोटन तथा महली सागर लगायतका उच्च बाँध बनाएर नेपाली भू–भाग डुबाउँदै लाखौं नेपाली जनतालाई बर्षाभरि डुबानमा पार्दै र गाँसबास खोस्दै आएको भारतले पूर्वको पशुपतिनगरदेखि सुस्ता कालापनीसम्मको भूभाग कब्जा गरेर हदैसम्मको आक्रामकपन र दादागिरि देखाएको छ । केहीवर्ष अघिमात्रै भारतीय सीमा सुरक्षाफौजले इलामको पशुपतिनगरको भू–भाग जवर्जस्ती कब्जा गरेर सुरक्षापोष्ट निर्माण गर्दा स्थानीय जनताले बलबुताले भ्याए–सकेसम्म वर्षैभरीजसो विरोध प्रदर्शन र ज्ञापन, अल्टिमेटम दिने काम गरेका थिए । आफ्नै देशको सरकारलाई बारम्बार गुहारेका थिए । तर सरकारले कुनै सुनुवाइ गरेन र चासोसम्म देखाएन ।

मिचिएको भू–भागमा स्थायी चौकी निर्माण गरेर भारतले नेपाली जमिन हडप्ने कामलाई स्थायित्व दियो । आज फेरि नेपालीहरुले आफ्नै भू–भागभित्र सानोतिनो संरचना निर्माण गरेको समेत देखी नसहने जोधाहा प्रवृति देखाएर भारतले अर्को गोमनशैली प्रदर्शन गरेको छ । आधुनिक भाइचारयुक्त विश्व समुदायको अगाडि अत्यन्त्य निकृष्ट हेपाहा र पाशविक प्रवृत्तिको नमुना देखिन्छ भारतीय व्यवहार ।

समानता, स्वाभिमान र मानवताको उच्चतम मूल्यांकन हुँदैगरेको वर्तमान युगमा गृहयुद्धबाट पीडित भएका लाखौं सिरियाली, इराकी, सुडानी अफगान नागरिकहरुलाई शरण दिएर जर्मनी, क्यानडा, फ्रान्स, अष्ट्रेलिया लगायतले मानवताको जगेर्ना गर्ने र संरक्षणसहित विश्व सभ्यतालाई नयाँ आयाम दिने काम गरेका छन् । तर आफ्नै छिमेकी, साना–निम्छरा भाइबन्धुउपर सधैं हेपाहा साँढेको व्यवहार गर्ने भारतीय सरकार कमजोर र सानो नेपलमाथि सधैं हत्या, आतंक र आपसी फूट सिर्जना गरेर दुःख दिनमात्रै लागिपरेको छ ।

इतिहासको लामो कालखण्डसम्म ब्रिटिश दासत्वमा बिताएको भारतीय संस्थापन पक्षले स्वतन्त्रताकालदेखि नै नेपालप्रति विस्तारवादी पासा फ्याँक्दै आएको थियो । उसै बखतदेखि खासगरी कोशी, गण्डकी, बाग्मती नदीका सीमाक्षेत्रका उच्च बाँधहरुबाट नेपाली भूभाग डुबाउने र दशगजाक्षेत्रको परम्परागत पिलर र बाउन्ड्री नाघेर नेपाली भू–भाग अतिक्रमण गर्नेजस्ता अनगिन्ती ज्यादतीहरु प्रतिदिन बढ्दै आएका छन् । नेपाली साँधभित्र पसेर सुस्ता, कालापानीको भू–भागभित्र भारतीय सुरक्षा फौजले अफिस, व्यारेक निर्माण गरेर हालीमूहाली गर्दै आएकोमा नेपाली जनताले लामो समयदेखि नारा जुलुससहित विरोध गरेका र सरकारलाई बारम्बार घच्घच्याउदा पनि कुनै सुनुवाइ भएन । सरकार मरेको लाश झै सुतिरह्यो । विस्तारवादी अपराधीहरुले गोमन साँपका फँडा पैmलाएर पवित्र नेपाली भूभागमाथि कब्जा जमाएर र पाहार तापिरहेका छन् ।

भारतीय सुरक्षाकर्मीको निरन्तरको अर्घेलो, हेपाइ र ज्यादती सहँदैआएका बोर्डर क्षेत्रका नेपाली जनताकालागि भारतले भाइभाइ भन्दै अघोषित शत्रुराष्ट्रको व्यवहार गरिरहेको छ । उसको कुटिल चाल र जालझेल नबुझेर या बुझ पचाएर नेपाली नेताहरु भारतलाई नै मालिक बनाइरहेका छन् । आफ्नो देशको किङ्ग मेकर मानेर उसैको पाउमा निर्लज्ज एवं घृणित चालले लम्पसार पर्न पुगेका छन् ।

विशेषगरी वर्तमान भाजपाको मोदी सरकार सत्तामा आएपछि छिमेकी नेपालप्रति हेपाहा र विस्तारवादी नांगो व्यवहार असह्य रुपमा बढ्दै आएको छ । उनी प्रधानमन्त्री भएलगत्तै नेपाल आउँदा नेपाली जनताले भव्य स्वागत गरेका थिए । उनले पनि सबै खालका राजनीतिक पार्टी नेता र सर्वसाधारण नागरिकसँग बाटो बाटोमासमेत हात मिलाउँदै आफ्नो व्यक्तिगत भाइचारा, स्नेह र न्यानोपन प्रदर्शन गरेका थिए । तर त्यो कपटी स्यालको कथाजस्तै रहेछ । उनको भ्रमणलगत्तै गएको महाभूकम्पपछि तिनै मोदीले राहतको नाउमा सडेगलेका बिग्रेका लत्ता कपडा र अखाद्य सामाग्रीहरु पठाएर भूकम्प पीडित नेपालीहरुको हदैसम्म अपमान गरेका थिए । त्यतिमात्र होइन, उद्धार र राहतकालागि आएका भारतीय सैनिक टुकडी समेत फिर्ता जान अनकनाएपछि नेपाल सरकारले ताकेता गरेर घोक्रेठ्याक लगाउनु परेको घटना ताजै छ । त्यसपछिका दिनहरु भारतीय पक्षको झनझन हेपाहा व्यवहारले सकसपूर्ण रहँदै गए ।

झन्डै दशकभर लगाएर नेपाली जनताले निर्माण गरेको नयाँ संविधान घोषणा गर्न समेत नदिने मोदी सरकारको क्षुद्रतापूर्ण र परपीडनवादी दृष्टिकोण घटनाक्रमले उजागर बन्दै गएको थियो । त्यसकालागि उनले विशेष दूत नै पठाएर संविधान घोषणाको काम रोक्न भरमग्दूर प्रयास गरेका थिए । घोषित संविधानमाथि विमतिका बखेडा खडा गरेर भाँडभैलो मच्चाउँदै संविधान असफल पार्ने प्रयत्न गर्दै रहे । त्यसका लागि पीएम मोदीले दूत पठाएर यसोउसो गर्नु भन्ने उपदेशमात्र दिएनन्, केही मधेशी दलहरुलाई जातीय र भौगोलिक आधारमा उकासेर संविधान लागू गर्नै नदिने गरी अवरोधसमेत खडा गरे । तैपनि सुशील कोइराला सरकारको आँट र विपक्षी पार्टीहरुकोसमेत दृढ अठोटले संविधान घोषणा हुन सकेको थियो ।

तर घोषणा नहुँदै नयाँ संविधानको विरोध भयो, जलाउने कामसम्म गरियो । त्यतिले पनि नपुगेर भारतले नेपालमाथि नाकाबन्दीजस्तो अमनवीय, अत्याचार पूर्ण हथकण्डासमेत अपनाएको थियो । अन्तर्राष्ट्रिय ऐन, कानून तथा नेपालीहरुको पछि नहट्ने प्रवल अठोट र अदम्य साहसको कारण तीन महिनापछि भारत आफैं नाकाबन्दी हटाउन बाध्य भएको थियो । अझैसम्म पनि मोदी सरकारले केही मधेशी दलको हतियार उठाएर संविधान लागू हुन नदिने बखेडा गर्दै आएको छ । बेला बखत सीमाक्षेत्रको वारि आएर नेपाली जनताको घरदैलोमा रातसाँझ अमार्यादित व्यवहार गर्ने, उनीहरुको जीविका निर्वाहमा बाधा पार्ने, निर्माण कार्य गर्न नदिनेजस्ता प्रत्यक्ष हस्तक्षेपका कार्य गर्दै आएको छ । आफ्नोे देश र सीमा क्षेत्रभित्रका जनतामाथि दमन अत्याचार र दिनदहाडै हत्यासम्म हुँदापनि नेपाली सुरक्षाकर्मीहरु ठाउँमा देखा परेनन् । स्थानीय पुलिस प्रशासनले समयमै सक्रिय भएर रोकथाम तथा आवश्यकताअनुसार प्रतिकार गर्न नसक्नु राष्ट्रिय अस्मितामाथिको खेलबाड र कर्तव्य पथबाट विचलनको पराकाष्ठा हो । सीमा उल्लंघन गर्दै नेपलभित्र प्रवेश गर्ने र गोली चलाउने हत्यारालाई ठाउँकोठाउँ गिरफ्तार गरेर कानूनी कार्वाही चलाउनु पर्ने प्रहरी प्रशासनको कर्तव्य होइन र ?

भारतका प्रधानमन्त्रीले पनि मृतकप्रति समवेदनाको एक शब्द नबोली समवेदनहीनताको नग्न स्वरुप देखाए । उल्टो उनका कारिन्दाले नेपालका प्रधानमन्त्री समक्ष टेलिफोनमार्फत छानविनको बहना बनाउँदै त्यो आततायी घटनाको अवमूल्यन गरे । यसबाट स्पष्ट हुन्छ, भारतले यस घटनामा पनि नेपालको अस्मितामाथि अझै बढी अमर्यादित र हेपाहा प्रवृत्ति देखाएको छ । जुन हदैसम्म निन्दनीय र भर्त्सनायोग्य व्यवहार भन्नुपर्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework