लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

बलात्कार गरेर बुद्ध जन्माउने तिम्रो प्रजातन्त्र भो चाहिएन्

शनिबार, १६ बैशाख, २०७४ मा प्रकाशित, 15947 पटक हेरिएको

'मनी, मसल्स र माफिया’ हावी भएको राजनीतिले देश आक्रान्त छ । आदर्श स्खलित भएको चरित्रको क्षय र इमान्दारिता ह्रासोन्मुख आजको राजनीति अनि यसको संस्कारको जल्दोबल्दो परिचय हो यो । इमान, जमान ,वाचा बन्धन र बाचा गरुन्जेलको लागि मात्र भएको छ । इमान र नैतिकताको धरातल क्षणभरमा धराशायी हुन्छ । विश्वास र भरोसा कतिबेला टुट्छ थाहा हुन्न । भाइ, भाइमा सवैभन्दा ठूलो संशय र आशंका को खाडल छ । देशलाई स्थानीय चुनाव लागेको छ ।

-संजिव कार्की

सिंहदरबारको ७० प्रतिशत अधिकार गाउँमा पुग्दैछ । गाउँ,शहर र नगर अधिकार सम्पन्न बन्दैछन् । सबै अधिकार आफ्नो मुठीमा राखेर बसेको सिंहदरबार पहिलो पल्ट मुठी खुकुलो पार्न लागेको छ । सिंहदरबारको मुठी खोसेर लगेको अधिकार गाउँमा कसरी बाडिन्छ ? त्यो हेर्ने समय नजिकिँदै छ । अधिकार गाउँमा आएको खुशियालीमा जनता आफ्नो स्थानीय प्रतिनिधि चुन्न आतुर र पुलकित छन । जनताको हौसला एकातिर बुलन्द छ भने पार्टीहरु आफ्ना उमेद्द्वार घोषणाको प्रसव पीडामा छन । पार्टीहरुको पीडा र बेदना हेर्दा लाग्छ यति धेरै पीडा र दर्द सकस र कष्ट शायदै हिजो भयो न भोलि होला ? यो सकस, तनाव र दुःख, दुःखहरु मध्येकै ठुलो र सकसपूर्ण र कतिपय सवालमा ज्यान नै जोखिममा पर्ने खालको छ । कतिको ज्यान नै जोखिममा परिसक्यो भने कति अझै गम्भीर अवस्थामा छन । कतिको ज्यान नै तल माथि भैसकेको खबरहरु धमाधम आइरहेको छ । आउने क्रम बढ्दो छ । घट्नेवाला र कम हुनेवाला छैन ।

यहाँ ज्यान तल माथि भन्नाले पार्टीको आन्तरिक जीवनमा आएको क्षति र कमीकमजोरी भनेर बुझ्नु पर्ने हुन्छ । करिव २० बर्ष पछि हुन् लागेको स्थानीय चुनाव र संघियता कार्यन्वयनको प्रथम अवसरमा देश हलचलमय हुनु अस्वाभाविक पनि होइन । तर देश आधा मात्र स्थानीय चुनावको तयारीमा ब्याकुल छ भने आधा देश राजनैतिक छिनझपटी र मोलतोल, जोड, घटाउमै अल्झिएको छ । बल्छी र छक्का पन्जामा नै अल्मलिएको छ ।

देशको आधा भू-भाग चुनावी माहौलमा होमिएको छ आधा भू-भाग अन्योलग्रस्त छ । आधा देश सधै दुख्ने, आधा देश अर्ध हाँसो हास्ने किन ? सिंगै देश एकैपटक हाँस्ने कहिले ? बर्षौ भयो देश आधा रुन्चे हाँसोमा परेको । एउटा गालामा आँशु अनि अर्को गालामा लाल लाल शुष्क हाँसो कतिन्जेल ? यो सुहाउने कुरा होइन भएन पक्कै पनि । अर्ध बेहोसी र अर्ध मदहोसीबाट देश तंग्रिनु पर्यो अब ।

स्थानीयताको असली अभ्यास र प्रयोगात्मक घडिमा देश आकुल ब्याकुल छ । संघियता कार्यन्वयन गर्न पार्टीहरु आफ्ना प्रतिनिधि छान्ने र जिताउने अजब गजब रणनीति तय गर्दै गरेको देखिन्छ । २० बर्षको अबधिसम्म चुनाव नभएकोले पार्टीहरुमा आकांक्षा पालेर बस्ने धेरै नेता र कार्यकर्ता छन् । तिनको समुचित ब्यबस्थापन गर्न पार्टीहरुले थुप्रै पापड बेल्नुपर्ने छ । चुनौतिको ठुलै पहाड चढ्नु छ, झर्नु छ । पार्टी कार्यकर्ता नेता सवैमा यति ठुलो अहम र अहंकार देखिएको छ कि कोहि भन्दा कोहि आफुलाई कम आंक्दैन । सवैलाई ‘म सिनियर हुँ’ ‘पार्टीको लागि मैले यति खटेको छु, यति पसिना बगाएको छु यति खुन खरावी गरेको छु’ भन्ने गर्व र मपाइत्व छ ।

पार्टीमा साना कोहि छैनन् । सबै ठुला छन् । सबैको लगानी ठुलो छ । कतिले मनीको लगानी गरेका छन् । कतिले माइन्डको लगानी गरेका छन् । अहिले सबै पार्टीमा आफूले पार्टीलाई दिएको देख्ने तर पार्टीबाट पाएको नदेख्ने रोग पलाएको छ । अवसर लुटेको नदेख्ने तर आफ्नो लगानी मात्र बढी देख्ने रोगको एजेरु सवै पार्टीको लागि क्यान्सर बनेर फैलेको छ । त्यस्तै देखिन्छ ।

समय र तौर तरिका पुर्याएर यसको सहि औषधिउपचार गर्न सकेनन भने पार्टीहरु तहसनहस हुनेछन । पार्टीहरु तहसनहस हुनु भनेको, पार्टीगत अनुशासन बिग्रनु, भत्कनु भनेको देशकै हालत खराब हुनु हो । दलीय ब्यवस्थामा पार्टीहरुको कमजोरी भनेको देशको घाटा र अप्ठ्यारो हो । पार्टीहरु किन आफ्नो आफ्नो सहि ब्यवस्थापन गर्न सकिरहेका छैनन् त ? यो प्रश्नको जबाफ गम्भीर भएर खोज्नु र पत्ता लगाउनु अहिलेको पहिलो आवश्कता हो । अनुशासन र संस्कार भन्ने कुरा जुनसुकै परिपाटी र संरचना र संस्थामा पनि महत्वपूर्ण कुरा हो कुनै पनि संरचनालाई जीवन्त गतिशील र मजबूत राख्ने भनेकै त्यसको प्रक्रिया र पद्दति हो ।

स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको नाममा जथाभावी प्रयोग गरिने र हुने अनुशासन हिनता र छाडातन्त्र नै पार्टी र त्यसको संरचनामा जरो गाढेर बसेको सवैभन्दा ठुलो नालायकी हो । अनुशासन हिनता सवैभन्दा ठुलो दुर्भाग्य र विसंगत लय हो जसलाई सबै पार्टीका ठुला नेता देखि कार्यकर्तासम्मले ‘लाटाको धोति’ सम्झेका छन् । ‘मनि र मसल्स’ भएको जो सुकै भए पनि पार्टीले आफ्नो बनाउने, पार्टीमा भित्र्याउने अनि पार्टीको नेता बनाउने जुन गलत संस्कार र चलन चलाए त्यहीबेला देखि पार्टीहरुमा अनुशासन एकादेशको कथा र किम्बदन्ती मात्र बन्न गयो ।

आज टिकट लिन तिनै मान्छे र दलबलको पार्टीहरुमा भिड लागेको छ । इमान्दार र नैतिकवान तर पैसाको बिटो दिन नसक्ने पार्टीका नेता र कार्यकर्ता पाखामा झोक्राएर, रोगाएर बसेका छन । नाती नातिना पुस्ताले देश चलाउन पर्नेमा अझै बा र हजुर बा पुस्ता आफ्नो विगत र त्याग भजाएर टिकटको लाइनमा कुप्री परेर बसेका छन् । गणेश भक्तिको शैलीमा परिक्रमा गर्दैछन पार्टीका प्रभुहरुको । टिकेट पैसाको बिटो र मसल्सको मोटाइमा साटिएको छ । टिकेट लिन र दिन पद्दति विकास गर्नु पर्ने हो, प्रक्रिया र पद्दति अबलम्बन गरेपछि त्यसको नतिजालाई सवैले स्वीकार्नुपर्छ । त्यो हो अनुशासन र प्रक्रिया सम्मत पद्दति । तर यहाँ आन्तरिक प्रतिस्पर्धामा पराजित भए पनि आफूले भने झैँ हुनुपर्ने नत्र ठिक नहुने चेतावनी ठूला र महान नेताहरुबाट नै आउँछ अनि कसले मानोस प्रक्रिया र पद्दति । प्रक्रिया र पद्दति स्वतन्त्रताको नाममा छाडा र मैमत्त हुनु हुन्नथ्यो जसले पार्टीको आन्तरिक जीवन खल्बल्याउने गरोस । हाम्रो चुकाइ यहि हो पद्दति नमान्ने जोकोही भए पनि दण्डित गर्ने मेसो हुनुपर्थ्यो तर गुटको नाममा हुल र समूहको नाममा अझ आधुनिक राजनैतिक भाषामा विचार समूहको मान्छे भनेर संरक्षण र प्रश्रय दिने गरियो । गल्ति यहिबाट प्रारम्भ भयो । यसलाई सच्याउने हिम्मत र आँट गर्नुपर्छ । जसको लागि क्षणिक नोक्सानी र हानी हुन्छ नै तर भोली सफेद र उज्यालो हुन् सहयोगी हुन्छ ।

मैले बलात्कार गरेको त हो तर बलात्कार गर्नुमा मेरो गलत मनशाय थिएन गौतमबुद्द ,गान्धी, माओ र क्लिन्टन जन्माउनको लागि भनेर स्पष्टीकरण दिनेहरु पार्टीका असल नेता र कार्यकर्ता बनेका छन । बलात्कार गरेर गान्धी जन्माउने परिपाटीको पक्षमा हाम्रा पार्टी र नेताहरु छन । छल, बल र धनको अगाडि निष्ठा, त्याग र समर्पण ओझेल परेको छ । पारिएको छ । जनताको विश्वास भन्दा समाजमा कालो धन बाहुबली ज्यान र माफिया तस्करका फ्यान छन् नेताहरु । टाउको गन्ने राजनीति हावी छ, विवेक छैन र भएको अलिकति कहिँ कतै देखिएको विवेकमा पनि खिया लागेको छ । आदर्श मक्किएको छ । पारदर्शिता कपडामा छ ब्यबहारमा छैन । निर्णायक बनेर बसेकाहरु प्रतियोगीलाई हिस्स पारेर आफूलाई, आफैं विजयी घोषित गरेर बसेका छन् । लाजसरम भन्ने चिज बाकि छैन । न्याय अदालतमा नै आत्महत्या गरेर बसेको छ । न्यायधिसहरुको सर्टिफिकेट शिक्षालयहरुमा सुरक्षित छैन् । देश र जनताको रक्षार्थ खडा हुने पुलिसहरु एक आपसमा आधा रातमा , सुतेकै ठाउँमा फूली चोराचोर र खोसाखोस गरेर बसेका छन । अपराधी फूलको माला लगाएर सार्वजनिक रुपमा हिड्छन तर बर्दिधारी पुलिस अफिसर हत्कडीमा सजिन्छ आफ्नै संगठनबाट । शोध प्रतिशोध मौलाएको छ । बुद्धी र बर्गत बौलाएको छ । बल र छलको आधारमा राज्य संचालन हुन्छ । बिधि र बिधान दर्ता गर्न र बनाउनको लागि मात्र हो पालन गर्न होइन भनेर बुझिन्छ । संस्कार असल जति कथामा सिमित भएका छन । कुसंस्कार र कुरीति मात्र देशको नयाँ परिचय र चिनारी बनेर बसेको छ । लथालिङ्ग र भताभुङ्ग छ देश जताततै ।

यहिबेला स्थानीयवासीले आफ्ना प्रतिनिधि छान्ने समय र दिन नजिक नजिक आएको देखेका छन् । तर धेरै ठाउँमा भोट दिनुपर्ने उम्मेदवार र नेताहरु देखिएका छैनन् । भरोसा गर्ने र आशालाग्दा अनुहार छैनन् । भिजन र कार्यक्रम छैन् । घोषित उम्मेदवारहरुमा भनेर गुनासो छ जनताको । काठमाडौँमा रन्जु दर्सनाले ल्याएको आशाको संचार अन्यत्र अझसम्म देख्न सकिएको छैन । अझै दिन बितेको छैन पार्टीहरुले हाम्रो र आफ्नो मान्छे नभनी जनताको लागि राम्रो मान्छे खोज्लान अहिलेनै निराश न भैहाल्ने हो कि ? देश संघियताको प्राक्टिसमा छ । यतिबेलाको नेतृत्व भोलि देख्न सक्ने ‘भिजनरी’ हुनुपर्छ । अहिले नयाँ थिति, रिति र संस्कार बसाल्ने समय हो । अनुसाशन र पारदर्शीता कायम गरेर एउटा असल सिस्टम बनाएर जानुपर्ने समय । यतिबेला सवै पार्टीहरु घोषणा पत्र जारि गर्ने र को भन्दा को प्रगतिशील देखिने होडमा छन् । सबै पार्टीको घोषणा पत्र पढ्दा भोट सवैलाई दिन पाए हुन्थ्यो जस्तो कार्यक्रम र प्रतिबद्धता अनि सपनाहरु छन् । मिठा मिठा र हेरी रहू, पढिरहु जस्ता संकल्प र उदघोषहरु छन ।

‘एक घर, एक रोजगार’ हरेक पार्टीको घोषणापत्रमा समेटिएको छ । चन्द्रमामा बस्ती बसाउने र मंगलग्रहमा ढुंगामाटो गिट्टीबालुवा निर्यात गर्नेसम्मका आकाशे र बतासे प्रतिबद्धता देख्न पाइन्छ । तर बिगत ३ दशकमा यो चैं राम्रो काम भयो भनेर भन्दा एक हातको औंला भाँच्न पनि नपुग्ने न्यून उपलाब्धिमात्र छन् । पार्टीहरुका उम्मेदवारी हेर्दा लाग्छ यिनको मुखै कहिल्यै हेर्न नपरे हुन्थ्यो झैँ । हिजो पद र पावरमा हुँदा कागजातमा पुल पुलेसा बने, नहर र पोखरी बने तर सम्बन्धित ठाउँमा नहुने बिकासे नमूना दिनेहरु पुनः आज पनि उम्मेदवार बनेर आइरहेका छन् । त्यो पनि पूराना र बुढा पार्टीहरुक बाट । यो नितान्त गलत र लोकतान्त्रिक पद्दतिको खिल्ली हो । उपहास हो । समग्र लोकतान्त्रिक उपलब्धि र प्राप्तिको बिल्लीबाठ हो ।

पैसा भए पछि हुने, आफ्नो मान्छे भए पछि हुने यो कस्तो संस्कार र रोग हो ? कहिल्यै भोट हाल्न नपाएको एउटा उर्जाशील तन्नेरी पुस्ता छ, जो भोट खसाल्न आतुर त छ, तर उसलाई आकर्षण गर्ने उसको उमेर समूहको पुस्ता चुनावी मैदानमा अति न्यून छ । जसको मूल्य पनि यो चुनावमा पार्टीहरुले चुकाउनुपर्ने हुन्छ । मतदाताहरुले यस पटक आफ्नो विवेकको मत प्रयोग गर्ने हुन् या फ्रसटेसन् ? त्यो ब्यालेट बक्समा खस्ने दिन धेरै छैन । के कुरा स्पष्ट हुनु जरुरी छ भने आफ्नो माटो आफू जन्मेको ठाउँलाई माया नगर्ने मान्छेले देशलाई र अरु कसैलाई माया गर्छ भनेर सोच्नु बेकार छ । माटोलाई माया गर्ने, दुःख सुखमा साथ् दिने विवेकी मान्छे रोजौं । खराबहरु मध्येको कम खराब र युवा उमेर समूहको इनेर्जेटिक, भिजनरी, समर्पण र लगाव भएको साच्चैं मन देखि नै माटोको माया गर्नेलाई चुनौं । रगत बगाउने हैन अब पसिना बगाउने स्थानीय प्रतिनिधि रोजौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नियति नदोहोरियोस यसपटक ।

 

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.