जनमतसंग्रहको चर्चा बढ्दो

news

काठमाडौं, चैत ८ । अहिले दिनहुँ जनमतसंग्रहको चर्चा भइरहेको छ ।

त्यसो त नेपालका लागि जनमतसंग्रह नयाँ विषय पनि होइन । धेरैले धेरै कोणबाट उठाएको जनमतसंग्रहको मागमा नेपाली कांग्रेसका महामन्त्री पनि थपिँदा भने विषय बढी तरंगित बनेको छ ।

२०३६ सालमा निर्दल वा बहुदल भन्ने सम्बन्धमा पहिलोपटक जनमतसंग्रह भएको थियो । परिणाम जे–जस्तो भएपनि त्यसले राष्ट्रको जीवनमा दूरगामी असर पार्‍यो ।

यसकारण जनमतसंग्रह अन्य मतदानजस्तो सामान्य विषय होइन । महत्वपूर्ण मुद्दाहरुका साथै देशमा कुनै भाग मिलाउने अथवा विखन्डन गर्नेसम्मको शर्तमा विश्वमा जनतमसंग्रह हुने गरेका छन् ।

अहिले नेपालभित्र विभिन्न कोणबाट जनमतसंग्रहको माग भइरहेको छ । यसको माग गर्नेमा सबैभन्दा चर्को आवाज राप्रपा नेता कमल थापाको छ ।

संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गरिसकेको र राजसंस्थासमेत उन्मूलन भइसकेकाले राप्रपाले भनेजस्तो जनमतसंग्रह गर्न वैधानिकतवरले सम्भव छैन ।

तर, संविधानले नै दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत् यी विषय उठान गर्न सकिने हुनाले राजनीतिकरुपमा राप्रपाले आवाज उठाउँदै आएको हो ।

जनमतसंग्रहको मागमा आमजनता भने झस्कने गर्छन् । किनकि, राप्रपाले जनमतसंग्रहका लागि राखेको शर्त २०६२/०६३ सालको जनआन्दोलनको ‘म्यान्डेट’ विपरीत छ ।

अर्कोतर्फ सीके राउतले विगतमा राखेको जनमतसंग्रहको शर्त देशको अखन्डतासँग जोडिएको थियो ।

२०६२/०६३ सालको आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि पटक–पटक यसको उपलब्धिका विषयमा जनमतसंग्रहको कुरा गर्न थालेका छन् । जुन शंकास्पद छ ।

विश्लेषक पुरुषोत्तम दाहाल कोइरालाले कुनै रणनीतिकरुपमा यो विषयको उठान नगरी अभिव्यक्ति स्वतन्त्रताको प्रयोगमात्र गरेको ठान्छन् ।

तर, नेपाली कांग्रेसको महामन्त्रीले नै विषय उठान गर्दा जनमानसमा शंका त उत्पन्न हुन्छ नै ।

यसकारण पार्टीभित्र बृहत् छलफल गरेरमात्र धारणा सार्वजनिक गर्नुपर्नेमा कांग्रेसभित्र त्यस्तो प्रचलन नै नरहेको दाहालको ठम्याइ छ ।

महासमिति बैठकअगाडि पनि कोइरालाले यो विषय उठान गरेका थिए । बाहिर यी विषय उठान गरेपनि पार्टीका आधिकारिक ‘फोरम’हरुमा भने उनी चुपचाप रहने गरेका छन् ।

महाधिवेशनकेन्द्रित राजनीतिका लागिमात्रै महामन्त्री कोइरालाले विषय उठान गरेको हो भने यसले उनको अपरिपक्वतामात्र प्रदर्शन गर्नेछ ।

उनले रणनीतिकरुपमा विषय उठान गरेको हो भने यसले देशमा अहिले प्राप्त उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...