महाभारतकी कुन्ती-३१

news

-हरिविनोद अधिकारी

शतशृङ्ग हिमाली पर्वतमालाबाट जब म पाँचओटा छोराहरु लिएर हस्तिनापुर जाँदै थिएँ, कुनै नदेखेको जङ्गलको बाटोमा हुस्सू लागेझैँ भएको थियो , म कता र किन जाँदैछु ? तर लाग्थ्यो, यिनै पाँच राजकुमारको जीवनलाई उकेरा  दिन र तिनै राजकुमारहरुको भविष्यलाई सुनिश्चित गराउन जाँदैछु । तर पनि मलाई मेरो अनिश्चित भविष्यप्रति कुनै गुनासो पनि थिएन र जता जता नियतिले लैजाने छ, म आफैँ उतै  जाँदैछु भन्ने चाहिँ लागेको थियो । सुनेकी थिएँ कि दिदी गान्धारीका पनि सयभाइ छोरा जन्मेका छन् । तिनको एकै पटक जन्म भए पनि  शारीरिक विकास कसैको चाँडै त कसैको ढिलो भएको छ रे भन्ने ऋषिहरुबाटै सुनेकी हुँ । दिदीको गर्भ मेरो भन्दा पहिले नै बसेको थियो । तर दुई तीन वर्षसम्म पनि गर्भबाट सन्तान नजन्मिएको रे भनेर पछिमात्र मैले सुनेकी हुँ दिदीबाटै । हस्तिनापुरसँग हाम्रो सम्वाद खोइ किन हो टुटेको थियो तर लाग्थ्यो हस्तिनापुर चाहिँ हाम्रो वास्ता गरिरहेको थियो । अनि पहिले युधिष्ठिर र भीमको जन्म भइसकेपछि पनि गर्भबाट केही  नजन्मिएपछि दिदीले बलपूर्वक गर्भलाई बाहिर आउन बल नै प्रयोग गर्नु भएछ र एउटा रगतको सुम्लो बैडिएछ पेटबाट । भित्र कतै दिदीलाई लागेको थियो होला, कुरुवंशको पहिलो  सन्तान मेरै जन्मियोस् । तर कुरुवंशको प्रचलनअनुसार  नियोगबाट जन्मेको सन्तान पनि क्षेत्रजले स्वीकार गरेमा सम्बन्धित बाबुकै सन्तानको रुपमा स्वीकृत हुन्थ्यो र त महाराज पाण्डुले नियोगका लागि मलाई दबाब दिनु भएको रहेछ । अनि मैले पनि मेरा तीनओटा सन्तान जन्माएँ अनि माद्रीबाट जुम्ल्याहा नकुल र सहदेव जन्माइए ।

यसरी कुरुवंशका पहिलो हकदारको रुपमा युधिष्ठिर जन्मिएको थियो र त्यसपछि भीम जन्मिएको थियो । सायद महाराज धृतराष्ट्र भनौँ या शकुनि दाइसहितको राजसभाका धेरै सदस्यहरुले या हस्तिनापुरले के सम्झिएको थियो होला भने अब पाण्डु महाराजको पदवीका लागि फर्केर आउने छैनन्, धृतराष्ट्रले नै बाँकी अवधि राज्य गर्नेछन् । अनि त्यसपछि त महाराजको जेठो छोरो सुयोधनले(दुर्योधन) नै राज्य गर्नेछन् । यसवारेमा पितामहको धारणा के थियो होला भन्ने कुरा कसैले सोचेको पनि थिएन किनभने पितामह बडो उल्झन र दोधारमा बाँचिरहनु भएको बुझिन्छ किनभने उहाँ त्रिकालदर्शी हुनुभएकाले भावी समयको स्पष्ट नक्शा उहाँको मानसपटलमा कोरिएको भान हुन्छ ।

एउटा कुरामा म पनि ढुक्क थिएँ कि विचित्रवीर्य महाराजको प्रतिनिधिका रुपमा धृतराष्ट्र महाराज र पाण्डु महाराजको जन्म धेरै पछि भएको थियो र उहाँहरु पनि  वेदव्यास कृष्णबाट जन्मनु भएको थियो । अनि....दुई राजकुमारसँगै महाराज विचित्रवीर्यकी दासी वनिताबाट विदुरको पनि जन्म भएको थियो शूद्रापुत्रको रुपमा ।

मलाई ती शूद्राका वारेमा खासै कसैले पनि केही बताएका थिएनन् तर एकदिन राजमाता सत्यवतीले भन्नु भएको थियो-विदुर साह्रै ज्ञानी छ तर उसलाई विचित्रवीर्यकै छोरो माने पनि उसकी आमाका वारेमा वनिता नै हो भनेर कतै कुनै चर्चा नगर्नू तिमीले किनभने तिम्री सासुहरुको हेरचाह गर्नका लागि हजारौं अरु दासीसरह उसलाई पनि यो दरबारमा प्रवेश गराइएको थियो । खासगरी अम्बिकाले महाराजको सेवा गर्न नहुँदा वा गर्न नसक्दा वनिताले सट्टामा दासीको रुपमा सबै खालको सेवा पुर्‍याउने गरेकाले उसको पहिचान दासीको रुपमा भए पनि अरुसँग विवाह पनि गरेकी थिइन र सायद उसले अम्बिको छायाको रुपमा आफूलाई सम्झेकी थिइन् । हामीलाई के पनि थाहा छैन भने ऊ कसकी छोरी हो, हामीले यतिमात्र जाने हुन्छ, धृतराष्ट्र र पाण्डुसँगै विदुर पनि हुर्केको छ यो दरबारमा, महाराज विचित्रवीर्यको प्रतिनिधिको रुपमा किनभने हाम्रा दुवै राजकुमारहरु शारीरिकरुपमा सक्षम छैनन् राजा हुनका लागि । विचित्रवीर्यको दरबारमा दासीको रुपमा रहेकीले उसबाट जन्मेका सन्तान पनि विचित्रवीर्यकै मानिएको हो । यसमा अम्बिकाको कारणबाट विदुर जन्मेको हो । त्यसमा उसको केही पनि न त दोष छ, न त कुनै खोट छ ।

राजमाताले भनेको कुरा अहिले पनि मेरो कानमा गुन्जिरहेको छ-एउटा जन्मान्ध छ  र अर्को पाण्डुरोग लिएर जन्मेको छ । धृतराष्ट्र बच्चा जन्माउन सक्षम हुनेछ तर पाण्डुको वारेमा अझै स्पष्ट छैन, उसमा  कति पुँस्त्व छ ,विदुर सखल्ल छ तर व्यास उसलाई राजा बनाउन चाहँदैन । वरु महामन्त्री बनाउन मान्दछ । होेला केही कारण , किनभने व्यास चिरञ्जीवी छ, त्रिकालदर्शी छ र विदुरको क्षमताप्रति उसलाई गर्व पनि छ । सबै भाइमा ठूलो मेलमिलाप पनि छ । जेठोमा कुण्ठा छ र पनि ऊ भित्रभित्रै त्यसलाई दबाएर बस्छ किनभने उसको सट्टामा मैले पाण्डुलाई राजा बनाएको उसलाई फिटिक्कै मन परेको छैन । त्यसैले कहिल्यै राजा नहुने भएकाले धृतराष्ट्र पनि विदुरलाई मन पराउँछ, पाण्डु त जहिले पनि विदुर नभई केही पनि काम नै गर्दैन । पाण्डु उदार छ र हस्तिनापुरको विस्तारमा उग्रताका साथ लाग्ने मौका खोज्दैछ । तिमीले पनि पाण्डुलाई धेरै करकर नगर्नू किनभने सायद तिमी नै उसकी भाग्य विधाताको रुपमा यस दरबारमा आएकी छ्यौ ।

राजमाताले भन्दै जानुभयो मलाइ— वेदव्यासले एकदिन भन्यो,राजमाता, मेरी प्यारी माता, यो विदुर स्वयं धर्मराज भनौँ कि यमराज भनौँ , कालको प्रतिनिधि हो यो पृथ्वीमा । अणि माण्डव्य ऋषिको श्रापका कारणले पृथ्वीमा आउनु जरुरी थियो एकसय वर्षका लागि । माण्डव्य ऋषिको श्राप पनि कडा थियो । धर्मराजले समेत नबुझी दिएको दण्डरुपी शूलीमा चढेको भए पनि कुनै हानि नभए पनि अणि अलिकति बाँकी रहेकोले श्राप दिन उद्यत हुनुभएको माण्डव्य ऋषि । अनि यो परिवारलाई समन्वय गर्नका लागि यसको आवश्यकता छ । जो राजा भए पनि सल्लाहकारको रुपमा, महामन्त्रीको रुपमा, सत्यवचनद्वारा राज्यलाई सञ्चालन गर्नका लागि यही व्यक्ति काम लाग्नेछ । यसलाई राज्य विस्तारका लागि हतियार बोक्ने काम नलगाउनका लागि पनि यसलाई धनुर्वेद पढ्ने अनुमति नदिइएको हो । उसले सम्पूर्ण ज्ञानको मन्थन गरेर सबैलाई सेवा गर्नेछ तर हतियार बोक्ने छैन , त्यसैले शूद्रापुत्र शूद्र व्यक्तिकै रुपमा उसको उपस्थिति रहिरहने छ यो दरबारमा । तर उसले स्थापित गर्ने नैतिक सिद्धान्त भने युगौँयुगसम्म सबैले नैतिकताका लागि सम्झिरहने छन् ।

गान्धारी दिदीले भन्नुभएको थियो-युद्ध अपरिहार्य हुन लाग्यो परिवारमा तर युद्धलाई कसरी हुन्छ हुन नदिने काम गर्नु पर्छ । त्यसैले दाजु शकुनि, छोरो दुर्योधन, महारथी कर्ण, छोरो दुःशासन र महाऋषि कणिकसमेतको सल्लाहले सञ्जयलाई युधिष्ठिरको शिविरमा पठाएर फकाउने अनि थर्काउने अनि गलाएर राज्यमा कुनै दाबी नगर्ने बनाउने नीति तयार भएछ । अनि सञ्जयले गएर द्रुपद महाराजसमेत अरु पनि वीर महापुरुषहरु सबै बसेको ठाउँमा भनेछन् , हे युधिष्ठिर, तपाईँले मात्र यो परिवारको युद्धलाई रोक्न सक्नुहुन्छ । कसरी भने तपाईँले मात्र युद्ध नगरे पनि यो रोकिन्छ । दुर्योधन मान्दैनन्, दुर्योधन जसरी पनि राज्य छोड्नेवाला छैनन् , तपाईँ धर्मराजको अंश भएकाले तपाईँले कहिल्यै पनि विवाद र रक्तरञ्जित परिवारको कल्पना गर्नुहुन्न, युद्ध गर्नु हुन्न, त्यसैले तपाईँहरु जस्तो सौर्यवान वीर पुरुषहरुले अर्काको राज्यमा किन लोभ गर्नुहुन्छ ? तपाईँहरुले महाराज धृतराष्ट्रलाई हिजोका दिनमा परेको अन्यायलाई सम्झेर युद्ध नगर्नुस् , परिवारको खुसीका लागि पनि युद्धको धारणासमेत सपनामा पनि नलिनुस् र राज्यको यो लोभ पनि छोड्नुस् । त्यसोहुँदा तपाईँहरुको नाम र वीरताको संसारभरि कदर हुन्छ । अनि सञ्जयलाई युधिष्ठिर लगायतले भनेछन् -हामीले बाह्र वर्ष बनबास, एकवर्ष गुप्तबासको पनि शर्तअनुसार कहर काट्यौँ । सकेसम्म भारतवर्षमा नै हाम्रो दाबी छ, नभए पनि इन्द्रप्रस्थ त हाम्रो फिर्ता चाहिन्छ , नभए पनि पाँच गाउँ त हामीलाई चाहिन्छ नै ।अब पाँच गाउँ भने लिएर हामी चित्त बुझाउँछौँ । तर सञ्जयले मात्र के भनेछन् महाराजलाई भने उनीहरु युद्ध गर्न तयार छन् , अरु कुरा सभामा नै भन्नुभनेर भनेका छन्, म थाकेको छु, त्यही बेलामा भनौँलला ।

दिदीले भन्दै गर्नुभयो-अनि महाराजलाई निद्रा परेन , त्यो त मैले पनि अनुभव गरेँ तर केही बोल्ने धृष्टता गरिन । तुरुन्त नै उहाँले कुरुदेश भारतवर्षका महामन्त्री  देवर विदुरलाई बोलाउन गुप्तचरलाई पठाएको त मैले थाहा पाएँ तर आउन केही ढिला हुन गएको अनुभव भयो । उहाँ एकदम आत्तिनु भएको थियो र विदुरबाट केही जानकारी लिने कोसिसमा हुुनुहुन्थ्यो । महाराजलाई के कुरामा विश्वास थियो भने विदुरलाई पाण्डवहरुका वारेमा सबै थाहा छ र विदुरले फकायो भने युधिष्ठिरले मान्नेछ । महाराजको मनले भनेका कुराहरु सुन्नुहुन्थ्यो, मनन गर्नुहुन्थ्यो तर मुखले त्यही कुराको खण्डन गरेर आदेश दिनुहुन्थ्यो, अनि आदेशको परिणाम सम्झेर धुरुधुरु रुनुहुन्थ्यो । कस्तो विडम्बना हुन्थ्यो  कुन्ती त्यो क्षण ।

अनि विदुर आएछन् र मध्यरातमा महाराजले बोलाएकोमा चकित पर्दै सोधेछन्म-लाई किन बोलाएको यो मध्यरातमा । भोलि त राजसभा छँदै थियो, म आएकै हुन्थेँ । यो मध्यरातमा , महाराज नसुती नसुती किन यस्तो बोलावट भएको हो ? महाराज, रातमा त तीमात्र सुत्दैनन् जसलाई आफूभन्दा बलियासँग शत्रुता रहेको छ, जो चोर हो, जसको धन चोरी भएको छ,जो निर्धन छ, साधनहीन छ जसलाई कामवासनाले जागृत पारेको छ , तिनलाईमात्र रातमा निद्रा लाग्दैन । हजुरलाई किन निद्रा लागेन ।

अनि महाराजले विदुरलाई भन्नुभएछ-सञ्जय आए, गए । बाँकी कुरा भोलि राजसभामा भन्ने भएका छन् । त्यसैले मलाई भोलिको राजसभाको त्यो स्वरुप जहाँ सञ्जयले सबै कुरा खोल्नेछन् , त्यसैले जिज्ञासा र भयले तिमीलाई बोलाएको हुँ,मलाई निद्रा लाग्दै लागेन । भाइ विदुर , चिन्तै चिन्ताले गर्दा मलाई निद्रा नलागेकै हो । मेरालागि जे गर्दा कल्याण हुन्छ , त्यही कुराले मेरो मन बहलाउन तिमीले मात्र सक्छौ भनेर यो मध्यरातमा बोलाएको हुँ ।

अनि त्रिकालदर्शी विदुरले भनेछन्नि-द्रा नलाग्ने कारण र चिन्तै चिन्ताले सताउने कारण कहीँ तपाईँलाई अर्काको सम्पत्ति हरण गर्ने लालसाले त पिरोलेन सित्तैमा ? सायद युधिष्ठिरको भाग सम्पत्ति हत्याउने कुराले हुनसक्छ भनेर अप्रत्यक्षरुपमा विदुरले अर्काको सम्पत्ति हत्याउने लालसा भनेपछि महाराजको मुख रातो रातो भयो तर बाहिर त्यो देखाउन चाहनु भएनछ । त्यो रात विदुरले महाराजलाई धर्म ,अर्थ, अलोभ, कर्म, मोक्ष, राजधर्म र न्यायका वारेमा धेरैबेर सम्झाएका थिए रे । तर महाराजमा छोराको निष्कण्टक राज्यको तृष्णाले कहिल्यै छोडेन ।

विदुरले त हामीलाई बिचैमा छोडेर धर्मराजको शरणमा गए । युधिष्ठिर हाम्रो सन्चो बिसन्चो बुझ्न आइरहन्थ्यो, त्यही मौका पारेर युधिष्ठिरको काखमा नै विदुरको इहलीला समाप्त भयो । धर्मराजका ती अंशहरुमा जहिले पनि तादात्म्यता देखिन्थ्यो । विदुरले कहिले पनि महामन्त्रीको पद जान्छ कि भनेर सत्य बोल्न डराएनन् र धृतराष्ट्र महाराजलाई बेला मौकामा दिने सल्लाहलाई सबैले विदुर नीति भन्ने गरेका छन् । व्यासले जहिले पनि भन्नुहुन्थ्यो-विदुरको विचारले मात्र यो भारतवर्ष सखल्ल रहेको छ, भोलि पनि रहनेछ । मैले वेदवाहेकका जति पनि श्रुतिस्मृति अमृतवाणीहरु तयार गरेँ, अरु जति तयार गर्दैछु, ती सबैको ज्ञान विदुरलाई गराएको छु । विदुरमा कुनै लोभ पनि छैन, वासना पनि छैन, अधर्मको कुनै बाछिटाले छोएको पनि छैन , त्यसैले त्यागको प्रतिमूर्ति हो । हुनुपथ्र्यो धृतराष्ट्रमा यी गुणहरु, तर विदुरमा भएकाले पनि भारतवर्षलाई कसैले केही बिगार्न पनि नसकेका हुन् ।

विदुर गएपछि भने जेठाजुमा चिन्ताले धेरै नै गाँजेको पाएँ । दिदीको सेवा मैले गर्ने, अनि विदुर नभएपछि सेवाको हकदार स्वतः सञ्जय भएका थिए । विदुरको जस्तो भावना भए पनि सञ्जयमा स्पष्ट बोल्ने क्षमता थिएन जस्तो लाग्यो किनभने दुर्योधनको मुख्य सल्लाहकारमध्ये सञ्जय पनि थिए, महाराजका लागि सन्देश र महाराजको सन्देशलाई उनैले आदान प्रदान गर्थे । वास्तवमा हाम्रा वारेमा , पाण्डुको वनवासका बेलामा पनि टोहो लिने काम सञ्जयले नै गर्थे भन्ने कुरा पछिमात्र थाहा भयो । हुन त उनलाईँ थाहा थियो, भोलिका चक्रवर्ती महाराज युधिष्ठिर नै हुन्, तर पनि महाराज धृतराष्ट्र र युवराज दुर्योधनका तर्फबाट महामन्त्रीको सट्टा कूटनीतिक सम्वादमा सञ्जय नै जान्थे कृष्णसँग बहस गर्न पनि । द्रुपद महाराजसँग छलफल गर्न पनि , धौम्य ऋषिसँग बहस गर्न पनि । सायद त्यसैले होला, युद्धको समयमा युद्धको सम्पूर्ण जानकारी सदृश्य हेर्न पाउने र जानकारी दिनसक्ने क्षमता कृष्ण र व्यासले सञ्जयलाई नै दिएका थिए ।

युद्धको सुरुवातमा नै जब अर्जुन युद्ध नगर्ने भनेर रुँदै विलाप गर्न थालेको थियो, त्यही बेलामा अर्जुनलाई दिएको उपदेश भनौँ वा कर्मशील हुनको लागि दिएको तर्क जसलाई कृष्णको विश्वरुप गीताको रुपमा पछि मानियो, कृष्णले सबै म आफैँ हुँ भनेर विश्वरुप देखायो, त्यो देख्ने हेर्ने अर्जुन र सञ्जय मात्रै थिए र सुन्नेमा धृतराष्ट्र महाराज मात्रै हुनुहुन्थ्यो । सञ्जय सबै कुरा बुझ्थे तर बुझ पचाएर महाराजको मन पर्ने कुराहरुमात्र भनेर खुसी पार्थे । हुन त सञ्जयका गुणहरु पनि नभएका होइनन्, ती गुणहरुले गर्दा पनि महाराजलाई सधैँ द्विविधाजन्य बनाउँथे, दोधारमा पार्थे तर पनि महाराजको कुरालाई सबैमा सम्प्रेषण गर्ने काम पनि उनैले गर्थे । महाराज धृतराष्ट्रका उनी अत्यन्त विश्वासपात्र थिए । महाभारतको युद्धको बेलामा सबैको शिविरमा जाने अधिकार उनैलाई थियो । पाण्डवको शिविरमा उनी कूटनीतिक हैसियतले जान्थे धृतराष्ट्रको प्रतिनिधि भएर भने कौरबको पक्षमा त  उनी महाराजसँगका कडी नै भए । आदेश दिने, आदेश खारेज गर्ने , सेनापति तोक्ने र खर्चको व्यवस्था गर्ने सबै काम महाराजको तर्फबाट उनैले गर्थे भनेर पछि पनि आफैँले भन्नेगर्थे । युद्धभर १८ दिनका लागि दिएको विशेष क्षमता दुर्योधनको मृत्युपछि उनीमा बाँकी थिएन र सात्यकिले मार्न चाहेका  थिए तर कृष्णले मार्न दिएन छ । क्रमशः

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...