लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

उसको मृदु सम्झनामा, जसको जीवनको लक्ष्य र परिणाम नै मात्र प्रजातन्त्र थियो

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित,

हरिविनोद अधिकारी - चैत ७ गते, एउटा प्रजातान्त्रिक सेनापतिको महाप्रयाणको दिन । स्मृति दिवस । प्रजातान्त्रिक नेपालको एउटा अविस्मरणीय नाम गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रको स्थापना, पुनर्स्थापना र विकासका लागि सदैव अविचलित नाम गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रका लागि फेरि–फेरि कुनै पनि नेपालीले कुनै पनि किसिमको आन्दोलन कहिल्यै गर्नु नपरोस् भनेर ८३ वर्षको उमेरमा पनि आफैँ प्रजातन्त्र स्थापनाका लागि सडक संघर्षमा होमिने गिरिजाप्रसाद कोइराला । प्रजातन्त्र पुनर्स्थापनापश्चात् २०४८ को आम निर्वाचनपछि जननिर्वाचित नेपालको बारम्बार हुने प्रधानमन्त्रीका रुपमा भन्दा पनि एउटा क्रान्ति नायकका रुपमा उहाँको परिचय नेपाली जनताले पाएका हुन् । समाज रुपान्तरणको पक्षमा सदैव समर्पित एउटा अनवरत यात्री गिरिजाप्रसाद कोइराला । जीवनको एउटा लक्ष्य र परिणाम नै प्रजातन्त्रप्रति समर्पित व्यक्तित्व गिरिजाप्रसाद कोइराला ।

एउटा राष्ट्र र राष्ट्रका स्वाभिमानी जनताका लागि राष्ट्रियता र प्रजातन्त्र भनेको अभिन्न अवयव मान्ने कोइराला । चाहे पञ्चायतका विरुद्धको सशस्त्र संघर्ष होस् वा पञ्चायतको विकल्पको खोजीमा गाउँ गाउँ जनताको राय लिन जाने एउटा सक्रिय राजनेताको रुपमा होस् । नेपालको अनुहार फेर्न र आगामी दिनमा प्रजातन्त्रको लागि कसैले पनि कहिल्यै पनि आन्दोलन गर्नु नपरोस् भनेर आफ्नै जीवनकालमा नै प्रजातन्त्रको प्रत्याभूति दिलाउन आजीवन त्यागको प्रतिमूर्ति गिरिजाप्रसाद कोइराला ।

विक्रम सम्वत २०३६ सालमा राजा वीरेन्द्रले पञ्चायतको विकल्पमा बहुदलीय व्यवस्थाको लागि जनमत संग्रहको घोषणा गरेपछि मुलुकले लामो अन्तरालपछि अलिकति भए पनि प्रजातान्त्रिक अभ्यास गर्न पायो । २०१७ मा राजाले प्रजातन्त्रको हत्या गरेपछि प्रत्यक्षतः नेपाली राजनीतिमा देखिनु भएका नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाको अवसान भएको पनि ७ वर्ष पुगेछ ।

हुन त उहाँ लामो प्रवासपछि २०३७ सालको सुरुमा आममाफी पाएर मात्र नेपाल प्रवेश गर्नु भएको थियो तर नेपाली राजनीतिमा उहाँको नाम पहिलेदेखि नै क्रान्तिकारी नेताको रुपमा चित्रित थियो । त्यसपछिका दिनहरुमा गिरिजाबाबुका कामहरु नेपालीहरुका लागि खुला किताब जत्तिकै स्पष्ट छ ।

समसामयिक नेपालका सबैभन्दा ओजस्वी अग्ला नेता गिरिजाप्रसाद कोइरालाको महाप्रस्थान भएको पनि सात वर्ष हुन लाग्दासमेत समय बितेको पत्तै पाइएनछ । नेपाली राजनीतिमा उहाँको कमी अझै पनि उस्तै देखिन्छ, जुन आजभन्दा सात वर्ष अघि महसुस गरिएको थियो । यी बितेका सात वर्षमा पनि उहाँको रिक्तता पूरा हुन सकेको छैन । मानिसहरू कसैको निधनपश्चात हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दा भन्ने/लेख्ने गर्छन् कि असामयिक निधन भयो, अपूरणीय क्षति हुनपुग्यो । वास्तवमा गिरिजाबाबुको निधनचाहिँ नेपाली राजनीतिमा असामयिक नै भएको रहेछ । अपूरणीय क्षति नै भएको रहेछ ।

कुनै एउटा व्यक्तिको अनुपस्थितिले मुलुकको राजनीतिको गति नै रोकिन्छ या जानु पर्ने दिशातिर नगएर गलत दिशातिर मोडिने सम्भावना सामान्यतः भएको पाइँदैन । कतिपयको निधनले मुलुकको राजनीतिले फेरि नयाँ बाटो पहिल्याएको देखिन्थ्यो तर उहाँको निधनले नेपाली राजनीतिको गतिलाई समेत सीमित बनाएको रहेछ र कुनै पनि अर्को व्यक्ति जेलिन लागेको या कसिन लागेको राजनीतिक गाँठो फुकाउन सक्षम रहेनछ । उहाँलाई नेपाली राजनीतिबाट पन्छाउन तत्कालीन एनेकपा माओवादीले सुरु गरेको अभियानले आज आफ्नो नकारात्मक परिणाम देखाइरहेको छ । त्यसको माखेसाङ्लोमा सबैभन्दा बढी जेलिएको त उही नै देखिएको छ । खोलो तर्‍यो, लौरो बिर्सियो भन्ने अस्वस्थकर राजनीतिक खेलले पनि आजको राजनीतिक मञ्चमा गलत परिणामहरू देखिन थालेका हुन् भन्ने कुरा ढुक्कसँग भने हुन्छ । भनिन्छ, तत्कालीन एमाओवादीले गिरिजाबाबुलाई राष्ट्रपतिको आशा देखाएको थियो । यदि त्यो सत्य थियो भने गिरिजाबाबु राष्ट्रपति अनि प्रचण्ड प्रधानमन्त्री भएको समयमा नै संविधान आउँथ्यो र सफल कार्यान्वयन त्यही बेलामा नै हुन्थ्यो भन्ने अनुमान सहजै गर्न मिल्छ ।

अहिले राजनीतिक फाँटमा एउटा कुरा बडो जोडतोडका साथ भन्ने गरिन्छ कि राजनीतिक स्वार्थभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर त्यागी हुनसक्नुपर्दछ र निस्वार्थका साथ मुलुकका लागि काम गर्नुपर्दछ । वास्तवमा यो उत्तरआधुनिक नेपालमा त्यसोचाहिँ गिरिजाबाबुले मात्र गर्नुभयो । मुलुकलाई शान्तिको आवश्यकता छ भन्ने महसुस गरेर नै उहाँले आफ्नो दलभन्दा माथि उठेर र हिंसात्मक सशस्त्रयुद्धमा रहेको त्यस्तो दल नेकपा माओबादी जसले सवैभन्दा ठूलो शत्रु भनेर नेपाली कांग्रेसलाई मात्र घोषणा गरेको थियो, त्यसैलाई सम्झाएर र सत्ताको भागीदार बनाएर राजनीतिक मूलधारमा ल्याउनु भयो । यसोगरेकोमा नेपाली कांग्रेसमा अझै त्यसको विरुद्धमा ध्वनि प्रतिध्वनि आइरहेको छ र नेपाली काँग्रेसलाई चीनको कोमिन्ताङ बनाएको भनी देश तथा विदेशमा पनि उहाँको विरोधमा नारा अझै लगाइँदैछ ।

सँधैभरि पड्कने बम, मारिने नेपालीका परिवारको चीत्कार र मुलुकमा अब कहिले यो द्वन्द्व थामिएला भन्ने अन्यौलका बीचमा आफूलाई र आफ्नो दललाई महान शत्रु घोषणा गर्ने भूमिगत गुरिल्ला योद्धालाई शन्तिमार्गमा ल्याउनु भयो, लोकतन्त्रप्रतिको आस्थावान बनाउनु भयो र लोकतान्त्रिक प्रक्रियाद्वारा लोकतन्त्रको संरक्षण गर्नका लागि बाध्य बनाउनु भयो । हामीले गर्व गर्नुपर्दछ कि भूमिगत गुरिल्ला युद्ध गर्नेहरू नै अहिले दोस्रोपटक लोकतान्त्रिक प्रक्रियाद्वारा संसदीय मान्यता र सिद्धान्तका आधारमा सरकारमा रहेका हुन्, त्यो पनि कांग्रेससँगै, कांग्रेसकै सहयोगमा ।

अहिलेको विश्वमा लोकतन्त्रका विरुद्धमा जानेहरूको के हाल हुन्छ भन्ने कुराका लागि नेपालको माटोमा जरो गाडेर बसेको राजतन्त्रको अवस्था नै अनुपम उदाहरण बनेको छ । प्रजातन्त्रका विरुद्धमा कम्मर कसेर लागेको राजतन्त्रलाई समाप्त गर्ने वैधानिक नायकत्व गिरिजाबाबुले गर्नुभएको थियो । सम्भवतः एनेकपा माओबादीमा अहिले त्यसैको तानातान बढिरहेको देखिन्छ । निकट अतीतको कम्पुचियाको इतिहासले पनि माओबादीमा लोकतन्त्रप्रतिको चेत सचेत बनेको हुनुपर्दछ । हुनत गिरिजाबाबुलाई तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको पूर्ण सहयोग थियो र एमालेसहित अन्य पाँचदलहरूको सहयोगले काम फत्ते गर्ने तारतम्मे मिलेको थियो होला तर रणनीतिकारको अदम्य साहसविना त्यो सम्भव थिएन जस्तो कि सेनापतिले आफ्ना सेनाको कमान्ड सम्हालेको हुन्छ ।

इतिहासमा त्यस्तो बेला एकपल्ट एकजनाको हातमा आउँछ भन्ने कुरा गिरिजाबाबुको त्यो साहसका लागि लागू हुन्छ जसले जङ्गल कब्जा गरेको कुरा गर्थे, उनैलाई सत्तामा भागीदार बनाउने आँट गर्नुभयो र मुलुक आजको अवस्थासम्म आएको छ । हिजोका दिनमा अनवरत जनयुद्ध भइरहेको अवस्था र आजको शान्तिप्रक्रियाको अवस्थालाई तुलना गरेर हेराँै र अनिमात्र मुलुकको आजको अवस्थाको विकासक्रमलाई नियाल्न सजिलो हुनेछ । नेपालमा नै गिरिजाबाबुजस्ता साहसी रणनीतिकार नेता थिए भन्ने कुरा भावी दिनमा हाम्रा सन्ततिलाई सुनाउन पाउने इतिहास आजको विश्वमा हामीसँग मात्र छ । उहाँको देहावसानपश्चातका दिनमा शान्तिप्रक्रियाले गति लिन सकेन, यसका लगि सवै उत्तिकै दोषी छन् र सवैभन्दा बढी अनुत्तरदायी चाहिँ नेकपा माओबादी केन्द्रलाई मान्न सकिन्छ किनभने उसमा कुनै अवधारणा र रणनीति रहेनछ जनताका पक्षमा गरिने कामको ।

संसद र लोकतन्त्रका प्रतिको घृणात्मक आक्रोशलाई विद्रोहको स्वरुपमा बदलेर जनयुद्धको नायकत्व गरेर आएको दल र त्यसका अराजक नेताहरूलाई लोकतान्त्रिक संस्कारको राजनीतिमा अभ्यस्त बनाउन समय लाग्छ र त्यही समयको खपत भएको अहिले स्पष्टै देखिन्छ । एकातिर माओवादीका कार्यकर्ता र लडाकुहरूमा दलको जन्मकालदेखि नै सम्पूर्ण खराबीको जड संसदीय व्यवस्था र लोकतन्त्र हुन् भनी संसदीय प्रणालीप्रति घृणा उत्पन्न गराइएको छ भने अर्कोतिर लोकतन्त्रप्रतिको समर्थन गर्नैपर्ने बाध्यकारी अन्तर्राष्ट्रिय स्थिति सृजनाले उत्पन्न गरेको द्विविधाजनक अवस्थाले गर्दा पनि माओवादीमा अन्यौलपूर्ण राजनीतिले आजको अवस्था सृजना गरेको हो । जसको परिणामको रुपमा अहिले फुटेका माओवादीहरुमा देख्न सकिन्छ ।

गिरिजाबाबुले आत्मसात गरेर नै जस्तोसुकै कठिन अवस्था भए पनि हतियारसहितका सेना भएका माओवादीलाई निहत्था जनतासँग निर्वाचनमा ल्याउनु भयो र निर्वाचनको सुन्दरतासँग आमने सामने गराउनु भयो । वास्तवमा पहिलो संविधानसभाको निर्वाचनले सबैभन्दा क्षति नेपाली कांग्रेसलाई भएको थियो र त्यो साख निर्माण गर्ने बेलामा गिरिजाबाबुको निधन भयो । नेपाली कांग्रेसले त्यो रिक्तता पूरा गर्न अझै सकेको छैन तर नेपालमा सुरु भएको शान्तिप्रक्रियाले एउटा परिणाम लिने पक्का छ । नेपाली कांग्रेसले निर्वाचन जितेको छ र पनि पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि त झन् नेपाली कांग्रेसमा नेतृत्वको रिक्तता छ, नेपाली कांग्रेस कुहिरोको काग भएको छ तर मुलुकले शान्तिप्रक्रियामा अग्रगति लिइरहेको छ ।

यसैलाई गिरिजाबाबुले दलभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई एउटा अन्यौलपूर्ण महाभेलमा फसेको डुङ्गालाई माझभेलबाट वा बैतालाग्ने अवस्थाबाट किनारामा ल्याउनु भएको थियो । आज त्यही कुरा नै स्मरणीय हुन जान्छ । भोलिका लागि अनुपम उदाहरण बन्न जान्छ । ती महामानवको सम्झनामा हामीले कुनै दीप प्रज्ज्वलन गर्नु जरुरी छैन, कुनै स्मारक बनाउनु जरुरी छैन । तर प्रजातन्त्रको दियो जलाइरहनु नै पर्याप्त हुनेछ ।

उहाँको सम्झनामा मात्र लोकतन्त्रलाई संस्थागत गर्नु जरुरी छ र आगामी माघ ७ गतेसम्ममा तीनैतहको निर्वाचन गरेर प्राप्त संविधानको रक्षा गर्नु जरुरी छ । नेपाली जनताका लागि लोकतान्त्रिक संविधान घोषणा भएको छ र त्यसको व्यावहारिक प्रयोगले मुलुकलाई विश्वको प्रजातान्त्रिक मुलुकको श्रेणीमा लैजानु छ । शान्ति र स्थिरता कायम गरेर मुलुकमा सदाका लागि शान्ति स्थापना गरी राजनीतिक स्थायित्व दिनु पर्दछ । यसो गरेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सफलताको आधारशीला राख्ने भनेको नै लोकतन्त्रको संस्थागत विकास हुनु हो । यदि कोही पनि वा कुनै दलले पनि लोकतन्त्रको विरुद्धमा गएर नेपालको राजनीतिमा स्थायित्व ल्याउने सपना देखेको छ भने वा त्यस्तो धृष्टता गर्दछ भने एक्काइसौँ शताब्दीमा जनभेलले त्यस्ता व्यक्ति वा समूहलाई सदाका लागि समाप्त पार्नेछ भन्ने उदाहरण अहिलेका विश्वमा प्रजातन्त्र र सामाजिक न्यायप्रतिको जागरणले विश्वलाई दिएको छ ।

अहिले गिरिजाबाबुलाई बिर्सिने खेल नेपाली कांग्रेसभित्रै भइरहेको आभास हुन्छ । अहिलेको सबै राजनीतिक विकृतिको दोष उहाँमा खन्याएर सबै पानीमाथिको ओभानो हुन चाहेका छन् तर के बिर्सिए भने अन्तरिम संविधान आएपछि नै मधेस आन्दोलनले उग्ररुप लिएको थियो । कोइरालाको क्रान्तिकारी अतीत, अदम्य साहस र स्वार्थरहित समन्वयकारी क्षमताले गर्दा नै पहिलो संविधान सभाको निर्वाचन सम्भव भएको थियो । त्यसपछिका दिनहरु पनि अझै उहाँका देनहरुले डोरिँदै गएका छन् । तर लाग्दैछ, मुलुक अबचाहिँ अकल्पनीय परिणामका लागि कतै डोरिँदै छ र फेरि उहाँको आवश्यकता बोध हुने गरी तूफान आउन थालेको छ । आशा गरौँ, स्वार्थभन्दा माथि उठेर समन्वय गर्ने अर्को गिरिजाप्रसाद यहाँ जन्मियोस् र मुलुकलाई एउटा द्वन्द्वरहित अनि सामाजिक न्यायतर्फको बाटोमा मुलुकलाई लिएर जाने कामको थालनी गर्न सकोस् । नेपालको राष्ट्रियताको समृद्धि र प्रजातन्त्रको स्थायित्व नै गिरिजाबाबुप्रतिको श्रद्धान्जलि हुनेछ । कांग्रेसी जनले बिर्सियून् तर नेपालीजनले कोइरालाको त्यो गुण बिर्सिने छैनन् जसले जनहत्याको रापले धपधपी बलेको नेपालको राजनीतिमा मलम लगाउँदै शान्तिको सन्देश फैलाएका थिए र ती जनहत्याका नायकहरुलाई जनताको महत्व सम्झाउँदै शान्तिको मूलधारमा ल्याएर कर्तव्याकर्तव्यको पाठ पढाएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework