एक करोडभन्दा बढी पुँजी भएका कम्पनीलाई सेयरबजारमा प्रवेश गराउन सुझाव

news

काठमाडौं, असार ३ । नेपाल धितोपत्र बोर्डलाई एक करोडभन्दा बढी पुँजी भएका कम्पनीलाई सेयरबजारमा प्रवेश गराउन सुझाव दिइएको छ ।

धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा सुझाव लिन बोर्डले मंगलबार गरेको कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यस्तो सुझाव दिएका हुन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले गैरआवासीय नेपाललीलाई पुँजीबजारमा सहज प्रवेशको व्यवस्था गराउनुपर्ने, समयमा साधारणसभा नगर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने एवं सूचना व्यवस्थापनलाई सहज बनाइनुपर्ने बताइन् ।

यस्तै, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले सेयर लगानीकर्तालाई शिक्षा तथा तालिम आवश्यक रहेको बताए ।

इन्भेस्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले पनि लगानीकर्तामा अझैपनि पुँजीबजारसम्बन्धी जानकारीको अभावमा सेयर किनबेच गरिरहेकाले बोर्डमार्फत् तालिम दिइनुपर्ने बताए ।

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सम्बन्धित पक्षको सुझाव समेट्ने आश्वासन दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...