नेपालमा विमान दुर्घटनाः अधिकांश दुर्घटनाको कारण Cfit !

news

-राजन कुईंकेल

गत बुधवार १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भयो । नेपालको हवाई दुर्घटनाको इतिहासमा बहालवाला मन्त्री नै हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको यो सम्भवतः पहिलो घटना हो । यसअघि २०६३ साल असोज ७ गते ताप्लेजुङकै घुन्सामा श्री एयरलाईन्सको एम आई सेभेन्टीन हेलिकप्टर दुर्घटना हुँदा तात्कालीन वन राज्यमन्त्री गोपाल राई, वातावरण संरक्षण क्षेत्रका दिग्गज व्यक्तित्व डा.हर्क गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । 

बुधवार ताप्लेजुङको पाथिभराबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर पाथिभरा मन्दिरभन्दा डेढ किलोमिटर पर फुङलिङ नगरपालिका–१० काफ्लेपाटी भन्ने स्थानको डाँडोमा ठोक्किएर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकारीका साथै चालक प्रभाकर केसी, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, पर्यटन व्यवसायी एवं एयर डाइनेष्टिका संचालक आङछिरिङ शेर्पा, प्राधिकरणका ईञ्जिनियरिङ विभागका प्रमुख ध्रुव भोछिभोया र मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुनकुमार घिमिरेको निधन भएको हो ।

एकपछि अर्को हुँदै आएका यस्ता दुर्घटनाले नेपालको आन्तरिक हवाई उडान असुरक्षित रहेको सन्देश संसारभर फैलँदै गएकामा सबै नेपाली चिन्तित छन् । घरेलु हुन् वा अन्तर्राष्ट्रिय उडानका क्रममा रहेका विमान दुर्घटनामा प्रायःजसो सबै मानवीय गल्ती/त्रुटी अर्थात् (Human error) का कारण हुने गरेका प्रतिवेदनहरु आउने गरेका छन् । इञ्जीन वा अरु कारणले हुने गल्तीबाट भएका दुर्घटनाको प्रतिशत कम रहेको देखिन्छ । मानवीय दुर्घटना के कारणले हुन्छ ? यसमा दोष कस्को हो ? यसलाई न्यून गर्ने उपाय छैन भन्ने प्रश्न आममानिसमा उब्जने गरेको छ ।

नेपालमा असारदेखि असोज अर्थात् जुनदेखि अक्टोबरसम्म वर्षात्को समय हो । अहिलेसम्म आन्तरिक उडानका धेरै विमान यही समयमा दुर्घटना भएका छन् । दुर्घटनाको ९० प्रतिशतभन्दा बढी कारणमा मानवीय त्रुटी औल्याइएको छ ।

जबकी अन्तर्राष्ट्रिय उडानमा भने ५० देखि ५३ प्रतिशतसम्म दुर्घटनाको कारण मानवीय मूलतः पाइलटसँग सम्बन्धित रहेको अन्तर्राष्ट्रिय स्तरमा गरिएका अध्ययनहरुको निष्कर्ष छ । अरु कारणमा इक्युपमेन्ट वा मेकानिकल फेलियरलाई २०, मौसमलाई १०, आतंकवादी वा विभिन्न कारणले गरिने हाइज्याकबाट गराइने दुर्घटनालाई १० प्रतिशत मानेको छ । बाँकी अरु कारण पनि मानवीय रहेका छन् । जसमा पाइलटबाहेकको भूमिका रहने जनाइएको छ । तिनमा एअर ट्रफिक कन्ट्रोलरबाट हुने गल्ती, लोडर, डिस्पाचर, फ्युलर, मेन्टेनेन्स इञ्जिनियरको कमजोरीलाई औल्याइएको छ । त्यसो भए पाइलट अर्थात् चालकबाट हुने मूल गल्ती के हो त ? 

अध्ययन प्रतिवेदनहरु भन्छ, जहाज चाहे सानो होस् वा ठूलो त्यसको मूल निर्णयाधिकारी चालक/पाइलट नै हो । उसले सुरक्षा अर्थात् (safety and security) लाई मूलमन्त्र मान्नुपर्दछ । भलै उसले कमाण्ड गरेको विमानमा कुनैपनि देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, भीभीआईपी वा आफैलाई जागिर दिने कम्पनीका मालिक नै किन नहुन् । सुरक्षित छ/छैन भन्ने सबै सूचना संकलन गर्ने र उडानबारे निर्णय लिने एक मात्र पात्र भएकाले अरु कसैको निर्देशन, आदेश वा उक्साहटमा पर्नुहुन्न । त्यसैले त अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, आइकाओले संसारभरका सबैखाले विमान चालकले अपनाउनुपर्ने नियमहरु बनाइदिएको छ । जसको चालकले कुनै हालतमा पनि उल्लंघन गर्नै पाउँदैन । यो नियमलाई जोसुकैबाट जस्तो खाले दबाब आएपनि पाइलटले उल्लंघन गर्नै पाउँदैन । केहिगरी नियम नमाने परिणाम दुर्घटना र धनजनको क्षतिमा पुगेर मात्र टुंगिन्छ । आइकाओले विमान सुरक्षित उडानका लागि दुई माध्यम÷नियम बनाएको छ । जसलाई भिएफआर र आइएफआर (VFR / IFR)भनिन्छ ।

VFR – Visual Flight Rules that govern the procedures for conducting flight under visual conditions. अर्थात् भिएफआर भनेको आँखाले हेरेर/देखेर विमान चलाउने नियम हो । जसमा आइकाओले विमान उडानका लागि पालना गर्नैपर्ने नियम बनाइदिएको छ । यसमा आँखाले ठम्याएमा मात्र उडान भर्न पाइन्छ । उक्त नियमलाई प्रत्येक पाइलटले पालना गर्नै पर्दछ । अर्को छ, 

IFR Instrument Flight Rules, governing flight under instrument meteorological conditions. अर्थात् आइएफआर भनेको उपकरणलाई अनुसरण गरेर विमान उडाउने नियम । जसमा विमानमा राखिएका उपकरणले भनेअनुसार चालकले विमानलाई उडाउने गर्दछ । यसमा विमान चालक मूलतः उपकरणमै भरपर्ने गर्दछ । आइएफआर प्रविधिलाई अनुसरण गरेर ठूला ठूला जेट जहाजहरु एउटा भूगोलबाट अर्को भूगोलको कुनामा उडान भरिरहेका हुन्छन् ।

नेपाल जस्तो भूबनोट भएको मुलुकमा आन्तरिक उडान गर्नेहरुले भिएफआर नियममा विमानको उडान भर्दा सबै पाइलटले तोकिएको निर्देशन पालना गर्नैपर्ने व्यवस्था आइकाओले गरेको छ । जसमा विमानको सिटमा बसेको पाइलटले आफ्नो अगाडी सीधा पाँच किलोमिटर प्रष्ट देख्नु पर्दछ । दायाँबायाँ डेढ किलोमिटरको प्रष्ट भिजिविलिटी हुनुपर्दछ । यसैगरी बादल वा डाँडाको चुचुरोको सीधामाथि एक हजार फिटको ग्याप हुनुपर्दछ । यो नियम सबै विमान चालकले अनिवार्य रुपमा पालना गर्नुपर्दछ । यदि यस्तो अवस्था छैन भने उसले कुनै हालतमा उडान गर्नै मिल्दैन । यो नियमलाई हेलचेक्र्याई गर्दा वा उल्लंघन गर्दा परिस्थिति CFIT तर्फ मोडिन्छ । CFIT -Controlled flight into terrain अर्थात् चालकको नियन्त्रणमा रहेको विमानलाई डाँडा वा भित्तामा लगेर ठोक्काउनुलाई भनिन्छ । जुन नेपालमा भएका अधिकांश दुर्घटनाको कारण मानवीय देखिएको छ ।

के कारणले सिफिट जस्तो हुनै नहुने प्रवृत्ति दोहोरिरहेको छ भन्ने ? प्रश्नमा नेपाल वायु सेवा निगमका पूर्व महानिर्देशक एवं वरिष्ठ विमान चालक केबी लिम्बु आइकाओले बनाइदिएको अनिवार्य पालना गर्नुपर्ने नियम पालना नगर्ने प्रवृत्ति हावी हुँदा नेपालमा विमान दुर्घटनामा मानवीय कारण मूख्य देखिएको बताउनुहुन्छ । उहाँले उडान सुरक्षाको मूल दायित्व र जिम्मेवारी पाइलटको भएपनि उसले अनेक कोण र माध्यमबाट आउने दबाबलाई नकार्न नसक्दा यस्ता दुर्घटनाका जोखिम बढ्ने गरेको उल्लेख गर्नुभयो । नीति निर्माण र कार्यान्वयन तहमा रहेका राजनीतिक नेतृत्वले लिने निर्णय पनि अर्को कारक तत्व रहेको भन्दै लिम्बुले विमान सञ्चालन जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा अनुभव नै नभएका व्यक्तिलाई नेतृत्व गर्न पठाउने कार्य पनि दोषभागि भएको बताउनुभयो । उहाँले एअरलाइन्स बिजनेसमा आउनेहरुको ज्ञान, क्षमता र आचरण पनि यस्ता खाले दुर्घटनाका कारण बन्ने गरेको दृष्टान्त दिनुभयो । व्यक्तित्व प्रभाव, शक्तिको दुरुपयोग, स्थापित नियमको जानाजान उल्लंघन जस्ता कारणले ‘नेपाली आन्तरिक उडान असुरक्षित’ भन्नेहरुलाई मसला मिलिरहेको पनि उहाँले बताउनुभयो । 

आन्तरिक उडानमा आँखाको भरमा उड्ने चालकहरुले आइकाओले स्थापना गरेको माथि उल्लेखित नियम अक्षरशः पालना गरेमा यस्ता खाले दुर्घटनाबाट जोगिन सकिन्छ । अन्यथा, मूलतः मनसून, प्रि–मनसून र पोष्ट–मनसूनमा हुने यस्ता दुर्घटनालाई मानिसले त छाडौं स्वयं पशुपतिनाथले पनि टार्न सक्दैनन् । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...