लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राष्ट्रपतिको सम्मान र मर्यादा गरौं, चाकडी हैन 

सोमबार, ४ बैशाख, २०७४ मा प्रकाशित,

सम्भवतः सेरोमोनियल राष्ट्रपतिबाट राजकीय सत्ता समाल्ने राष्ट्रपति र कार्याकारी प्रधानमन्त्रीले झैँ गल्ति गरिन्न र गरिनुहुन्न भनि राजनीतिशास्त्रीहरुको मत रहेको हुन्छ, देखिन्छ ।

-संजिव कार्की

विश्वभरको प्राक्टिस पनि यस्तै पाइएको छ । कम बिवादित र कम जस अपयस खप्ने पद हो सेरोमोनियल या आलंकारिक पद । सेरोमोनियल हुनु प्रतिष्ठा र मर्यादा हो जस अपयसको भारी बोक्ने, आलोचना, निन्दा खप्ने अनि राष्ट्रको लागि प्रतिष्ठा बाजी राखेर काम गर्ने भूमिका होइन । राष्ट्रको लागि असल थिति बसाल्ने, असल परम्परा र नवीन संस्कृति र समयानुकुल कार्य सम्पादन, सबैको अभिभावक सबैको साझा संस्था । सार्वजनिक हित र महत्वलाई सर्वोपरी ठान्ने । देशको गरिमा प्रतिष्ठा र इज्जतलाई आफू र आफ्ना भन्दा माथि सम्झने । शिरमा देश र जनतालाई राख्ने । देशको गरिमा र प्राणप्रतिष्ठा नै सर्वेसर्वा हुने कुनै बाद, सिद्दान्त भन्दा पृथक र फरक रास्ट्र , राष्ट्रियता देश र जनता, मनावताबाद नै आफ्नो अजस्र प्रेरणा शक्ति अनि मर्यादाको मूल श्रोत र सामर्थ्य भनेर बुझ्ने व्यक्ति नै राष्ट्रप्रमुख र देशको बिशिस्ट व्यक्ति हुन् र बन्न सुहाउँछ ।

हिजो कहाँ थिए ? को थिए ? कुन पृष्ठभुमि, कुन सिद्दान्त र बादमा थिए त्यो महत्वपूर्ण कुरा होइन । हिजोको आवद्धता संलग्नता र सक्रियता केवल मिठो स्मृति हुनुपर्छ । विगतबाट प्रभावित, भावित र कुण्ठित हुनुहुदैन । राष्ट्रको उच्च ओहोदा र पद धारण गरेपछि आफ्नो घेरा पनि फराकिलो बिस्तृत र बिस्तारित बनाउनुपर्छ । समग्र सोच, शैली, ब्यबहार र कार्यभार देशको लागि हुनुपर्छ केवल देशको लागि । जन्मदै ठुलो मान्छे बन्ने कुनै कुल र खान्दानको जन्मको आधारमा ठुलो बन्ने र हुने विगतको राजतन्त्रतात्मक व्यवस्था फालेर कर्मको आधारमा, क्रियाशीलताको आधारमा क्षमता र दक्षता अनि लगन र लगावको आधारमा पद प्रतिष्ठा र अवसर पाउने, लिने र खोज्ने जमाना हो ।

बदलिदो परिस्थि मनस्थिति र उपस्थिति आजको समय हो , समयको प्रवाह हो । कर्म दिल र दिमागले असल ‘ठुलो’ मान्छे बन्ने समय हो । शिखरमा पुग्न जति अप्ठ्यारो छ शिखरमा नै टिकिरहर्न मान सम्मान र आदरका साथ बसिरहन त्यति नै बढी अप्ठ्यारो असहज र चुनौती छ । शिखरमा टिक्ने क्षमता सबैमा नहुन सक्छ । नहुने परिस्थिति बन्न सक्छ जसमा व्यक्ति स्वयको भूमिका उलेख्य हुन्छ भने बाह्य र अन्य कारण पनि हुनसक्छन । व्यक्तिले आन्तरिक र आफ्नो कारणले हुने कमजोरी लाई काबुमा राख्न सक्यो भने अन्य कारणहरू आफसे आफ ठेगान लाग्न सक्छ ।

बैशाख ४ गते सोमबारदेखि शुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र त्यस प्रसंगले उत्पन्न नयाँ तरंग अनि सरकारबाट भ्रमणको गमन दिन र आगमनमा दिने सार्वजनिक बिदा छुट्टि या अहिलेको राजनीतिक भाषाको बन्द उस्तै लाग्छ देखिन्छ र हो पनि । बन्द, हड्ताल व्यवधान धर्नाले दशकौं देखि आक्रान्त मुलुक सत्ता स्वयं बैधानिक बन्द गरेर देश गोलमाल बनाउन उद्दत छ । बन्दको असर भावी दिनको प्रभाव र दीर्घकालीन हानी नोक्सानीबारे अर्थशास्त्रीहरू अरबौंको बेफाइदा प्रतिदिन छ भनेर हिसाबकिताब निकाल्छन, देखाउछ्न । तर देश हाँक्ने र पार्टी हाँक्ने नेताहरुको ‘घैटोमा घाम’ लाग्न सकेको छैन ।

देश दिन प्रतिदिन कंगाल र हरितन्नम बन्दै छ देशका उध्योगधन्दा कलकारखाना क्रमसः बन्द हुँदै छन् । भएकाहरुलाई धान्न धौ धौ छ तर पनि सरकार आफैं बिदाको घोषणा गरेर बन्दलाई घुमाउरो सहयोग र समर्थन गर्छ । भारतको बिरोधको नाममा कोहि नेपाल बन्द गरेर नेपालीको घाँटी थिचेर न्याकेर बिरोध गर्छन भने कोहि भारतलाई खुशी पार्न भारतीय रास्ट्रपति को सद्भावना भ्रमणको बेला देश बन्द या बिदा दिएर देशको अर्थतन्त्र प्रतिकुल निर्णय गर्छन ।

कसैलाई खुशी पार्न अनि कसैलाई बिरोध गर्न दुःख भोग्नु पर्ने चैं साधारण गरिखाने नेपाली जनताले । यो कस्तो संस्कार हो ? पाहुनाको सम्मान मर्यादा गर्नुपर्छ त्यसमा दुईमत कसैको छैन तर पाहुनाको सम्मानको खातिर केहि असहजता खप्न र झेल्न सकिन्छ तर चाकडीको लागि असहजता स्वीकार्य हुन्न स्वीकार गर्न सकिन्न । हिजो भारतीय प्रधानमन्त्री र राष्ट्रपति आउँदा बिदा दिएर सम्मान व्यक्त गरिएको भनियो बिदा दिइयो जुन विल्कुल गलत र चाकडीको रुप हो । बिदा किन भारतीय मित्र र सो मण्डली आउँदा मात्र दिइन्छ ? किन अरु देशका प्रधानमन्त्री र राष्ट्रपति आउँदा दिइदैन ? सबैं मित्र र सबै साथी प्रति किन समभाव र समब्यवहार हुन्न ? हाम्रो कस्तो शासकीय सोच हो ? मान सम्मान दिनु, मित्रको खातिरदारी गर्नु नराम्रो र कमसल काम होइन तर सम्मानको नाममा लम्पसार परेर चाकडी गर्नु चैं आजको यूग सुहाउदो ‘फ्रेन्डशिप’ होइन ।

मर्यादा आफ्नो पनि हुन्छ देशको पनि हुन्छ सवैले आ आफ्नो मर्यादा र सीमाको ख्याल राख्नुपर्छ । हिजो राजतन्त्रतात्मक शासन व्यवस्था हुँदा राजा विदेश भ्रमण निस्कँदा र देश फर्कदा दिने बिदाको परम्परा आज पुनः शुरु गर्नु गलत नजिर बसाल्नु हो । राजतन्त्रतात्मक समयको असल र अनुकरण गर्न लायक गुणको निन्दा अपहेलना तिरस्कार गर्ने हामी । खराब चलन देशलाई नै तुरुन्तै आर्थिक सामाजिक र मनोवैज्ञानिक हानि पुर्याउने चलन र संस्कृतिको किन अन्धाधुन्ध अनुसरण गर्छौ । राजा महाराजको गुनगान प्रशस्तीले वाक्कदिक्क भएका नेपालीलाई राष्ट्रपतिको पनि सोहि शैलीमा जयजयकार गर्न किन बाध्य पारियो ? किन राष्ट्रपति भारत भ्रमणमा जाँदा बिदा दिनु पर्यो ?

हुनत, राष्ट्रपतिबाट बिदा दिने सरकारी निर्णयप्रति बेखुश रहेको , भएको खबर पनि बाहिर आयो त्यसको सत्यापन जाँच्न बिदाको निर्णय पुनरावलोकन नहुनुले बताई सक्यो । कि सरकारले जबरजस्ती गरेर नै राष्ट्रपतिको मनसाय विपरित निर्णय गर्यो ? होइन भने राष्ट्रपतिको सामान्य असहमति र लोकापवाद बाट बच्ने प्रयास मात्र हो भनेर बुझ्न सकिन्छ । राष्ट्रपति आफ्नो सम्मानमा सायद पुलकित हुनुभयो होला । तर हेक्का रहोस करोडौं नेपालीलाई व्यवधान गरेर दिएको सम्मान मुल्यहीन र असान्दर्भिक हुनेछ । सम्मान बिदा गरेर जयजयकार गरेर हुन्न । जनमनको हृदयले दिइने चोखो माया र सम्झना नै सम्मान हो, मर्यादा हो आदर सत्कार हो । देखावटी र बनावटी सम्मान केवल चाकडी हो कुनै स्वार्थ सिद्द गर्ने प्रयत्न र प्रपन्च हो । सम्मान मानका खातिर हुनुपर्छ चाकडी चाप्लुसी र चिप्लोघसाईमा हुन्न । किमार्थ अरुलाई दुःख र सास्ती दिएर पाइने सम्मानले आत्मा रमाउन सक्दैन मन र दिल खुशी हुन् सक्दैन ।

कामकाज ठप्प पारेर, पठनपाठन बन्द गरेर अत्यावश्क सरकारी सेवा, सुबिधाबाट लाभान्वित हुनबाट रोकेर, सेवाग्राहीलाई मर्कामा पारेर, देशको समग्र गतिविधिलाई नै अपचलन गरेर , राष्ट्र, राष्ट्रपति राष्ट्र प्रमुख जो कोहि मित्र खुशी हुन्छन उनीहरुको सम्मान हुन्छ भन्ने सोच शैली र तौरतरिका विल्कुल नाजायज अस्वाभाविक र अप-संस्कृति भन्दा केहि होइन । यो शैली र तरिका बदल्नु जरुरी मात्र हैन अत्यन्त जरुरी र शीघ्रातिशीघ्र फेर्नु पर्ने कुरा हो । कसैको सम्मान गर्नु अरु धेरैलाई दुःख दिनु रुवाउनु अनि समस्याको भडखालोमा जाक्नु हुनु नराम्रो हो । सवैको खुशी, उमंग र उत्साह अनि सहभागितामा मात्र सम्मान र आदर प्रकट हुन्छ । कुनै खुशी, उत्सव र सम्मान प्रकट गर्न बिदा दिने जुन परम्परा छ जसलाई तोड्नु र भत्काउनु पर्छ । परम्परा नविन सोच र प्रयोगात्मक रचनात्मक र ब्यबहारिक हुनुपर्छ बनाउनु पर्छ । निरन्तरता सधैं र उही उस्तै रुपमा उस्तै आकार प्रकार र स्वभावमा रहनुपर्छ भन्ने केहि छैन । समसामयिक सुधार परिमार्जन र परिस्कार आवश्यक हुन्छ । परिस्कार, परिमार्जन र सुधार अनि समयसापेक्षतामा आधारित र तार्किक अनि विश्वसनीय बनाउनु पर्छ । समयको लय र चेत भेट्टाउन सक्ने हुनुपर्छ ।

राष्ट्रपतिको भ्रमणमा सम्मानको खातिर स्कुल, कलेज कलकारखाना कार्यालय बन्द गर्नु हुन् बरु जति सकिन्छ बढी कार्य सम्पादन गर्ने , बढी समय खोल्ने रचनात्मक भएर सेवाग्राही र लाभान्वित हुन् चाहने बर्गलाई छिटो छरितो सेवा र सुबिधा उपलब्ध गराउने गर्नु पर्छ । कामको सहजीकरण र सरलीकरण गरि सेवाप्रदायक संघ, सस्था व्यक्ति, कार्यालयले सेवाग्राहीलाई खुशी र सन्तुष्टी दिने भरमग्दुर प्रयास गर्नुपर्छ । नयाँ नेपालमा नयाँ सम्भावना र नयाँ कामको बोध गराउन सक्नु पर्छ त्यसो भयो भने रास्ट्रको उन्नति मा समय बित्छ । काम गरिदिएर पाउने आत्मसन्तुष्टि भन्दा ठुलो खुशी भौतिक सुख भन्दा ठुलो हुन्छ । कुनै पनि खुशी र उमंगमा कार्यालय दिनभर बन्द गर्नु भन्दा बरु एक घण्टा कार्यालयको सरसफाई वृक्षारोपण बिभिन्न अवस्थाको मुल्यांकन र पुनर्मुल्याकन गरि स्कुल कलेज र कार्यालय लाई अपडेट गराउने काम र नुतन परम्पराको थालनी र श्रीगणेश गर्नु लाभकारी र हितकारी कार्य हुन्थ्यो । छिमेकी राष्ट्र र त्यसका प्रमुखको सम्मान गर्न मित्रता झल्कने, चीरस्मरणीय कुनै बोट वृक्ष रोप्ने बर–पीपल रोप्ने कुनै स्तम्भ निर्माण गर्ने जसले मित्रता सधैं परस्परमा झल्कन सकोस ।

भ्रमणको सफलता र सार्थकता पुरा होस भनि रचनात्मक मन र मस्तिस्कले कामना गर्ने । नवीन संस्कृति, परम्परा र नौलो आयामको खोजी गरौ । कसैले कसैलाई गालीगलौज गर्नु निन्दा र आलोचना गर्नु भन्दा एक अर्काले विगत देखि वर्तमानसम्म गरेको गल्ति कमीकमजोरी सच्याएर राष्ट्र निर्माणमा दिल,दिमाग, मन मस्तिस्क, मुटु, हात पाखुरी, सिप, क्षमता दक्षता र विज्ञता खर्च गरौ । हाम्रो सिप क्षमता शिक्षा विज्ञता र दक्षता केवल हाम्रै लागि राष्ट्रकै लागि । यो देश अरु कसैले आएर बनाई दिने होइन् हामी आफैले बनाउने पर्छ । हामीले नै बनाउनु पर्ने भएपछि किन ढिलासुस्ती गर्ने ?

राष्ट्रपति, राजामहाराजा देश विदेशका प्रधानमन्त्री विशिष्ट पाहुना अथितिहरुको सुरक्षा सम्मान र मर्यादाको लागि गरिने औपचारिक सुरक्षा प्रबन्ध स्वागत बिदाई भ्रमणलार्इ अस्वाभाविक झन्झट र अप्ठ्यारो र बोझको रुपमा नलिऔ , नबुझौ । औपचारिक शिष्टता, मर्यादा , अनुशासन र कर्तव्य राज्यको आफ्नो धर्म हो, संस्कृति हो, परम्परा हो जसलाई राज्यले सानो मुल्य चुकाएर भएपनि पुरा गर्नुपर्ने हुन्छ पुरा गर्छ । यसलाई अन्यथा र बोझ अनि घाटा नाफाको अर्थशास्त्रसंग बुझ्ने गल्ति गर्नु हुदैन । पाहुनाहरु , अनि देशका विशिष्ट व्यक्तिहरुको यात्रा , भ्रमण र आगमन र गमनमा राज्यले आफ्नो कर्तब्य पुरा गर्दा भूमिका निभाउँदा आइपर्ने सानोतिनो अल्झन व्यवधान ढिलाढाली, केहि समय हुने सवारी साधनको अवरुद्द्ता संसार भरकै चुनौती र समस्या अनि रित र चलन र यथार्थता हो । यो बिषयलाइ सत्ताधारीलाई गाली गर्ने, अपजस दिने बिरोध गर्ने उपयुक्त मौकाको रुपमा जुनसुकै कालखण्डमा जो सुकैले गर्नु अनुचित, अनुपयुक्त र आपतिजनक हो । सभ्य समाज र संस्कृति निर्माणमा यसो गर्नुहुन्न गरिनुहुन्न ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework