नक्कली सुन देखाइ ठगी गर्ने ६ व्यक्ति पक्राउ

news

काठमाडौं, चैत ६ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले नक्कली सुनलाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नुवाकोटका ३८ वर्षीय मसा तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय राउसिंह तामाङ, २८ वर्षीय मंगले तामाङ, गोरखाका ३९ वर्षीय कुशल अधिकारी र ३२ वर्षीय गोविन्द पोखरेललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुदीप गिरीले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिलाइदिने भनी ठगी गर्नेलाई दुईथान नक्कली सुन र एक हजारका दरले पाँचथान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुले संगठित गिरोह खडा गरी ठगी गर्ने र एउटा समूहलाई ठगी गरेपछि प्रयोग भएको सिमकार्ड र मोबाइल बन्द गर्ने गरेको तथा ठगी गरेको रकम भूमिकाका आधारमा भागबन्डा गरी लिने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता गिरीले बताए ।

पक्राउ परेकालाई ठगी एवं खोटाचलन कसूरमा काठमाडौं जिल्ला अदालतमा म्याद थप लिइ अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...