लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

‘धरा’भित्र राष्ट्र र राष्ट्रियताको खोजी

आइतबार, २४ बैशाख, २०७४ मा प्रकाशित, 4404 पटक हेरिएको

–माधव लामिछाने : नेपाली साहित्यले ०७४ सालको सुरुमै एउटा गहन महाकाव्य पाएको छ । डा. नवराज लम्सालद्वारा रचित ‘धरा’ महाकाव्य पाठकहरूको बीचमा हालसालै आएको हो । यसभन्दा अघि पाँचवटा कृति रचिसकेका लम्सालको यो छैटौँ कृति हो । महाकाव्यको रूपमा भने यो उनको दोस्रो कृति हो ।

‘धरा’ पृथ्वीको अर्को नाम हो । हामी सबै पृथ्वीवासी हौँ । विश्वका सबै देशहरू पृथ्वीभित्रै छन् । अनि यिनै देशहरूको सूचीमा हाम्रो नेपाल पनि पर्दछ । हामीले देशलाई आमा पनि भन्दछौँ । पृथ्वी आमाकै काखमा सबै प्राणीको जीवन चलिरहेको हुन्छ । पृथ्वीको देशरूपी विभिन्न अंशमा हामी बस्छौँ । यसरी बस्ने हरेकले आफ्नो खण्डलाई बुझ्नुपर्छ । हरेकपल माया गर्नुपर्छ । धराभित्र उनले नेपाललाई माया गर्नुपर्छ भनेर सिकाएका छन्:–

‘आजै लेखूँ मधुर कविता देश जोडूँ म आज
आफैँ टेकी दिलमय धरा डोब छोडूँ म आज ।
माया बस्ने हृदय नखुली खुल्छ कस्को मुहार
धुस्रा फुस्रा कहर ननिका भार तोडूँ म आज । (पृ.३७)

महाकाव्यभित्र प्रवेश गर्दा हामीले राष्ट्रको कुरा सुन्छौँ । वास्तवमा राष्ट्र भनेको के हो ? हरेक नागरिकले बुझ्नुपर्छ भन्ने कुराको उठान धरामा गरिएको छ । राष्ट्र केवल माटाको थुप्रोमात्र होइन । त्यहाँभित्र बस्ने जनता राष्ट्रका अंश हुन् । राष्ट्रमा बस्ने हरेक वर्ग राष्ट्र हुन् । तिनीहरूले अवलम्वन गरेको संस्कृति पनि राष्ट्रकै अंश हो । निश्चित भूगोलभित्रको हावापानी, वनस्पति, भाषा, साहित्य, अन्नअनाज, रहनसहन, खानपान सबै राष्ट्र हो । महाकाव्यकार लम्सालले धरामा राष्ट्रप्रति जगाउनु पर्ने भावनाको कुरा उठाएका छन् ।

‘धरा’ महाकाव्यभित्र एउटा विशद विषयको प्रवाह छ । यति हुँदाहुदै पनि यसले महाकाव्यको परम्परागत पर्खालभित्र आफूलाई सीमित राखेको छैन । महाकाव्यकारले आफ्नै मन्तव्यमा यसको स्वीकार गरेका छन्– ‘...नायकको एकल केन्द्रीयता वा परम्परागत कुलीनताको ख्याल गरिनँ । धीरोदात्त नायकको परिभाषा खोज्न लागिनँ । विषय आफैँमा नायक र कथ्यप्रवाह आफैँमा शैली बनेर काव्य बगोस् भन्ने पनि लाग्यो । गौडी, पाञ्चाली र वैदर्भी रीति, ओज माधुर्य र प्रासाद गुण तथा श्रृंगाार, हास्य र करुणआदि नवरस शब्द र अर्थसँग खुल्ने विविध अलङ्कारहरू किन, कहाँ र कसरी मिलाउने भन्ने जोडघटाउ पक्कै गरिनँ ।’

‘धरा’ महाकाव्य पढिरहँदा नेपालको वैविध्यपूर्ण विशेषताको राम्रो झलक पाइन्छ । यहाँ नेपालको माटो चिनाइएको छ । जातजाति चिनाइएको छ । संस्कार र संस्कृति झल्काइएको छ । केवल इतिहास र शासकका कुरामात्र छैन । तराई छ, पहाड छ र हिमाल छ । त्यहाँको वातावरणको सुस्पष्ट चित्र छ । जनजातिको बासस्थानको राम्रो वर्णन छ । माटोको सुवासको कुरा छ । त्यति राम्रो भूगोल र त्यसभित्र हुर्किरहेका विविध खाले खजानालाई चिन्न नखोजेर हामी मृगमरिचिकाभै अन्तको ककनी झोक्कामा रहलिन पुग्छौँ, त्यो हाम्रो ठूलो गल्ती हो भनेर कविले राष्ट्रवासीहरूलाई सम्झाएका छन् ।

धरा महाकाव्यले व्यक्ति र राष्ट्र भनेका नङ र मासुको सम्बन्धमा रहेका छन् भन्ने देखाएको छ । न माटो विना व्यक्तिको धरातल रहन्छ, न व्यक्ति विना माटोको अर्थ । त्यसैले माटोभित्र समेटिएको मान्छेको समूह र तिनको जनजीवनसँग गाँसिएका जीवनका विभिन्न पाटाहरूलाई धराले राम्ररी अगाडि ल्याएको छ । वास्तवमा आजको नेपालमा राष्ट्रियताको कुरा उठिरहँदा विविध खाले धारणाहरू आइरहेका बेला तराई, पहाड र हिमालको समुच्च चिनाइ र बुझाइ नै दरो राष्ट्रियता हुने कुरालाई दृढतापूर्वक प्रस्तुत गरिएको छ । कविको भनाइमा देश र जनताको सम्बन्ध बाँसुरी र धुनको जस्तो हुन्छ । कला र रङको जस्तो हुन्छ ।

काव्य, कविता र कविको अन्तरसंवादभित्र धराको फेरो घुमेको छ । गद्य र पद्य दुबै शैलीमा बगेको धराकामा मन्दाक्रान्ता, शार्दूलविक्रीडित, उपजाति, वसन्ततिलका, झ्याउरे (मुनामदन), स्रग्धरा, अनुष्टुप शास्त्रीय छन्दको सुललित प्रवाह छ । बिम्ब र प्रतीकको प्रयोगमा महाकाव्यकारले राम्रो मिहिनेत गरेका छन् । विशेष गरेर काठमाडौँ खाल्डामा नेपालको समग्र भविष्यको खाका बन्ने गर्छ । यसरी खाका बनाउनेहरूले दूरदराजको नेपाल र त्यहाँका नेपालीको आत्मा छामेर कार्यक्रम ल्याउन नसकेको प्रति कविमा अलि विद्रोहको ज्वाला दन्केको छ । नारा र भाषणमा मात्र राष्ट्रियता खोज्नेहरूप्रति कविले खवरदारीको औँला उठाएका छन्–

‘मन्दिर ढलाएर सप्ताह लगाउँछ सहर – पैसा बटुल्न,
मान्छे मारेर गाई दान गर्छ – वैतरणी तर्न,
छोरी बेचेर कन्यादान गर्छ अरू कसैको – स्वर्ग जान ।
तुलसी उखेलेर सिस्नो रोप्छ ,
र सिस्नोकै पानी अचाएर चोखिन्छ ढोंगीहरूको कर्मकाण्ड ।.....(पृ.२३६)

नेपालमा शासनको अभिभारा लिएर बस्नेहरूले देशको परिभाषानै नबुझेर हो कि नचाहेर हो देश सधैँ छायामा छ । त्यसैले होला कवि लम्सालले नेपालका वर्तमानदेखि भूतपूर्व गरेर जम्मा पाँच जना प्रधानमन्त्रीहरूलाई ‘धरा’ पढाएर घुमाउरो पाराले देश बुझ्न लगाएका छन् । त्यसरी पढेपछि सबैले देशलाई नयाँ ढङ्गले बुझेको कुरा आफ्नो मन्तव्यमा राखेका छन् । अनेकथरी संस्कार र संस्कारलाई अवलम्वन गर्ने जातजाति बीचको एकता र एकले अर्को संस्कृतिप्रति गर्ने सम्मानले राष्ट्र बलियो बन्ने छ भन्ने बिचार ‘धरा’मा दिइएको छ ।

नेपाल देशलाई राम्ररी चिन्न चाहनेहरूले धरा पढेपछि यसको धेरै कुराहरू थाहा पाउन सक्छन् । विद्यालय र विश्वविद्यालयमा पढाइहुने राष्ट्रियताको पाठले नागरिकहरूलाई देश बुझ्न सघाएको छैन भन्ने ठहर कविले गरेका छन् । राष्ट्रकवि माधव घिमिरेले धरालाई काव्यको नेपाल र नेपालको काव्य हो भनी उच्च महत्व दिनुभएको छ ।

भूमिका र मन्तव्यसहित चार सय अठतीस पृष्टमा समेटिएको धरा महाकाव्य सबै खाले पाठकका लागि उत्तिकै रुचिपूर्ण छ । यस महाकाव्यलाई एउटा स्कुले बच्चादेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले आआफ्नो रुचिअनुसार पढेर त्यहीअनुसारको खजाना पाउन सक्ने देखिन्छ ।

यो महाकाव्य नेपनलका हरेक मान्छेले पढ्नु पर्ने गहन महाकाव्य हो भन्दा फरक पर्दैन । आकर्षक आवरण, गुणस्तरीय कागजले यसको बान्कीलाई सुन्दर पारेको देखिन्छ । पदयोग पदवियोग,सामान्य ह्रस्वदीर्घ, ब र वको प्रयोगजस्ता केही साना त्रुटिबाहेक खासै अरू भाषिक कमजोरी यसमा देखिँदैन ।

विभिन्न छब्बीस वटा शीर्षकमा विभक्त यस महाकाव्यलाई ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको छ । पुस्तकको मोटाइअनुसार रुपैयाँ पाँच सय खासै धेरै मूल्य पनि होइन ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.