नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलंका ४–० ले पराजित

news

विराटनगर, चैत ६ । नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार विराटनगरको सहिद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो ।

नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक/एक गोल गरे । पुनमले खेलको ४२औं, अनिताले ७३औं, सावित्राले ८२औं र रेखाले ८५औं मिनेटमा गोल गरेका हुन् ।

अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाल योपटक घरेलु मैदान र समर्थकको साथमा पहिलोपटक च्याम्पियन बन्ने अभियानमा रहेको छ ।

नेपालले समूह चरणका खेलमा भुटान र बंगलादेशलाई पराजित गरेको थियो । श्रीलंकाले भने समूहका खेलमा माल्दिभ्सलाई पराजित गर्दा भारतसँग हारेको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बुधबारै भारत र बंगलादेश भिड्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...