नेपालको आधा जनसंख्या सुरक्षित पिउने पानीबाट बञ्चित

news

काठमाडौं, चैत ८ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटाले पानी बिनाको जीवन असम्भव भएकाले सुरक्षित पिउने पानी आवश्यक रहेकोमा जोड दिएका छन् ।

विश्व पानी दिवसका अवसरमा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उनले विश्वमा अहिले पनि २ अर्बभन्दा बढी जनसंख्या सुरक्षित पिउने पानीबाट बञ्चित रहेको बताए ।

द स्मल अर्थ नेपालका कार्यकारी निर्देशक महेन्द्रबहादुर गुरुङले नेपालबाट बार्षिक २ सय २५ अर्ब घनमिटर पानी बग्ने गरेको भए पनि नेपालको आधा जनसंख्या सुरक्षित पिउने पानीबाट बञ्चित रहेको बताए ।

विज्ञहरुले पानीसँग हरेक प्राणीको जीवन जोडिएकाले यसको उपलब्धता र स्रोत संरक्षणमा जोड दिएका छन् । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे जनचेतना जगाउन यो दिवस मनाउने गरिन्छ । 

यसबाट हैजा, झाडापखाला, पोलियोसहितका रोगको जोखिम बढेको राष्ट्रसंघले जनाएको छ । असुरक्षित पानी र कमजोर सरसफाइका कारण विश्वमा हरेक वर्ष ८ लाख ४२ हजार मानिसको ज्यान जाने गरेको तथ्यांक छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी स्वास्थ्यसम्बन्धी हकको सुनिश्चित गरे पनि अहिलेसम्म खानेपानीमा ८७ प्रतिशत र सरसफाइमा ९५ प्रतिशत सफलता प्राप्त भएको सरकारी तथ्यांक छ ।

राष्ट्रसंघको आह्वानमा सन् १९९२ देखि बर्सेनि मार्च २२ का दिन पानी दिवस मनाउने गरिएको हो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...