तीन हजारको लोभले हत्या, यस्तो छ ‘अपराध’

news

बिराज रोस्यारा (इमेज)

कैलाली, चैत ८ । कैलालीको गोदावरी नगरपालिका–४, खैराना पुलनजिकै चैत २ गते मृत भेटिएका हर्कबहादुर भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई प्रकाउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले हत्यामा संलग्न भएको भन्दै कन्चनपुरको देखतभूली ढक्का शिविरका ‘धीरज’ भनिने पुन्टु भाट र कैलालीको गोदावरी नगरपालिका–६, लालपुरका गोविन्द आउजीलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

तीन हजारका लागि हत्या

बैतडीको दशरथचन्द नगरपालिका–२ का ४५ वर्षीय भण्डारीलाई उनीसित भएको तीन हजार रुपैयाँका लागि भाट र आउजी मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख आभूषण तिम्सिनाले बताए ।

मृतक भण्डारी कहिले–काहीँ ढक्का शिविरमा जाने गरेको र त्यहीँ भाटसित चिनजान भएको खुलेको प्रहरीले जनाएको छ ।

यसअघि पनि आपराधिक गतिविधिमा संलग्न भएर पटक–पटक कैद सजाय काटिसकेका भाट भण्डारीको गाउँलेसमेत रहेको खुलेको पनि प्रहरीले जनाएको छ ।

यस्तो छ घटना

यही चैत १ गते अत्तरियामा सँगै मादकपदार्थ सेवन गरी उनीहरुले भण्डारीलाई अटोमा चढाएका थिए ।

त्यसपछि गोदावरी–४ को जंगलछेउमा अटो रोक्न लगाए । अटोबाट ओरालेर भण्डारीलाई जंगलतिर लिएर गए । भण्डारीसित भएको रकम खोसे ।

त्यसक्रममा उनीहरुले भण्डारीलाई सामान्य कुटपिट गरी भागेका थिए । कुटाइ र रक्सीको नसामा भण्डारी त्यहीँ ढले । यो साँझको समय थियो ।

त्यही राति पुनः उनीहरु जंगलमा फर्किए । चिनिने डरले पुनः ढुंगा र लाठीले हानी भण्डारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार हत्यापछि उनीहरुले शव घिसारेर जंगलबाट केही वर शाखा सडकतिर ल्याएका थिए । हत्यालाई दुर्घटनाजस्तो देखाउन उनीहरुले यस्तो गरेको प्रहरीको भनाइ छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...