लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

देशघातीहरुलाई गोविन्द गौतमको तातो, रातो र आलो रगतले भत्भती पोल्नेछ

बुधबार, २ चैत, २०७३ मा प्रकाशित, 17211 पटक हेरिएको

संजिव कार्की - सहिदहरुको अवमुल्यन, सैद्धान्तिकरण र पार्टीकरण भएको यो वर्तमान परिप्रेक्षमा निर्विवाद र निष्कलंक सहिद भएर नेपाली आमाका सपुत गोविन्द गौतमले सहिदको परिभाषा पुनः परिभाषित गरिदिए, देशको माटोको लागि जीवन आहुति दिने पो सच्चा सहिद भनेर ।

यी वीर योद्दाप्रति नेपाली शीर श्रद्दा र गर्वले संधै झुकिरहने छ । नेपाली सिमामा बगेको महान सहिद गोविन्द गौतमको आलो र तातो रगत नै अब अन्तिम रगत र बलिदानी बन्नु पर्छ । देशको सार्वभौमसत्ता, अखण्डता, स्वाधिनता र स्वतन्त्रताको लागि धेरै नेपालीले आफ्नो ज्यान आहुति दिएका छन् । अझै पनि ज्यान दिन तम्तयार लाखौ देशभक्त छोराछोरीको यो पुण्यभुमिमा खाँचो छैन । तथापि अब रगत बगाउने युद्द हैन बुद्धि लगाउने युद्द गरेर बैरीको कुत्सित चाललाई धुलो चटाउनु पर्छ । अब स्वाभिमान र इमानको लडाई गरेर हामी माथिको ज्यादतीको बदला लिनुपर्छ । सानो, कमजोर र कम विकसित हुनुको अर्थ कसैको हेपाहा र मिचाहा प्रवृतिलाई चुपचाप सहनुपर्छ भन्ने छैन । विश्व रंगमंचमा हाम्रो पनि गर्विलो उपस्थिति र पहिचान अनि आफ्नै शान र मान छ । कहिल्यै र कुनै ताकतले झुकाउन नसकेको हाम्रो पौरखी, स्वाभिमानी र स्वाबलम्बी इतिहास संसारमा आफ्नै विशिष्ट पहिचानको मानक र सम्पति हो ।

भारतीय संस्थापन जहिलेसुकै नेपाली मनहरु दुखाउन उद्यत छ, देखिन्छ । सिमाका नेपालीहरु भारतीय हेपाहा, मिचाहा, नीच र घटिया ब्यवहारबाट वाक्कदिक्क र हैरान छन् । सिमाबासी दाजुभाइ दिदीबहिनीहरुको भारतीय सिमाबासी र एसएसबी सँगको कटुतापूर्ण सम्बन्ध संधै अल्झीरहने कहिल्यै नफुक्ने समस्याको गाँठो हो जसले अकालमा निर्दोष र स्वाभामानी नेपालीको जीवनहरण गर्नेसम्मको स्थितिमा पुर्‍याउँछ ।

भारतीय पक्षको पछिल्लो ज्यादतीको शिकार भए गोविन्द गौतम । आफ्नो देशको सिमारक्षाको खातिर आफ्नो जीवन अर्पण गर्ने होनहार युवा उनको नाम लिनासाथ नेपालीको शीर श्रद्धाले झुक्छ । आँखा बेदनाले रसाउँछ अनि मन बदलाको भावनाले बज्र बन्छ । तर हामी संयम छौं, विचलित छैनौं । हामीलाई हाम्रो धर्म र सीमाको राम्रो ख्याल छ ।

नेपाल र भारतको बीचमा एक हजार आठ सय असी किलोमिटर लामो सीमारेखा छ । यो सीमारेखामा आठ हजार पाँच सय ५३ सिमा खम्बा वा स्तम्भ गाडिने भनेर चिनो लगाईएको छ तर जमिनमा जम्मा ४ हजार ३ सयमात्र सिमा खम्बा गाडिएका छन् । गाडिएकामध्ये १ हजार ८ सय खम्बा लोप भएका छन् । कति उखेलेर फ्याकिएका छन्, कति हराएका छन् त कतिलाई नदीले बगाएर लगेको छ । कन्चनपुरको आनन्दनगरमा मुठभेड हुनुको कारण पनि सिमा क्षेत्रमा हराएको त्यहाँ अवस्थित दुईसय नम्बरको जंगे पिलर लोप हुनको कारण हो भन्छन् सिमाबिद बुद्धिनारायण श्रेष्ठ । जंगे पिलर नभए पनि दुवै देशका जनता नेपाल भारतको सिमा यहि हो भनेर स्पस्टसँग खुट्याउने ल्याकत राख्छन । सिमा किटान गरेको ठाउँभन्दा करिब २ सय मिटर नेपालतर्फ भित्र पसेर गोली हानि गोविन्द गौतमको जघन्य हत्या भारतीय एसएसबीले गरेको देखिन्छ जो सरासर अन्यायपूर्ण, भर्त्सनायोग्य र अन्तर्राष्ट्रिय सिमा कानुन विपरीत छ । जुन कानुनको उल्लंघन सिमा अपराध हो । बिगत केहि समयअघि पनि सप्तरीको तिलाठीमा भारतीय पक्षले ज्यादती गरेको थियो, जसको प्रतिकार सिमाबासी नेपालीले बहादुरीपूर्वक गरेका थिए । एउटा ठुलो छिमेकी जोसँग हाम्रो त्यतिलामो खुल्ला सिमा जोडिएको छ । परम्परागत सम्बन्ध, पारिवारिक सम्बन्ध पनि छ, सांस्कृतिक, भौगोलिक र ब्यवहारिक निकटता र सामिप्यता छ । ऊ किन हामीमाथि सँधै यसरी अत्याचार गरिरहन्छ ? सानो हुनु, गरिव हुनु के हाम्रो ऊसँगको मित्रताको अयोग्यता हो ? ठुलो माछोले सानो माछोलाई खाने प्राकृतिक सिद्धान्त के भारत र ठुला मुलुकहरुको सर्वश्रेष्ठ सिद्दान्त हो ? सबभन्दा ठुलो सिद्धान्त त मानवीय सदाचार र सद्ब्यवहार हैन र ? सार्वभौम सत्ता सानो, ठुलो होचो अग्लो हुन्छ र ? सिमा क्षेत्रको सुरक्षामा अन्तर्राष्ट्रिय सिद्धान्त र मान्यता अनि अभ्यास पनि हुन्छ जसको भारत हर हमेसा उल्लङ्घन गर्न तल्लिन रहन्छ ।

आजको युग न्याय र समताको युग हो, कानुन र सिद्दान्तको युग हो । मुढेबलको युग त पशुता र नीचता हो । हामी भारतसँग हतियारबद्ध युद्द लड्न सक्तैनौ, फेरि बुद्ध भूमीका नेपाली हामी शान्ति र मानवताको कुरा गरेर अघि बढ्नुपर्ने हुन्छ । अब प्रश्न उठ्छ, भारत हामीसँग मित्रताको हात अघि बढाउँछ या शत्रुता र पशुताको हात ? भारत अब आफ्ना सम्पूर्ण विगतको समीक्षा गरि उदार र फराकिलो छाती गरेर भूलको पश्चाताप गरि आफ्नो छिमेकीसँग प्रस्तुत हुने मौका गुमाउन मन्जुर छ या नामन्जूर ? घटना घटिसकेपछि घटनालाई लम्ब्याएर, तन्काएर या खोचे थापेर राख्नु हुन्न । दुरी बढाएर हैन घटाएर नै सम्बन्धलाई मजबुत र कसिलो अनि फराकिलो बनाउन सकिन्छ । भारतीय ज्यादती र दादागिरी कतिन्जेल चुपचाप सहन गर्ने ? जनस्तरबाट व्यापक र भब्य बिरोध प्रतिवाद हुँदा पनि विरोधको सामान्य रित पुरा गरेर पछि हट्न हुन्न सरकारले । त्रुटीमा अहम् हैन क्षमाशील हुनु नै आजको सन्दर्भमा उचित र ब्यवहारिक कुरा हो । गल्ती गर्नेले क्षमा माग्ने र पीडितले क्षमा दिएर अघि बढ्नु नै असल छिमेकी हुनुको नाता र विश्वास हो । १९६० मा मुस्तांगमा भएको यस्तै घटनामा तत्कालिन चिनियाँ रास्ट्रपति चाउ एन लाईले नेपाली समकक्षी बिपी कोइराला मार्फत नेपाली जनतासँग माफी मागेर आफ्नो ठुलो छाती देखाएको इतिहास धेरै पुरानो छैन । त्यतिबेला चीनले नेपालीले मागेको क्षतिपूर्ति दिने कबुल गरेका थिए ।

गोविन्द गौतम हत्या लगायत सिमा विवाद र घटनाको विषयमा नेपाली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग दह्रोसँग आफ्नो सरोकार चासो र दाबेदारी प्रस्तुत गर्नुपर्छ । उचित क्षतिपूर्ति र आगामी दिनमा यस्ता घटना र समस्या नदोहोर्‍याउन नैतिक लविङ र कुटनीतिक दबाब दिएर उसबाट गतिलो प्रतिवद्धता र इमान्दारिता खोज्नुपर्छ । अर्काको सिमाभित्र पसेर मान्छे मार्ने अन्तर्राष्ट्रिय अपराधबाट बच्न पनि नेपाल र नेपाली जनतासँग माफी माग्नु पर्छ भारत सरकारले । समस्या सामधानको लागि सम्पूर्ण राष्ट्र एक ढिक्का, एक बल र मजबुत बनेर भारतीयहरुसँग नैतिक लडाई लड्न तयार हुनुपर्छ । राष्ट्र र राष्ट्रियताभन्दा ठुलो केही छैन भनेर पार्टीहरु आन्तरिकरुपमा एक भएर भारत सामु आफ्नो एजेन्डामा झुक्नु हुन्न । यतिबेला पनि पार्टीहरु आफु–आफुमात्र अब्बल राष्ट्रवादी दाबी गर्ने, एकले अर्कोलाई खुइल्याउने, पछार्ने अनि भारतको बिरोध भन्दै यहाँ देश बन्द र बन्धक बनाउन लागिपर्ने कुमतिबाट मुक्त हुनुपर्छ । आफ्नो देशको सम्पत्ति नष्ट गरेर, क्षति गरेर बिनाशलिला मच्चाउने खेलमा सँधै अलमलिने हो भने उसको हेपाहा नीतिमा सुधार आउने छैन । आपतकालिन अवस्था, विशेष परिस्थिति, संकटको घडिमा देश भित्रको राजनीति, आन्तरिक प्रतिस्पर्धा, बहस, वादविवाद, दाउपेच जे भए पनि थाँती राखेर, स्थगित गरेर, राजनीतिको क्षणिक लाभहानी, नाफा, नोक्सानको हिसाबकिताब छोडेर, बिर्सेर देशलाई एकढिक्का बनाएर अघि लानुपर्छ ।

भारतसँगको सम्बन्ध र घटनाको कुरा आउँने बित्तिकै कोही ३ बित्ता उफ्रेर कराउने कोही दुलोभित्र पस्ने किन ? कोही लोकाचारको लागिमात्र बोलेजस्तो गर्ने, अनि कोही प्रभु रिसाउने डरले निहुरिमुन्टी न किन ? नेपालीको रगत बग्दा, जीवनलीला समाप्त हुँदा अर्को नेपाली किन खुलेर बोल्न सक्तैन ? के हामी कसैका दास, नोकर हौं ? कारिन्दा र बन्धक हौं ? दास, नोकर, कारिन्दा त अब श्रम बेच्ने श्रमिकमात्र हुन्, जसको उचित ज्यालादारी सहित सम्मान र इज्जत गर्नुपर्छ । जमाना त्यो हो भने हामी त फरक भूगोल र राष्ट्रियता भएका फरक देशका स्वतन्त्र नागरिक । आफू लुटिदा, पिटिदा अनि मारिदा पनि चुप बस्नुपर्छ ? हाम्रो आत्मसम्मान खोइ ? कसैले फाली दिने हड्डी र देखाउने हरियो घाँसमा नै हाम्रो मानवीयता, आफ्नोपन, आफ्नो चिनारी सबै लिलाम बिक्री हुने हो ? हाम्रो आन्तरिक अनेकतामा उसले सधै खेलिरहने मौका पाउने छ । हामी बिलखबन्धनमा परेर मुकदर्शक बनेर उसको मार खेपिरहन बाध्य हुनेछौ । नेपाल र नेपालीको सिमासुरक्षा र अधिकारमाथि कसैले धावा बोल्छ, अनाधिकार हस्तक्षेप र हानि पु¥याउँछ भने देशभक्त हरेक नेपालीले आफ्नो आफ्नो ठाउँबाट आवाज भरेर देश दुनियाँ सामु उसको पर्दाफास गर्ने कर्तब्य निभाउनु पर्छ ।

नेपाली सिमा ब्यवस्थापन र मार्गदर्शन अबको राष्ट्रको मुद्दा बन्नु पर्छ । भारतीय सिमामा जसले पर्खाल र बारबेर या काँडेतार गरेर अल्पकालीन अनि दीर्घकालीन समस्या सामाधानको निश्चित उद्देश्य र आंकडा बोकेर आउँछ, उही दललाई नेपाली जनताले विश्वास र भरोसा गर्नेछन्, गर्नुपर्छ । राष्ट्रवादको नारा कसको खदिलो र गुदिसहितको अनि कसको बोक्रेमात्र हो, नेपाली राजनीतिको रजतपटमा त्यो छर्लंग देखिने छ अबका घटनाक्रमहरुमा । असल कुटनीति, चातुर्यतापूर्ण समझदारी, वाचाल स्वाभिमान निष्ठा र इमान्दारिता अनि नैतिक तर्क र सहि धरातल र धर्म बोकेर भारतसँग सम्बन्धको नवीन आयाम खोजिनुपर्छ । उसका कुरा र संवेदनशिलतालाई पनि ध्यानपूर्वक सुन्नु र सम्बोधन गर्नुपर्छ । साथी फेर्न सजिलो हुन्छ, छिमेकी सकिन्न, हुँदैन तसर्थ नजिकको छिमेकीसँग सधै कटुता बोकेर, पानी बाराबार र शत्रुतापूर्ण सम्बन्ध हैन समतापूर्ण सम्बन्धको जगमा हुनुपर्छ । एक अर्काको अस्तित्व, महत्व र पहिचानलाई मर्यादित र आदरपूर्वक हेर्ने बुझ्ने अनि सकार्ने मानवताको आधारमा अघि बढाउने, कमीकमजोरीलाई खुलस्त आत्मसात गर्ने ठुलो र सानो नसम्झने अहम् र इगोरहित खुल्लापनको साझेदार ठान्ने मित्रता नै आजको आवश्यकता हो । दुरी बढाउने हैन घटाएर सम दुरी कायम गरि अझ प्रगाड र घनिष्ट सम्बन्ध बसाल्दै जानुपर्छ । बेग र आवेगलाई सहि समय र सहि ढंगले ब्यवस्थापन गर्ने शैली नै आजको कुटनीतिक बोली हुनुपर्छ ।

नेपाल र भारतको बहुआयामिक सम्बन्ध र परिभाषालाई अलि फरक, अलि नयाँ र अलि समसामयिक विश्वपरिस्थिति र परिवेशको आधारमा हरेक कोणबाट विश्लेषण र विवेचना गरि नयाँ मोड र बाटोबाट हिडाउनु पर्छ । अब कम्तिमा मित्रता कस्तो हुनुपर्छ असल छिमेकी संगको सम्बन्ध र निकटता, विश्वले नेपाल–भारत सम्बन्धबाट अगामी दिनमा सिक्न सकोस् । परस्पर छिमेकी राष्ट्रको पारस्परिक विश्वासमा सम्बन्धका नयाँ चरण र आयामहरू थपिनु पर्छ जसको लागि नेपाल भारत दुवैले पुरातन मानशिकता परिवर्तन गर्नु जरुरी र समयको मेलो अनुसार हुनेछ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.