खुसी हुने प्रयास गरौं !

news
फाइल तस्वीर ।

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, चैत ६ । आज अन्तर्राष्ट्रिय खुसी दिवस । ‘खुसी हौं एकसाथ’ भन्ने नारासहित विविध कार्यक्रम गरी विश्वभर मनाइएको छ ।

खुसी आफैंमा सरल तर गहन अर्थ बोकेको शब्द हो । सामान्यरुपमा हेर्दा सजिलो लाग्ने तर व्याख्या गर्न भने सरल शब्द होइन खुसी ।

खुसी शब्दको व्याख्या र अर्थ मानिसपिच्छे र भोगाइका विविध आयाम, मनोभावअनुसार फरक–फरक हुन सक्छन् ।

कसैलाई केही कुराले खुसी बनाइरहँदा अरुलाई भने अर्कै कुराले खुसी दिन सक्छ ।

यस्तै, कसैलाई सानो कुराले नै खुसी दिँदा कसैलाई भने ठूलै कुराले पनि खुसी नदिन सक्छ ।

समाजमा भौतिक सुख–सुविधालाई खुसीको आधार मान्ने पनि हुन्छन् भने आध्यात्मिक चिन्तनको मान्यमबाट आत्मबोधमा रमाउनेहरुलाई खुसीको बेग्लै परिभाषा हुन सक्छ ।

तर, परिभाषा र आधार जेजस्ता भएपनि खुसी आफैंमा आनन्द लाग्ने शब्द हो र यसको खोजी आफैंमा अद्भूत छ ।

मानिस जति धेरै खुसी र सन्तुष्ट हुन्छ, त्यति नै स्वस्थ र निरोगी हुने चिकित्सकहरु बताउँछन् ।

व्यस्त जीवनशैली, प्रतिस्पर्धात्मक वातावारणलगायतका कारणले मानिस खुसी हुनुभन्दा आफूलाई अब्बल सावित गर्ने परिस्थितिमा दौडिरहेका हुन्छन् ।

आफ्नो क्षमता चिन्न नसक्ने र आफूलाई कमजोर ठान्ने बानीका कारण पनि खुसी हुन नसक्ने अवस्था बनिरहेको हुन्छ । जसका कारण एक्लै बस्न रुचाउने, अरुसँग धेरै खुल्न नसक्ने समस्या बढ्दै जाँदा मानसिक समस्यालेसमेत मानिस घेरिन पुग्छ ।

संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्क (एसडीएसएन)ले जारी गरेको विश्व खुसी रिपोर्ट २०१८ काअनुसार नेपाल विश्वको खुसी मुलुकको सूचीमा १५६ देशमध्ये १०१औं स्थानमा रहेको छ । दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा रहेको छ ।

परिवारको साथ समय बिताउने, आफूसँग रमाउन जान्ने, सामाजिक सन्जालको कम प्रयोग गर्ने, शारीरिक व्यायाम गर्ने र सानो–सानो कुरामा पनि रमाउन सक्यो भने खुसी हुन सकिन्छ ।

मनपर्ने मानिसहरूसँग हुने स्वस्थ संवाद र सामाजिक सम्बन्धहरूले पनि जीवन स्वस्थ बनाउन सघाउँछ ।

यस्तै, आफू कसरी खुसी हुन सक्छु र कुन कुराले सन्तुष्टि दिन सक्छ भन्ने कारणहरु खोजी गर्ने, शरीरलाई आराम दिने, निद्रा राम्रो पुर्‍याउने, आफ्नो समीक्षा आफैं गर्ने बानी बसाल्ने प्रयन्तले पनि खुसी हुन सकिन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...