युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

news

काठमाडौं, असार १ । साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।

गत जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आज बिहान स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख, उपसभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, सांसद तथा नेकपाका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री टेरिजा मे र राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए ।

फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...