नेपाली सेनाको ‘आचारसंहिता सप्ताह’

news

काठमाडौं, वैशाख ५ । नेपाली सेनाले शुक्रबारदेखि ‘आचारसंहिता सप्ताह’ सुरू गर्दैछ ।

सेनाका सबै सकल दर्जालाई शिक्षित गर्ने उद्देश्यले जंगीअड्डा, पृतना, बाहिनी र गुल्ममा पहिलोपटक आचारसंहिता सप्ताह सुरू गर्न लागिएको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञाननाथ पाण्डेले पहिले सर्कुलरकारूपमा केही नियम लागू गर्ने गरेको र अहिले आचारसंहिता बनाएर त्यसलाई कार्यान्वयन गर्न अभियान नै थालेको जानकारी दिए ।

आचारसंहितामा सेनाले कुनै पार्टीको सभा, समारोह, सम्मेलन, प्रदर्शन, अन्तरक्रिया तथा प्रशिक्षणमा सहभागी हुन पूर्णरूपमा निषेध गरेको जनाइएको छ ।

विदेशी नियोगसँग गरिने सबै पत्राचार सेनाको विदेश शाखामार्फत्मात्र गर्नुपर्ने र पत्राचार सेनाको आधिकारिक इमेलबाटमात्रै गर्नुपर्नेछ ।

जाति, धर्मसँग सम्बन्धित र विभिन्न आन्दोलनबारे सामाजिक सन्जालमा रहेको लेख सामग्रीमा सेनाले लाइक, कमेन्ट र सेयर गर्न नपाउनेसमेत जनाइएको छ ।

राजनीतिक पार्टी, कुनै व्यक्तिसँग सेनाको अनावश्यक टिप्पणी र गोप्य सूचना चुहाउने काम गरे कारबाही गर्नेसमेत जनाइएको छ ।

कमान्डरहरुले यौनजन्य दुर्व्यवहार र लैंगिक विभेद गर्न नहुने, ठेकेदारसँग उपहार लिन नहुने तथा तालिमकाक्रममा प्राप्तांक, ग्रेडिङ र मर्यादाक्रमलाई प्रभावित पार्ने गरी उपहार लेनदेन गर्ने दुवै सजायको भागीदार हुनुपर्ने आचारसंहितामा उल्लेख छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...