७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


विराटनगर अस्पतालमा रोबोट, औषधि स्प्रेसँगै कोरोना संक्रमितलाई खाना पुर्‍याउने (भिडियो)


260
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, वैशाख ९ । भनिन्छ, ‘समस्या नै आविष्कारको जननी हो’ । समस्या परेपछि त्यसको समाधान खोज्नु मानिसको स्वभाव नै हो ।

यतिबेला विराटनगरको कोभिड–१९ अस्पतालमा रोबोटको सहायतमा कोरोना संक्रमितलाई खाना पुर्‍याउने र औषधि स्प्रे गर्नका लागि रोबोट तयार पारिएको छ ।

यसले स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगिन मद्दत पुग्ने देखिन्छ ।

विराटनगर महानगरपालिकाको परिसरमा आइतबार अपराह्न रोबोटको सहायतमा स्प्रे भइरहेको थियो ।

स्प्रे गर्नुअघि रोबोटले सबैलाई बाटो छोड्न आग्रह गरिरहेको थियो ।

लगत्तै रोबोटले परिसरमा स्प्रे गर्न सुरु गर्‍यो ।

यही रोबोटले प्रदेश सरकारले तयार पारेको कोभिड–१९ अस्पतालमा औषधि स्प्रेसँगै कोरोना संक्रमितलाई खाना पुर्‍याउने छ ।

अस्पतालमा अहिले उदयपुरका १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

विराटनगर महानगरपालिकाको संयोजनमा कारखाना नामक संस्थाले पाँच दिनमा रोबोट तयार पारेको हो ।

पाँचजनाको समूहले ५० हजार रुपैयाँको लागतमा रोबोट तयार पारेको हो ।

‘रिमोट कन्ट्रोल’मार्फत् चल्ने रोबोट स्थानीयस्तरमा उपलब्ध सामग्री प्रयोग गरी तयार पारिएको छ ।

यसमा बाइपर मोटरको प्रयोग गरिएको छ । त्यसैगरी, रोबोटलाई गुडाउन स्टेचरको पांग्रा प्रयोग गरिएको छ ।

रोबोट साढे ३ फिट अग्लो तथा ४० केजी तौलको रहेको छ ।

संक्रमितको रेखदेखमा रोबोट प्रयोग गर्दा यसले थप संक्रमण फैलन नदिने र स्वास्थ्यकर्मीलाई पनि सुरक्षित राख्न सहयोग पुग्ने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

महानगरले यसअघि पनि कारखाना नामक संस्थामा आबद्ध युवाले स्वाब संकलनका लागि निर्माण गरेको बुथ ३ र ४ नम्बर वडामा प्रयोगमा ल्याइसकेको छ । यसलाई अन्य वडामा विस्तार गरिने महानगरपालिकाले जनाएको छ ।

भिडियो हेर्नुहोस्