अस्पताल र मृतकका परिवारबीच पाँचबुँदे सहमति (अपडेट)

news

बिराज रोस्यारा (इमेज)

कैलाली, चैत ८ । कैलालीमा सुत्केरी महिलाको मृत्युपछि आन्दोलनरत् आफन्त र अस्पताल प्रशासनबीच शुक्रबार पाँचबुँदे सहमति भएको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, उपमेयर सुशीला मिश्र भट्ट, स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि डा. चेतराज जोशी, दयाकृष्ण पन्त, अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. हेमराज पाण्डेय र मृतक महिलाका पति जयबहादुर थापाबीच सेती अञ्चल अस्पतालमा भएको छलफलपछि सहमति जुटेको हो ।

सहमतिअनुसार घटनाका सम्बन्धमा छानबिन समिति गठन गरिनेछ । समितिले निकालेको निष्कर्षअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सबै पक्ष सहमत भएका छन् ।

छानबिन समिति गठनका लागि वरिष्ठ स्त्रीरोग विशेषज्ञ पठाइदिन सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यस्तै, नवजात शिशुको उपचार आवश्यकतानुसार सेती अञ्चल अस्पताल र सामाजिक विकास मन्त्रालयले गर्नेछ ।

मृतकका नवजात शिशुको २४ वर्षसम्म सेती अञ्चल अस्पतालले निःशुल्क उपचार गर्ने सहमति भएको छ ।

यसैगरी, उक्त शिशुको उपचार ‘फास्टट्रयाक’बाट गरिने भएको छ । शिशुको उपचार झन्झटिलो नहोस् भनेर परिचयपत्रको व्यवस्था गरिनेछ ।

साथै, मृतकका सन्तानको भरणपोषणका लागि राहत प्रदान गर्न सामाजिक विकास मन्त्रालयमार्फत् प्रदेश मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने सहमति भएको छ ।

शुक्रबार दिउँसो भएको सहमतिसँगै मृतक महिलाका आफन्तजनले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शव उठाउने प्रक्रिया सुरु भएको छ ।

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले शुक्रबार सेती अञ्चल अस्पतालमा प्रदर्शन गरेका थिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको उपचारकाक्रममा बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

अपडेटअघिको समाचार तल पढ्नोस्

कैलाली, चैत ८ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले शुक्रबार सेती अञ्चल अस्पतालमा प्रदर्शन गरेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको उपचारकाक्रममा बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

सुत्केरी व्यथा लागेपछि चैत ४ गते सेती अञ्चल अस्पताल धनगढीमा भर्ना भएकी रेखाको शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत् उनले स्वस्थ शिशु जन्माइन् । शिशुको अवस्था सामान्य छ ।

तर, शल्यक्रियापछि रेखाको भने पेट सुन्निएको मृतकका श्रीमान् जय थापाको भनाइ छ ।

उपचारमा संलग्न चिकित्सकले ‘ग्यास्ट्रिक’को कारण देखाउँदै दुई दिनसम्म रेखाको उपचार गरिरहे पनि थप उपचारका लागि केही नभनेको उनको आरोप छ ।

तर, पेट सुन्निने समस्या कम नभएपछि रेखालाई थप उपचारका लागि ७ गते बिहान बाँकेको कोहलपुर ‘रेफर’ गरिएकोमा बाटोमा नै बिरामीको मृत्यु भएको उनका श्रीमान् जयले जानकारी दिए ।

मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव नबुझेका हुन् ।

सेती अञ्चल अस्पतालका डा. खगेन्द्रप्रसाद भट्टले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्ने आरोपको खन्डन गरे ।

उनले जनशक्ति अभावका कारण बिरामीलाई उचित ध्यान दिन नसकेको स्वीकार गरे । तर, लापरबाहीले नै मृत्यु नभएको बताए ।

मृतकका आफन्तले ‘लापरबाही’ गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने माग राख्दै शुक्रबार बिहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

उनीहरुले घटनाको छानबिन हुनुपर्ने, बच्चाको स्याहार–सुहारको व्यवस्था हुनुपर्नेलगायतका माग गरेका छन् ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

मृतकका आफन्त र अस्पताल प्रशासनबीच अहिले वार्ता भइरहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...