चेक बाउन्स ? उजुरी दिनोस् ! यस्तो छ सजायको व्यवस्था

news

दीपक श्रेष्ठ र योगेश लामा (इमेज)

काठमाडौं, चैत ८ । बैंक खातामा पैसा नै नभइ चेक लेखेर दिनु कानुनी अपराध हो ।

बैंकले खातामा पैसा नभएको चेक फिर्ता गर्ने गरेको छ । यसरी चेक फिर्ता हुनुलाई ‘चेक बाउन्स’ भनिन्छ ।

चेक बाउन्स मुद्दामा नियमनकारी निकायको फितलो अनुगमन भएको र कारबाही गर्न प्रहरीले उदासीनता देखाएको पीडितको गुनासो छ ।

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ मा आफ्नो बैंक खातामा पैसा नै नभएको अवस्थामा चेक लेखेर दिनुहुँदैन भन्ने उल्लेख छ ।

खातामा पर्याप्त पैसा नभएको जानीजानी चेक जारी गरेमा बैंकिङ कसुर मानी चेक काट्ने व्यक्तिलाई सजाय गर्ने व्यवस्था छ ।

त्यस्तो चेक जारी गर्नेलाई बिगो भराइ बिगोबमोजिम जरिवाना र ३ महिनासम्म कैद सजाय हुन सक्छ ।

तर, कानुनमा भएको व्यवस्था कार्यान्वयनमा सम्बन्धित निकायले उदासीनता देखाउने गरेको पीडितको गुनासो छ । प्रहरीले चेक बाउन्सको मुद्दालाई प्राथमिकता नदिने गरेको उनीहरु बताउँछन् ।

कतिपय पीडितले त प्रहरीले नै चेक बाउन्सका अपराधीलाई भगाउने गरेको आरोप पनि लगाएका छन् ।

पछिल्ला दिनमा विभिन्न संस्था र नागरिकले खातामा रकम नै नभइ चेक लेखिदिने गरेको घटना बढ्दै गएका छन् ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा महानगरीय परिसरमामात्र चेक बाउन्ससम्बन्धी एक हजार ५० ओटा उजुरी परेको छ ।

यीमध्ये काठमाडौंमा एक हजार २००, ललितपुरमा एक हजार १११ र भक्तपुरमा ३९ ओटा उजुरी परेका हुन् ।

यी सबै उजुरीउपर कारबाही अघि बढाइएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बताउँछन् ।

उजुरी लिन प्रहरी सक्रिय भएपनि कारबाही प्रक्रियामा भने उदासीन हुने गरेको पीडितको गुनासो छ ।

कानुनबमोजिम चेक बाउन्स भएको मितिले ६ महिनाभित्र उजुरी गरिसक्नुपर्छ । केही पीडितहरुमा भने उजुरी दिन तीनपटक चेक बाउन्स भएको हुनुपर्छ भन्ने भ्रम रहेको छ ।

प्रवक्ता ज्ञवालीकाअनुसार पहिलोपटक चेक बाउन्स हुनेबित्तिकै उजुरी गर्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...