हत्याको आरोपमा चार युवा पक्राउ, ‘१३ हजारको लोभमा हत्या’

news
तस्वीरः निरु गौतम/रासस ।

खस्यौली, जेठ ८ । रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जंगलमा एक युवकको हत्या गरेको आरोपमा चार युवा पक्राउ परेका छन् ।

उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बस्ने २७ वर्षीय चिरञ्जीवी आचार्यको सोमबार ढुंगाले हानेर विभत्स हत्या भएको थियो ।

पक्राउ परेका सबै कपिलवस्तुको बाणगंगा नगरपालिका–६ का हुन् । पक्राउ पर्नेमा ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल, २४ वर्षीय वसन्त खत्री र २० वर्षीय राजु विक रहेका छन् ।

पक्राउ परेकामध्ये रमेश विक हत्याको मुख्य योजनाकार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

उनकाअनुसार हत्यापछि उनलाई उनकै मोटरसाइकलमा ल्याएर जंगलमा फ्याँकेका थिए ।

मादकपदार्थ सेवन गरी झगडा गरेका उनीहरुले आचार्यसँग भएको रु १३ हजारको लोभमा हत्या गरेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।

हत्या गरेर जंगलमा फ्याँकिएका उनको सनाखत हुन पनि धेरै समय लागेको थियो । पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ ।

यौन व्यवसायमा लगाउने होटल सञ्चालक पक्राउ

झाडुपोछाको काम गर्न होटलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटल सन्चालकलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ स्थित राप्ती मेनु होटलका सन्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मीनाकुमारी बस्नेत (कुँवर) रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनीहरुलाई मानव बेचबिखन ऐन र संगठित अपराध ऐनअन्तर्गत् मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

उनीहरु बाग्लुङको निसीखोला गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् ।

१५ वर्षीया नाबालिकालाई आफन्त नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरेको बताइएको छ । उनलाई आफन्त नेपालको संरक्षणमा राखिएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...